[1] रातभरि मैले मेरो ओछ्यानमा मेरा हृदयको प्रेमीलाई खोजेँ; मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाइनँ।
[2] अब म उठेर सहरतिर जानेछु, गल्ली र चोकहरूहुँदो; मेरा हृदयको प्रेमीलाई खोज्नेछु। मैले उहाँलाई खोजेँ, तर उहाँलाई भेट्टाइनँ।
[3] सहरमा घुम्दै गरेका पहरेदारहरूले मलाई भेट्टाए; मैले सोधेँ, “तपाईंहरूले मेरा हृदयको प्रेमीलाई देख्नुभयो?”
[4] म तिनीहरूबाट केही पर मात्र के गएको थिएँ; मैले मेरा हृदयको प्रेमीलाई फेला पारेँ। मैले उहाँलाई च्याप्पै समातेँ र कतै जान दिइनँ, मेरी आमाको घरमा, मलाई जन्माउने मेरी आमाको कोठामा नपुगुन्जेल सँगै लिएर आएँ।
[5] हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु: उचित समय नभएसम्म प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ।
[6] व्यापारीहरूका सबै मसलाहरूबाट बनिएका धूप र मूर्रको सुगन्धले धुवाँको मुस्लोजस्तै, उजाडस्थानबाट माथि आइरहेका को हुन्?
[7] हेर, सोलोमनको सवारी पालकी; इस्राएलका सुयोग्य, साठी जना योद्धाहरूको सुरक्षामा आइरहेका छन्।
[8] तिनीहरू सबैले तरवार भिरेका छन्, सबै जना युद्धकलामा पोख्त छन्; रातको हरेक खतरादेखि बचाउन, हरेकले आफ्ना कम्मरमा तरवार भिरेका छन्।
[9] सोलोमन राजाले आफ्नो निम्ति त्यो पालकी बनाएका हुन्; त्यो लेबनानको काठले बनिएको छ।
[10] त्यसका डण्डाहरू चाँदीले, र आधार सुनले बनिएका छन्। त्यसको आसन बैजनी लुगाले सजाइएको छ। अनि भित्री भागमा चाहिँ प्रेमसाथ यरूशलेमका छोरीहरूले बुट्टा भरेका छन्।
[11] हे सियोनका छोरीहरू हो, बाहिर आओ, सोलोमन राजाले मुकुट पहिरेका हेर; त्यो त्यही मुकुट हो, जुन तिनकी आमाले तिनको विवाहको दिनमा, तिनको हृदय आनन्दले पूर्ण भएको दिनमा, तिनको शिरमा लगाइदिएकी थिइन्।