[1] परमेश्वर र प्रभु येशू ख्रीष्टको सेवक याकोबबाट, संसारैभरि छरिएका बाह्रै कुललाई: अभिवादन!
[2] मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ;
[3] किनकि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ भनी तिमीहरू जान्दछौ।
[4] तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ।
[5] यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।
[6] तर जब कसैले माग्छ, त्यसले विश्वास गर्नुपर्छ र शङ्का गर्नुहुन्न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो।
[7] त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्।
[8] दोहोरो मन भएको मानिस उसका सबै कामहरूमा अस्थिर हुन्छ।
[9] गरिबी अवस्थाका विश्वासीहरूले परमेश्वरले दिनुभएको आफ्नो उच्च पदमा गर्व गरून्,
[10] तर धनीले चाहिँ आफू होच्याइएकोमा गर्व गरून्; किनकि तिनीहरू त घाँसको फूलझैँ ओइलाएर जानेछन्।
[11] किनकि चर्को तापसित सूर्य उदाउँछ, र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, र त्यसको सौन्दर्य नष्ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ।
[12] त्यो मानिस धन्यको हो, जो आपत्-विपत्हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ।
[13] परीक्षामा पर्दा कसैले पनि “परमेश्वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्ट कुराहरूबाट परमेश्वर परीक्षित हुन सक्नुहुन्न, न त उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ।
[14] तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ।
[15] त्यसपछि त्यो खराब इच्छाले गर्भधारण गरेर पापलाई जन्माउँछ; अनि पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ।
[16] त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, धोकामा नपर!
[17] हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न।
[18] सृष्टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्नुभयो।
[19] मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होस्;
[20] किनकि मानिसको रिसले परमेश्वरले चाहनुभएको धार्मिकताको काम गर्दैन।
[21] यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्टतालाई त्याग; अनि तिमीहरूमा रोपिएको वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ।
[22] वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर।
[23] जसले वचन सुन्छ, तर यसले के भन्छ, सो गर्दैन, त्यो एउटा यस्तो मानिस हो, जसले आफ्नो अनुहार ऐनामा हेर्छ;
[24] अनि आफूलाई हेरिसकेपछि ऊ गइहाल्छ; तब ऊ कस्तो देखिन्छ, सो झट्टै बिर्सिहाल्छ।
[25] तर जसले स्वतन्त्रता दिने सिद्ध व्यवस्थालाई ध्यानसित हेर्छ, र आफूले सुनेको कुरालाई नबिर्सी गरिरहन्छ; तब त्यसले गरेको काममा त्यसले आशिष् पाउँछ।
[26] यदि कसैले आफैँलाई धर्मी सम्झन्छ र पनि आफ्नो जिब्रोमा लगाम लाउँदैन भने उसले आफूलाई धोका दिन्छ र त्यसको धर्मचाहिँ व्यर्थको हुन्छ।
[27] हाम्रा पिता परमेश्वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो: अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्टमा हेरचाह गर्नु; अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु।