[1] हे मेरी प्रिय, मेरी दुलही, म मेरो बगैँचामा आएको छु; मैले आफ्नो मूर्र मसलाहरूसहित बटुलेको छु। मैले मेरो महको चाका र मेरो मह खाएको छु, मैले मेरो दाखमद्य र मेरो दूध पिएको छु। हे मित्रहरू हो, खाओ र पिओ; प्रेमीहरू हो, अघाउन्जेल पिओ।
[2] म त सुतेँ, तर मेरो हृदय जागै रह्यो; सुन! मेरा प्रियले ढोका ढकढकाउँदै हुनुहुन्छः “मेरी प्रेमी, मेरी प्रिय, मेरो निम्ति ढोका खोलिदेऊ; मेरी ढुकुर, मेरी निष्खोट सुन्दरी, मेरो शिर शीतले भिजेको छ; रातको शितले मेरो कपाल भिजेको छ।”
[3] मैले मेरो वस्त्र फुकालीसकेकी छु— के मैले त्यो फेरि लगाउनू? मैले मेरा खुट्टा धोएकी छु— के मैले ती फेरि मैला बनाउनू?
[4] मेरा प्रियले ढोका खोल्न चेपबाट हात भित्र छिराउँदा, उहाँको निम्ति मेरो मुटु धड्कन लाग्यो।
[5] मेरा प्रियको निम्ति ढोका खोल्न म उठेँ, मेरो हात र औँलाहरूबाट मूर्र चुहुँदैथियो; र मेरा औँलाहरूबाट ढोका समात्ने ठाउँमा मूर्र चुहियो।
[6] मैले मेरा प्रियको निम्ति ढोका खोलेँ, तर मेरा प्रिय हिँडिसक्नुभएछ; उहाँ गइसक्नुभएछ। उहाँको बिदाइमा मेरो हृदय खिन्न भयो। मैले उहाँलाई खोजेँ, तर भेट्टाइनँ। मैले उहाँलाई बोलाएँ, तर उहाँले केही जवाफ दिनुभएन।
[7] सहरमा गस्ती गरिरहेका पहरेदारहरूले मलाई भेट्टाए। अनि तिनीहरूले मलाई हिर्काए र घाइते पारिदिए; ती पर्खालहरूका पहरेदारहरूले मेरो खास्टो खोसेर लगे!
[8] हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई अनुरोध गर्दछु— यदि तिमीहरूले मेरा प्रियलाई भेट्टायौ भने, उहाँलाई के भनौला? म प्रेमले पागल भइसकेकी छु भनेर भनिदेओ।
[9] हे नारीहरूमध्ये परमसुन्दरी, तिम्रा प्रिय कसरी अरूहरूभन्दा असल छन्? तिम्रा प्रियचाहिँ कसरी अरूहरूभन्दा असल छन्, र तिमी हामीलाई यसरी आग्रह गर्दछ्यौ?
[10] हे यरूशलेमका छोरीहरू हो, दश हजारमध्ये पनि मेरा प्रेमी श्रेष्ठ, उज्ज्वल र रातो-पिरो हुनुहुन्छ।
[11] उहाँको शिर निखुर सुनको छ; उहाँको केश घुम्रिएको र कागझैँ कालो छ।
[12] उहाँका आँखाहरू पानीका जलकुण्डको छेउमा बसेका ढुकुरहरूजस्ता, दूधले पखालिएको, बहुमूल्य पत्थर जडिएका जस्ता छन्।
[13] उहाँका गाला सुगन्ध फैलाउने मसलाहरूका ड्याङझैँ छन्। उहाँका ओठ मूर्र चुहाउने लिली फूलसमान छन्।
[14] उहाँका पाखुरा पीतमणि जडेका सुनका डण्डाजस्तै छन्। शरीर नीलमणि जडेको चिल्लो, टल्कने हस्तीदन्तझैँ छ।
[15] उहाँका गोडा निखुर सुनको जगमा बसालिएका सिङ्गमरमरका खम्बा हुन्। उहाँको रूप लेबनानका उत्तम देवदारुजस्तै देखिन्छ।
[16] उहाँको मुख मिठासपूर्ण छ; उहाँ सम्पूर्ण रूपले सुन्दर हुनुहुन्छ। उहाँ नै मेरा प्रिय, मेरा मित्र हुनुहुन्छ, हे यरूशलेमका छोरीहरू हो।