Skip to content
Opens in a new window
Listen to this chapter • 2:41

[1] हे राजकुमारकी छोरी, चप्पल लगाइएका तिम्रा पाउ कत्ति सुन्दर छन्! तिम्रा तिघ्राहरूका आकार शिल्पकारका हातले बनाइएका रत्नजस्तै छन्।

[2] तिम्रो नाभी गोलो प्यालाजस्तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्यै हुँदैन। तिम्रो कम्मर लिली फूलले घेरेको गहुँको थुप्रोजस्तै छ।

[3] तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्, मृगीका दुई पाठाजस्तै।

[4] तिम्रो गला हस्तीदन्तको धरहराजस्तै छ। तिम्रा आँखा बाथ-रब्बीमको छेउको हेश्बोनका पोखरीजस्तै छन्, तिम्रो नाक दमस्कसतिर हेरिराखेको लेबनानको धरहराजस्तै छ।

[5] तिम्रो शिर कर्मेल पर्वतजस्तै मुकुट पहिरिएको देखिन्छ। तिम्रो कपाल हातले बुनेका राजकीय वस्त्रसमान छ; त्यसका चुल्ठाले राजालाई मोहित पारेको छ।

[6] हे प्रिय, आनन्दले पूर्ण, र मनलाई खुशी पार्ने तिमी बिछट्टै राम्री छ्यौ!

[7] तिम्रो शारीरिक कद खजूरको रूखझैँ छ, र तिम्रा स्तनहरू फलका झुप्पाहरूजस्ता छन्।

[8] मैले भनेँ, “म खजूरको रूखमा चढ्नेछु; म त्यसका फल समात्नेछु।” तिम्रा स्तनहरू अङ्‌गुरका झुप्पाहरूजस्तै होऊन्, तिम्रो सासको बास्‍ना स्याउका बास्‍नाझैँ,

[9] र तिम्रो मुख उत्तम दाखमद्यझैँ मगमगाऊन्। ओठ र दाँतबाट सलल बग्दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्।

[10] म मेरा प्रियकी हुँ, र उहाँले मेरो तिर्सना गर्नुहुन्छ।

[11] हे मेरा प्रिय, आउनुहोस्! हामी खेतबारीतिर जाऔँ; गाउँहरूमा हामी रात बिताऔँ।

[12] दाखमा कोपिला लाग्यो कि, तिनमा फूल फुल्यो कि, अनारहरूमा फूल फुल्यो कि, भनेर हेर्न हामी बिहानै दाखबारीमा जाऔँ— त्यहाँ म तपाईंलाई मेरो प्रेम प्रकट गर्नेछु।

[13] दूधेफलले बास्‍ना दिँदैछ, मैले तपाईंको निम्ति जम्मा गरेका हरेक स्वादिष्‍ठ, नयाँ र पुराना फलहरू, हाम्रा ढोकामा तयार छन्, हे मेरा प्रिय।

श्रेष्‍ठगीत — Chapters