Skip to content
Opens in a new window
Listen to this chapter • 3:36

[1] म त शारोनको गुलाफ, बेँसीहरूको लिली फूल हुँ।

[2] युवतीहरूका बीचमा मेरी प्रिय काँडाहरू बीचको लिली फूलझैँ छिन्।

[3] युवकहरूका बीचमा मेरा प्रिय, जङ्गलका रूखहरूका बीचमा स्याउको बोटजस्तै हुनुहुन्छ। उहाँका छायामुनि बस्दा मलाई आनन्द लाग्दछ; अनि उहाँको फल मलाई साह्रै मिठो लाग्छ।

[4] उहाँले मलाई महाभोजको कोठामा लैजानुभयो; र ममाथि उहाँको झण्डाचाहिँ उहाँको प्रेम हो।

[5] प्रेम रोगले गर्दा म शिथिल भएकी छु, यसकारण मलाई किसमिस खुवाएर बलियो बनाउनुहोस्; स्याउ दिएर ताजा पार्नुहोस्!

[6] उहाँको देब्रे हात मेरो शिरमुनि छ, र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ।

[7] हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु; उचित समय नभएसम्म प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ!

[8] सुन, मेरा प्रियतम! हेर, उहाँ आउँदैहुनुहुन्छ; पर्वतहरूलाई पार गर्दै, डाँडाहरूमाथि फड्को मार्दै, उहाँ आउँदैहुनुहुन्छ!

[9] मेरा प्रिय एक मृगझैँ, अथवा जवान जरायोझैँ हुनुहुन्छ। हेर, उहाँ हाम्रा पर्खालको पछिल्तिर उभिनुभएको छ; झ्यालहरूबाट हेर्दै हुनुहुन्छ; अनि आँखीझ्याल भित्रबाट चियाउँदै हुनुहुन्छ।

[10] मेरा प्रियले बोल्नुभयो र मलाई भन्‍नुभयो, “हे मेरी प्रियसी उठ, हे मेरी सुन्दरी, मसित आऊ!

[11] हेर, हिउँद बित्यो, वर्षा पनि सकियो।

[12] पृथ्वीमा फूलहरू देखा परेका छन्; गीत गाउने समय आएको छ। हाम्रो भूमिमा ढुकुरहरू कुर्लेको सोर सुनिन्छ।

[13] अञ्जीरको बोटमा फलहरू फल्न थाल्यो; दाखले त फुलेर बास्‍ना फैलाउन थाल्यो। उठ, आऊ, मेरी प्रिय, हे मेरी सुन्दरी, मसित आऊ!”

[14] चट्टानका चिराहरूमा, भिरपहराका गुप्‍त ठाउँहरूमा, लुकेर बसेकी मेरी ढुकुर; मलाई तिम्रो अनुहार देखाऊ! तिम्रो सोर सुन्‍न पाऊँ; किनकि तिम्रो सोर मिठो छ; र तिम्रो मुहार सुन्दर छ।

[15] हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ; साना फ्याउराहरू, जसले दाखबारीमा फूलहरू फुलेका बेला हाम्रा दाखबारीहरू नाश पार्दछन्।

[16] मेरा प्रिय मेरै हुनुहुन्छ, र म उहाँकी हुँ; उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।

[17] जबसम्म बिहान हुँदैन, र छायाहरू हराउँदैनन्, हे मेरा प्रियतम, फर्कनुहोस्; र मृगझैँ, अथवा भिरालो डाँडाहरूमाथि हुने घोर्ले जरायोझैँ हुनुहोस्!

श्रेष्‍ठगीत — Chapters