Skip to content
Opens in a new window
Listen to this chapter • 5:02

[1] अब परमेश्‍वरले इस्राएलीहरूसँग बाँध्नुभएको पहिलो करारमा आराधनाको नियम र आराधना गर्ने सांसारिक पवित्रस्थान पनि थियो।

[2] यसरी वासस्थान तयार भयो। वासस्थानको पहिलो भागमा (पहिलो पर्दाको पछाडि) सामदान थियो, र पवित्र रोटी राखिएको टेबुल थियो; जसलाई पवित्रस्थान भनिन्थ्यो।

[3] दोस्रो पर्दाको पछाडि अर्को भाग थियो; जसलाई महा-पवित्रस्थान भनिन्थ्यो,

[4] जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दुक थियो। यस सन्दुकमा मन्‍न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लहुरो र करारका शिलापाटीहरू थिए।

[5] सन्दुकमाथि पाप क्षमाको ठाउँको ढकनीमा छाया पारिरहेका महिमाका करूबहरू थिए, तर हामी यी कुराहरू अहिले विस्तारपूर्वक व्याख्या गर्न सक्दैनौँ।

[6] यसरी यी सबै थोक मिलाइएपछि पुजारीहरू आफ्ना सेवा गर्नलाई नियमित रूपले पवित्रस्थानको पहिलो भागमा प्रवेश गर्दथे।

[7] तर दोस्रो भागमा चाहिँ प्रधान पुजारी मात्र वर्षमा एकपल्ट प्रवेश गर्दथे, रगतविना कहिल्यै पनि होइन, जुन रगतचाहिँ तिनले आफ्नै लागि र मानिसहरूले अज्ञानतामा गरेका पापहरूको निम्ति चढाउनलाई जान्थे।

[8] यसबाट पवित्र आत्माले यो देखाइरहनुभएको थियो, कि पहिलो वासस्थान अस्तित्वमा रहुन्जेल महा-पवित्रस्थानमा जाने बाटो देखाइएको थिएन।

[9] अहिलेको समयको लागि यो एउटा दृष्‍टान्त हो, जसले यो सङ्केत गर्दछ, कि चढाइएका भेटी र बलिदानहरूले आराधना गर्नेको विवेकलाई शुद्ध गर्न सकेनन्।

[10] ती नयाँ सुधारको समय नआएसम्म खानेकुरा र पिउने कुरा हुन्, र विभिन्‍न विधिका शुद्धीकरणका बाहिरी नियम मात्र हुन्।

[11] यहाँ पहिलेदेखि नै स्थापना भएका असल व्यवस्थाहरूको प्रधान पुजारीको रूपमा जब ख्रीष्‍ट आउनुभयो, तब उहाँ अझ महान् र सिद्ध वासस्थानद्वारा जानुभयो, जुनचाहिँ मानिसले बनाएको होइन, अर्थात् जुन वासस्थान यो सृष्‍टिको भाग होइन।

[12] उहाँ बोका र बाछाहरूको रगत लिएर प्रवेश गर्नुभएन, तर आफ्नै रगत लिएर सधैँको लागि एकैपल्ट महा-पवित्रस्थानमा प्रवेश गर्नुभयो, र हाम्रो लागि अनन्त उद्धार प्राप्‍त गर्नुभयो।

[13] बोका, साँढेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमा छर्किंदा तिनीहरू बाहिरी रूपमा शुद्ध हुन्छन् भने,

[14] झन् आफूलाई परमेश्‍वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्‍टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला ताकि हामीले जीवित परमेश्‍वरको सेवा गर्न सकौँ।

[15] यसकारण ख्रीष्‍ट नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ, ताकि बोलाइएकाहरूले अनन्तको उत्तराधिकार पाऊन् अर्थात् मानिसहरूले पहिलो करार अन्तर्गत गरेका पापहरूबाट छुटकारा पाऊन् भनेर उहाँ छुटकाराको मोल भई मर्नुभएको छ।

[16] इच्छापत्रको विषयमा चाहिँ यसलाई बनाउनेको मृत्यु प्रमाणित भएको हुनुपर्छ;

[17] किनकि कोही मरेपछि मात्र इच्छापत्र प्रयोगमा आउँछ; यसलाई बनाउने जीवित रहुन्जेल त्यो कहिल्यै पनि प्रयोगमा आउँदैन।

[18] यसैकारण पहिलो करार पनि रगतविना कार्यान्वयन भएको थिएन।

[19] जब मोशाले सबै मानिसहरूलाई व्यवस्थाको हरेक आज्ञा घोषणा गरे, तब तिनले पानी, रातो ऊन र हिसपका हाँगाहरूसित बाछाहरूको रगत लिए, र त्यो चर्मपत्र र सबै मानिसहरूमाथि छर्किदिए।

[20] तिनले भने, “यो करारको रगत हो, जुनचाहिँ परमेश्‍वरले तिमीहरूलाई पालन गर्नू भनेर आज्ञा दिनुभएको छ।”

[21] यस्तै प्रकारले तिनले वासस्थान र विधिहरूमा प्रयोग गरिने हरेक थोकमाथि रगत छर्के।

[22] वास्तवमा व्यवस्थाअनुसार प्रायः हरेक थोक नै रगतद्वारा शुद्ध गरिनुपर्छ; अनि रगत नबगाईकन पाप क्षमा नै हुँदैन।

[23] तब यी बलिदानहरूले स्वर्गीय चीजहरूका नक्‍कलहरूलाई शुद्ध हुनु खाँचो परेको थियो भने स्वर्गकै कुरालाई शुद्ध पार्न त अझ उत्तम बलिको आवश्यकता पर्‍यो।

[24] किनकि ख्रीष्‍ट मानिसद्वारा बनिएको वासस्थानमा प्रवेश गर्नुभएन, जुन साँचो पवित्रस्थानको नक्‍कल थियो, तर स्वर्गमा प्रवेश गर्नुभयो, त्यसैले अब हाम्रो लागि परमेश्‍वरको उपस्थितिमा देखा पर्नुहुन्छ।

[25] हरेक वर्ष प्रधान पुजारी अरूको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गरेजस्तै उहाँ आफूलाई बारम्बार अर्पण गर्न स्वर्गमा प्रवेश गर्नुभएन।

[26] त्यसो भएको भए ख्रीष्‍टले संसारको सृष्‍टिदेखि नै धेरैपल्ट कष्‍ट भोग्नुपर्नेथियो; तर अब उहाँ आफ्नै बलिदानद्वारा पाप हरण गर्नलाई यस युगको अन्त्यमा एकैचोटि सदाको लागि देखा पर्नुभएको छ।

[27] जसरी मानिसले एकपल्ट मर्नु निश्‍चित छ, र त्यसपछि न्यायको सामना गर्नुपर्छ;

[28] त्यसरी नै ख्रीष्‍ट पनि धेरैको पाप उठाइलैजान एकैपल्ट बलिदान हुनुभयो; अनि दोस्रोपल्ट देखा पर्नुहुँदा पाप बोक्न होइन, तर उहाँको प्रतीक्षा गर्नेहरूलाई मुक्ति ल्याउन आउनुहुनेछ।

हिब्रूहरू — Chapters