Skip to content
Opens in a new window
Listen to this chapter • 2:17

[1] हरेक प्रधान पुजारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्‍वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्त भएका हुन्छन्।

[2] तिनी आफैँ पनि दुर्बलताको अधीनमा भएको हुनाले तिनले अनजान र बरालिएकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्।

[3] यसैकारण तिनले आफ्नै पापको लागि र मानिसहरूको पापको लागि बलिदानहरू चढाउनुपर्छ।

[4] अनि कसैले यो सम्मान आफैँ लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैँ परमेश्‍वरको बोलावट भएपछि प्राप्‍त हुन्छ।

[5] यसरी ख्रीष्‍टले पनि प्रधान पुजारी हुने महिमा आफैँले लिनुभएन, तर परमेश्‍वरले ख्रीष्‍टलाई भन्‍नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु।”

[6] अनि अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्छ, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।”

[7] येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्बिन्ती चढाउनुभयो; अनि उहाँको भक्तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो।

[8] उहाँ परमेश्‍वरका पुत्र हुनुभए तापनि उहाँले कष्‍ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो।

[9] एकपल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो;

[10] अनि मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी नियुक्त हुनुभयो।

[11] हामीलाई यस विषयमा भन्‍नुपर्ने कुराहरू धेरै नै छन्, तर यसलाई स्पष्‍टसँग बुझाउनु कठिन छ; किनकि तिमीहरू सिक्ने कुरामा ढिला छौ।

[12] वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई त कसैले परमेश्‍वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्‍याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ!

[13] दूध मात्र पिएर बाँच्ने हरेक मानिस बालकझैँ हुने भएको हुनाले धार्मिकताको विषयको शिक्षामा अनभिज्ञ हुन्छ।

[14] तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले निरन्तर अभ्यासद्वारा असल र खराब चिन्‍न सक्ने तालिम पाइसकेका हुन्छन्।

हिब्रूहरू — Chapters