[1] यसकारण हे स्वर्गीय बोलावटका सहभागी, प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले प्रेरित र प्रधान पुजारीको रूपमा स्वीकार गरेका हाम्रा येशूमा आफ्ना विचारहरू दृढतापूर्वक राखिदेओ।
[2] जसरी मोशा परमेश्वरको घरमा विश्वासयोग्य थिए, त्यसरी नै येशू पनि आफूलाई नियुक्त गर्नुहुने परमेश्वरप्रति विश्वासयोग्य हुनुहुन्थ्यो।
[3] घरको भन्दा घर बनाउनेको आदर बढी भएझैँ, येशू पनि मोशाभन्दा बढी आदरको योग्य ठहरिनुभएको छ।
[4] किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्वर नै हरेक थोकका निर्माता हुनुहुन्छ।
[5] अनि भविष्यमा परमेश्वरले के भन्नुहुनेछ भनेर साक्षी दिँदै, “परमेश्वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्वासयोग्य थिए।”
[6] तर परमेश्वरको सम्पूर्ण परिवारमा ख्रीष्टचाहिँ पुत्रको रूपमा विश्वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्यौँ भने हामी उहाँका परिवार हौँ।
[7] यसकारण जसरी पवित्र आत्मा भन्नुहुन्छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
[8] उजाडस्थानमा परीक्षाको समयमा तिमीहरू बागी भएझैँ, आफ्ना हृदयलाई कठोर नपार,
[9] जहाँ चालीस वर्षसम्म मैले गरेका कामहरू देखेर पनि तिमीहरूका पुर्खाहरूले मलाई जाँच र परीक्षा गरेका थिए।
[10] त्यसैकारण म त्यस पुस्तासँग रिसाएको थिएँ; अनि मैले भनेँ, ‘तिनीहरूका हृदय सधैँ बरालिन्छन्, र तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’
[11] यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।’ ”
[12] यसकारण हे दाजुभाइ-दिदीबहिनीहरू हो, यसमा विचार गर, कि तिमीहरूसँग जीवित परमेश्वरदेखि टाढा रहने पापपूर्ण र अविश्वासी हृदय नहोस्।
[13] तर “आजको दिन” रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्।
[14] हामीसँग भएको आत्मविश्वासलाई दृढतापूर्वक अन्त्यसम्मै पक्रिराख्यौँ भने हामी ख्रीष्टका सहभागी भएका छौँ।
[15] जसरी धर्मशास्त्रमा लेखिएको छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौँ भने, तिमीहरू बागी हुँदा गरेझैँ आफ्ना हृदयलाई कठोर नबनाओ।”
[16] सुनेर बागी हुने तिनीहरू को थिए? के तिनीहरू नै होइनन्, जसलाई मोशाले इजिप्टबाट डोर्याएर निकालेका थिए?
[17] अनि उहाँ कोसँग चालीस वर्षसम्म रिसाउनुभएको थियो? के तिनीहरूसितै होइन र, जसले पाप गरे, र जसका शरीरहरू मरुभूमिमा नष्ट भए?
[18] अनि परमेश्वरले उहाँको विश्राममा प्रवेश गर्नेछैनौ भनी कोसँग शपथ खानुभएको थियो, तिनीहरूसँग नै होइन र, जो अनाज्ञाकारी बने?
[19] यसरी हामी देख्दछौँ, कि तिनीहरूका अविश्वासको कारणले तिनीहरू विश्राममा प्रवेश गर्न सकेनन्।