Skip to content
Opens in a new window
Listen to this chapter • 3:03

[1] हे नारीहरूमा परमसुन्दरी, तिम्रा प्रिय कहाँ गएका छन्? तिनी कुन बाटोतिर गएका छन्, हामीलाई भन, ताकि हामी पनि तिमीसँगै तिनलाई खोज्जौँ?

[2] मेरा प्रिय आफ्नो बगैँचामा, मसलाहरूको ड्याङहरूमा, त्यहाँ टहल्न र लिली फूल टिप्नलाई जानुभएको छ।

[3] म मेरा प्रियकी हुँ, र मेरा प्रिय मेरै हुनुहुन्छ; उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।

[4] मेरी प्रिय, तिमी तिर्सा सहरजस्तै सुन्दरी, र यरूशलेमजस्तै राम्री छ्यौ; आफ्ना झण्डा लिएर हिँड्ने सेनाझैँ गौरवशाली छ्यौ।

[5] तिम्रा आँखाहरू मबाट हटाऊ; तिनले मलाई व्याकुल पार्दछन्, तिम्रा कपाल गिलाद डाँडाबाट ओरालो लागेका बाख्राहरूको बगालसरह छन्।

[6] तिम्रा दाँतहरू नुहाएर उकालो लागेका भेडाहरूको बगालजस्तै छन्। हरेकका जुम्ल्याहा छन्, कुनै पनि एकलो छैन।

[7] घुम्टोभित्र लुकेका तिम्रा दुई गाला दुई फ्याक पारेका अनारझैँ छन्।

[8] चाहे साठी वटा रानीहरू होऊन्, चाहे असीवटा उपपत्नीहरू, चाहे अनगन्ती कन्ये केटीहरू होऊन्;

[9] तर मेरी ढुकुर, मेरी सर्वश्रेष्‍ठ, तिनी विशेष छिन्; तिनकी आमाकी एउटी मात्र, मनपर्दो सन्तान हुन्। कन्याहरूले तिनलाई देखे, र तिनलाई आशिषित भने; रानीहरू र उपपत्नीहरूले तिनको प्रशंसा गरे।

[10] चन्द्रमाझैँ स्वच्छ, सूर्यझैँ उज्ज्वल, झण्डा फहराउने प्रतापी सेनाझैँ, प्रभातजस्तो देखा पर्ने ऊनी को हुन्?

[11] बदामका बोटहरू भएका बेँसीतिर नयाँ पालुवा लागे कि, दाखको बोटमा कोपिला लागेको छ कि छैन, वा अनारको फूल फुलेको छ कि छैन भनेर म तल हेर्न गएँ।

[12] मैले थाहा पाउनुअगि मेरा प्रजाका राजकीय रथमा सवार हुन मलाई मेरो इच्छाले पुर्‍याइसकेको छ।

[13] हे शूलम्मी, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ, र हामी तिमीलाई एक टक लगाएर हेरिरहन सकौँ! महानोमको नाच हेरेझैँ किन तिमीहरू शूलम्मीलाई एक टक लगाएर हेर्न रहर गर्छौ?

श्रेष्‍ठगीत — Chapters