[1] यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्च परमेश्वरका पुजारी थिए। तिनले राजाहरूलाई जितेर फर्किरहेका अब्राहामलाई भेटेर आशिष् दिए;
[2] अनि अब्राहामले तिनलाई हरेक कुराको दशांश दिए। मल्कीसेदेकको नामको अर्थ “धार्मिकताका राजा” र त्यसपछि, “शालेमका राजा” अर्थात् “शान्तिका राजा” हो।
[3] तिनी आमाबुबाविना, वंशावलीविना, जीवनको सुरु र अन्त्यविना नै परमेश्वरका पुत्रसमान सदाकाल पुजारी भइरहनेछन्।
[4] विचार मात्र गर, तिनी कति महान् थिए: कुलपिता अब्राहाम समेतले तिनलाई युद्धमा जितेका मालबाट दशांश दिए!
[5] अब लेवी वंशबाट भएका पुजारीहरूले मात्र मानिसहरूबाट अथवा तिनीहरूका सङ्गी इस्राएलीहरूबाट दशांश उठाउन सक्छन् भनी व्यवस्थाले अनुमति दिन्छ। यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानहरू हुन्;
[6] यी मल्कीसेदेकचाहिँ लेवीको कुलबाट आएका होइनन्, तर पनि अब्राहामबाट दशांश लिए, र प्रतिज्ञा पाउनेलाई आशिष् दिए।
[7] अनि सानो व्यक्तिले ठूलो व्यक्तिबाट आशिष् पाउँछन् भन्ने कुरामा कुनै शङ्का छैन।
[8] एकातिर, दशांश मरेर जानेहरूले लिन्छन्; तर अर्कोतिर, दशांश तिनले लिन्छन्, जसलाई सदासर्वदा जीवित घोषणा गरिन्छ।
[9] कसैले यसो पनि भन्न सक्छ, दशांश लिने लेवीले कुलपिता अब्राहामद्वारा दशांश दिए।
[10] किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवीचाहिँ आफ्नो पुर्खाको शरीरभित्रै थिए।
[11] परमेश्वरले इस्राएलीहरूलाई दिइएको व्यवस्थाको आधारमा यदि लेवीहरूको पुजारीपनद्वारा सिद्धता प्राप्त हुनसक्ने भए किन हारूनको दर्जाबमोजिम नभई, तर मल्कीसेदेकको दर्जाबमोजिम पुजारी आउने आवश्यकता पर्यो?
[12] किनकि पुजारीपन बदली हुँदा व्यवस्था पनि बदली हुनुपर्छ।
[13] जसको लागि यी कुराहरू भनिए, उहाँ त बेग्लै कुलको हुनुहुन्थ्यो, र त्यस कुलबाट कसैले कहिल्यै पुजारी भएर वेदीको सेवा गरेन।
[14] किनकि यो स्पष्ट छ, हाम्रा प्रभु यहूदाको कुलबाट आउनुभयो, जुन कुलको विषयमा मोशाले पुजारी हुने कुरा गरेकै छैनन्।
[15] यदि मल्कीसेदेकझैँ अर्को पुजारी उठ्ने हो भनेता हामीले जे भन्यौँ, त्यो अझ स्पष्ट हुन्छ;
[16] उहाँ, जो पुर्ख्यौलीको नियमको आधारमा होइन, तर एउटा अविनाशी जीवनको शक्तिको आधारमा पुजारी हुनुभयो।
[17] किनकि धर्मशास्त्रमा उहाँको बारेमा यो घोषणा भएको छ: “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।”
[18] अगिल्लो नियम कमजोर र काम नलाग्ने भएकोले खारेज गरियो;
[19] जसको साटो अझ उत्तम आशा उपस्थित गराइयो, जसद्वारा हामी परमेश्वरको नजिक जान्छौँ; किनकि व्यवस्थाले कुनै थोकलाई सिद्ध तुल्याएन।
[20] अनि यो शपथविना भएन। अरूचाहिँ शपथविना नै पुजारी भए;
[21] तर उहाँचाहिँ शपथसहित पुजारी हुनुभयो, जब परमेश्वरले उहाँलाई भन्नुभयो: “परमप्रभुले शपथ खानुभएको छ; अनि आफ्नो मन बदल्नुहुनेछैन: ‘तिमी सदासर्वदाको लागि पुजारी हौ।’ ”
[22] यस शपथको कारण येशू करारको अझ उत्तम जमानी हुनुभयो।
[23] संख्यामा अरू धेरै पुजारीहरू थिए, तर मृत्युको कारणले तिनीहरूलाई निरन्तर पुजारीको काम गरिरहन दिएन।
[24] तर येशूचाहिँ सधैँ बाँचिरहनुहुने हुनाले उहाँको पुजारीपन अनन्तको लागि नै छ।
[25] यसकारण जति जना उहाँद्वारा परमेश्वरमा आउँछन्, तिनीहरूलाई सदासर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूको मध्यस्थता गर्न उहाँ सधैँ जिउनुहुन्छ।
[26] यस्ता प्रधान पुजारीले नै हाम्रा खाँचोहरू पूरा गर्नुहुन्छ। जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिएका स्वर्गहरूभन्दा माथि उच्च पारिनुभएको छ।
[27] अरू प्रधान पुजारीहरूलाई जस्तो पहिले आफ्नै पापहरूको लागि, र मानिसहरूका पापहरूको लागि दिनहुँ बलिदान चढाइरहने आवश्यकता उहाँलाई पर्दैन। उहाँले आफूलाई अर्पण गरेर एकैपल्ट सदाको लागि तिनीहरूका पापको बलिदान दिनुभयो।
[28] किनकि व्यवस्थाले कमजोरी भएका मानिसहरूलाई प्रधान पुजारी नियुक्त गर्छ, तर व्यवस्थापछि आएको शपथले परमेश्वरको पुत्रलाई नियुक्त गर्यो, जो सदासर्वदाको लागि सिद्ध तुल्याइनुभएको छ।