Skip to content
Opens in a new window
Listen to this chapter • 5:17

[1] यसकारण यतिका साक्षीका ठूला बादलले हामीलाई घेरिराखेका हुनाले, हामीलाई बाधा पुर्‍याउने टन्टाहरू र सजिलैसित अलमल्याउने पापहरूजस्ता हरेक थोक त्यागेर, हाम्रो अगि राखिएको दौड धीरजसाथ दगुरौँ।

[2] हाम्रा विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो अगि राखिएको आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्‍ट भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिने हाततिर विराजमान हुनुभयो।

[3] पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, यसरी तिमीहरू थाक्नेछैनौ र हरेस खानेछैनौ।

[4] तिमीहरूको पापको सङ्घर्षको विरुद्धमा तिमीहरूले रगत बग्ने गरी त्यसको विरोध गरेका छैनौ।

[5] पिताले आफ्नो पुत्रलाई भनेझैँ तिमीहरूलाई भनिएका परमेश्‍वरको ढाडसका वचन तिमीहरूले पूरै भुलिसक्यौ? “हे मेरा छोराछोरी, परमेश्‍वरको अनुशासनलाई हल्का नठान; अनि उहाँले तिमीलाई हप्काउँदा हताश नहोऊ;

[6] किनकि परमेश्‍वरले आफूले प्रेम गरेकाहरूलाई अनुशासन गर्नुहुन्छ; अनि आफूले पुत्र भनी ग्रहण गरेकाहरूलाई उहाँले दण्ड दिनुहुन्छ।”

[7] कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्‍वरले तिमीहरूलाई सन्तानहरूझैँ व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासनमा नराखेको कुनचाहिँ छोरा होला र?

[8] अनि सबै जना अनुशासनको भागी भएर जान्छन्; यदि तिमीहरूलाई अनुशासनमा राखिएन भने तिमीहरू वैधानिक होइनौ, साँचो छोराछोरीहरू होइनौ।

[9] यसबाहेक हामीलाई अनुशासन राख्ने हाम्रा शारीरिक बुबाहरू थिए, र हामीले तिनीहरूलाई आदर गर्‍यौँ भने झन् कति बढी हाम्रा आत्माहरूका पिताको अधीनमा रहनुपर्छ र जिउनुपर्छ!

[10] उहाँहरूलाई असल लागेअनुसार हामीलाई केही समयसम्म अनुशासनमा राख्नुभयो, तर हामी परमेश्‍वरको पवित्रतामा सहभागी होऔँ भनेर परमेश्‍वरले हामीलाई हाम्रै भलाइको लागि अनुशासनमा राख्नुहुन्छ।

[11] कुनै पनि अनुशासन त्यस बेलाको लागि सुखद हुँदैन, तर कष्‍टदायक हुन्छ। तरै पनि पछि गएर यसमा तालिम पाएकाहरूको लागि धार्मिकता र शान्तिको फल उत्पन्‍न हुन्छ।

[12] यसकारण तिमीहरूका कमजोर हातहरू र दुर्बल घुँडाहरू बलियो बनाओ।

[13] “तिमीहरूका खुट्टाका लागि बाटो समतल बनाओ” ताकि अशक्तको अङ्ग नखुस्कोस्, तर निको होस्।

[14] हरेक मानिससित मिलापमा रहने, र पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन।

[15] ध्यान देओ, कुनै मानिस परमेश्‍वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्रता तितोपनको जरा टुसाएर त्यसले फाटो ल्याउला, र धेरैजनालाई बिटुलो पार्ला।

[16] अनैतिक सम्बन्ध राख्ने कोही नहोस्, अथवा जेठो छोरा भएर पनि एक छाक खानेकुराको लागि आफ्नो पैतृक अधिकार बेच्ने एसावजस्तै अधर्मी नहोस् भन्‍ने कुरामा ध्यान देओ।

[17] पछिबाट आफ्नो आशिष् उपभोग गर्ने इच्छा गर्दा तिनी तिरस्कृत भएका थिए भन्‍ने तिमीलाई थाहै छ। यद्यपि तिनले आँसुसहित त्यो आशिष् प्राप्‍त गर्न खोजेका थिए; तर तिनले जे गरेका थिए, त्यसलाई सपार्ने मौका नै पाएनन्।

[18] तिमीहरू छुन सकिने त्यस सियोन पर्वतमा आएका छैनौ, जहाँ आगोले जलिरहेको, अन्धकार, कालो बादल छाएको र आँधी चलिरहेको थियो।

[19] तुरहीको चर्को सोर र शब्द निकालेर बोल्ने आवाजमा पनि आएका छैनौ, जसलाई सुनेपछि तिनीहरूले अब यस्तो शब्द सुन्‍न नपरोस् भनी बिन्ती गरेका थिए,

[20] किनकि, “कुनै जनावरले समेत त्यस पर्वतलाई छोए भने त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू” भन्‍ने आदेश तिनीहरूले सहन सकेनन्।

[21] त्यो दृश्य यति डरलाग्दो थियो, कि मोशाले पनि भने, “म डरले कामिरहेको छु।”

[22] तर तिमीहरू त सियोन पर्वतमा, जिउँदो परमेश्‍वरको सहर, स्वर्गीय यरूशलेममा आएका छौ। तिमीहरू असंख्य स्वर्गदूतहरू भएको आनन्दमय सभामा आएका छौ,

[23] अर्थात् पहिला जन्मेकाहरूको मण्डलीमा, जसका नामहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका न्यायकर्ता परमेश्‍वरकहाँ, र सिद्ध तुल्याइएका धर्मी मानिसहरूका आत्मामा,

[24] नयाँ करारका मध्यस्थ येशूकहाँ, र हाबिलको रगतभन्दा अझ राम्रोसँग बोलिदिने रगतको छिट्काउमा आएका छौ।

[25] होसियार रहो! परमेश्‍वर, जो बोल्नुहुन्छ, उहाँलाई इन्कार गर्नुहुँदैन। संसारमा चेतावनी दिनेलाई इन्कार गर्दा तिनीहरू उम्केनन् भने स्वर्गबाट चेतावनी दिनुहुनेलाई इन्कार गर्दा हामी कसरी उम्कन सक्छौँ?

[26] त्यस बेला उहाँको सोरले पृथ्वी हल्‍लाएको थियो, तर अब त उहाँले यसो भनी प्रतिज्ञा गर्नुभएको छ, “फेरि एकपल्ट म पृथ्वी मात्र होइन, तर स्वर्गलाई पनि हल्‍लाउनेछु।”

[27] त्यो “फेरि एकपल्ट” भन्‍ने शब्दहरूले यो देखाउँछ, कि हल्‍लाउन सकिने कुराहरू, अर्थात् सृजिएका कुराहरू हटाइनेछन्; ताकि हल्‍लाउन नसकिने कुराहरूचाहिँ रहिरहून्।

[28] यसैकारण हामीले एउटा नहल्‍लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्‍वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔँ;

[29] किनकि हाम्रो “परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ।”

हिब्रूहरू — Chapters