Skip to content
Opens in a new window
Listen to this chapter • 3:53

[1] एक-अर्कालाई दाजुभाइ-दिदीबहिनीहरूलाई झैँ प्रेम गरिरहो।

[2] अपरिचितहरूको पाहुनासत्कार गर्न नबिर्स; किनकि यसो गरेर कति मानिसहरूले अनजानमै स्वर्गदूतहरूलाई सत्कार गरेका छन्।

[3] कैदीहरूलाई तिमीहरू आफू पनि सङ्गी-कैदी भएझैँ र दुर्व्यव्यवहारमा परेकाहरूलाई तिमीहरू आफैँले कष्‍ट भोग गरेझैँ सम्झिदेओ।

[4] विवाहलाई सबैले आदरणीय मानून्, र ओछ्यान नबिटुलियोस्; किनकि परमेश्‍वरले व्यभिचारी र सबै अनैतिक सम्बन्धहरूको न्याय गर्नुहुन्छ।

[5] तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्‍ट रहो; किनकि परमेश्‍वरले धर्मशास्त्रमा भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।”

[6] यसकारण हामी आत्मविश्‍वाससहित भन्दछौँ, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र?”

[7] आफ्ना अगुवाहरूको सम्झना गर, जसले तिमीहरूलाई परमेश्‍वरको वचन सिकाएका थिए। तिनीहरूका जीवनको परिणामलाई विचार गरेर तिनीहरूका विश्‍वासको अनुकरण गर।

[8] येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।

[9] सबै किसिमका अनौठा शिक्षाहरूका भ्रममा नपर। हाम्रो हृदयलाई अनुग्रहद्वारा बलियो पार्नु असल छ, तर धर्म विधिअनुसारको भोजनले होइन, जुनचाहिँ खानेहरूको लागि कुनै मूल्यको हुँदैन।

[10] हाम्रो एउटा वेदी छ, ती वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन र?

[11] प्रधान पुजारीले पाप शुद्धीकरणको बलिको रूपमा पशुहरूको रगत महा-पवित्रस्थानमा लिएर जान्छन्, तर शरीर त छाउनीबाहिर नै जलाइन्छन्।

[12] यसकारण येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र पार्नलाई सहरको ढोकाबाहिर नै दुःख भोग्नुभयो।

[13] त्यसो भए, हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔँ, र उहाँले सहनुभएको अपमान सहौँ।

[14] किनकि यस पृथ्वीमा हाम्रो स्थायी सहर छैन, तर हामी त आउनेवाला सहरको प्रतीक्षा गरिरहेका छौँ।

[15] यसकारण हामी येशूद्वारा परमेश्‍वरलाई सदैव प्रशंसाको बलिदान चढाऔँ, जो उहाँको नाम स्वीकार गर्ने हाम्रो ओठको फल हो।

[16] अनि भलाइ गर्न र अरूसित बाँडचुँड गर्न नबिर्स; किनकि यस्तो बलिदानद्वारा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ।

[17] तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधिकारको अधीनमा बस; किनकि तिनीहरूले परमेश्‍वरलाई आफ्नो सेवाको लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्दछन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्, दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन।

[18] हाम्रो निम्ति प्रार्थना गर। हाम्रो विवेक सफा छ भन्‍ने हामी निश्‍चित छौँ; अनि हरेक प्रकारले आदरसाथ जिउने चाहना गर्छौँ।

[19] म तिमीहरूलाई प्रार्थना गर्न विशेष आग्रह गर्दछु, ताकि म फेरि चाँडै तिमीहरूकहाँ आउन सकूँ।

[20] अब शान्तिका परमेश्‍वर, जसले अनन्तको करारको रगतद्वारा भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई मरेकाबाट जीवित पार्नुभयो;

[21] उहाँले आफ्नो इच्छा पूरा गर्न तिमीहरूलाई हरेक असल थोकले सुसज्जित पारून्। येशू ख्रीष्‍टद्वारा उहाँलाई मनपर्ने कामहरू उहाँले हामीमा गरेका होऊन्। उहाँलाई नै सदासर्वदा महिमा होस्! आमेन।

[22] अनि दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई मेरो अर्ती सुनिदेओ भनी आग्रह गर्दछु; किनकि मैले तिमीहरूलाई एउटा छोटो पत्र लेखेको छु।

[23] हाम्रा भाइ तिमोथी कैदबाट छोडिएका छन् भन्‍ने तिमीहरूले जान भनी म चाहन्छु। यदि तिनी चाँडै आए भने म तिनीसितै तिमीहरूलाई हेर्न आउनेछु।

[24] तिमीहरूका सबै अगुवाहरू र परमेश्‍वरका जनहरूलाई अभिवादन सुनाइदेओ। इटालीयाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।

[25] तिमीहरू सबैसित अनुग्रह रहोस्!

हिब्रूहरू — Chapters