[1] त्यसपछि प्रधान पुजारीले स्तिफनसलाई सोधे, “के यी आरोपहरू साँचो हुन्?”
[2] यो सुनेर उनले जवाफ दिए: “दाजुभाइ-दिदीबहिनीहरू र बुबाहरू हो, मेरो कुरा सुन्नुहोस्! हाम्रा पिता अब्राहाम हारानमा बस्नुभन्दा अगि जब उनी मेसोपोटामियामै थिए, तब महिमाका परमेश्वरले उनको सामु आएर भन्नुभयो,
[3] ‘आफ्नो देश, आफ्नो कुटुम्बलाई छोडेर म जुन देश तँलाई देखाउँछु, त्यहीँ जा।’
[4] “त्यसैले उनी कल्दीहरूको देश त्यागेर हारानमा बस्न थाले। उनका पिताको मृत्युपछि परमेश्वरले उनलाई यस देशमा पठाउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ।
[5] परमेश्वरले उनलाई जायजेथा दिनुभएन। जमिनको एउटा सानो टुक्रासम्म पनि दिनुभएन। त्यस समयमा अब्राहामको कुनै सन्तान थिएन। तर पनि परमेश्वरले अब्राहामसँग उनी र उनको शेषपछि उनका सन्तानहरूले यो देशमा अधिकार जमाउनेछन् भनी प्रतिज्ञा गर्नुभयो।
[6] परमेश्वरले उनीसँग यसरी भन्नुभयो: ‘तेरा सन्तानहरू अर्काको देशमा प्रवासी हुनेछन् र चार सय वर्षसम्म तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।’
[7] परमेश्वरले भन्नुभयो, ‘तर म तिनीहरूले दास-दासी भई सेवा गरेको देशलाई दण्ड दिनेछु। अनि पछि तिनीहरू त्यस देशबाट निस्किआउनेछन् र यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’
[8] अब्राहामलाई उहाँले खतनाको करार दिनुभयो। त्यसपछि अब्राहाम इसहाकका पिता भए। जन्मेको आठौँ दिन उनले छोराको खतना गरे। इसहाकले याकोबलाई जन्माए र याकोब बाह्र कुलका पिता भए।
[9] “योसेफलाई दाजुभाइहरूले डाह गरेर इजिप्टमा बेचिपठाए। तर परमेश्वर तिनको पक्षमा हुनुहुन्थ्यो।
[10] अनि उनलाई सबै दुःखबाट छुटकारा दिलाउनुभयो। उहाँले योसेफलाई बुद्धि दिनुभयो; र इजिप्ट देशका राजा फारोको कृपा पाउने योग्यको तुल्याउनुभयो। त्यसैले योसेफलाई फारोले आफ्नो सम्पूर्ण दरबार र इजिप्टभरिकै हाकिम बनाए।
[11] “त्यसपछि सारा इजिप्ट र कनानमा अनिकाल पर्यो। त्यसबाट सबैलाई ठूलो सङ्कष्ट भयो। हाम्रा पुर्खाहरूले अन्न व्यवस्था गर्न सकेनन्।
[12] जब इजिप्टमा अन्न छ भनेर याकोबले सुने, तब उनले हाम्रा पुर्खाहरूलाई पहिलोपल्ट त्यहाँ पठाए।
[13] तिनीहरूको दोस्रो भेटमा योसेफले आफ्नो परिचय दाजुभाइहरूलाई दिए। अनि फारोले योसेफका कुटुम्बहरूका बारेमा थाहा पाए।
[14] यसपछि योसेफले आफ्ना बुबा याकोब र सम्पूर्ण परिवारका सदस्यहरूलाई, जो पचहत्तर जना थिए, आफूकहाँ बोलाइपठाए।
[15] अनि याकोब इजिप्टमा गए, जहाँ उनी र हाम्रा पिताहरूको मृत्यु भयो।
[16] तिनीहरूका मृत शरीर शकेममा फर्काएर ल्याए। अनि चिहानमा लगेर राखे, जुनचाहिँ अब्राहामले शकेममा हमोरका छोराहरूलाई केही रकम तिरेर किनेका थिए।
[17] “अब्राहामसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्टमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो।
[18] तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले।
[19] राजाले हाम्रा मानिसहरूमाथि अन्यायपूर्ण तरिकाले व्यवहार गरे। अनि हाम्रा पुर्खाहरूलाई आतङ्कित बनाएर तिनीहरूका भर्खरै जन्मेका शिशुहरूलाई बाहिर फ्याँक्न बाध्य पारे, ताकि ती शिशुहरूको मृत्यु होस्।
[20] “त्यसै समयमा मोशाको जन्म भयो र उनी कुनै साधारण बालक थिएनन्! तीन महिनासम्म उनको हेरविचार आफ्नै बुबाको घरमा भयो।
[21] जब उनलाई बाहिर राखियो, तब फारोकी छोरीले तिनलाई उठाइन् र घरमा ल्याएर आफ्नै छोराको रूपमा पालनपोषण गरिन्।
[22] मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए।
[23] “जब मोशा चालीस वर्ष पुगे, तब तिनले आफ्ना इस्राएली मानिसहरूलाई भेट्ने निर्णय गरे।
[24] यसैक्रममा उनीहरूमध्ये एउटालाई एक इजिप्टियनले दुर्व्यवहार गरिरहेको देखेर तिनी उसलाई बचाउन गए। अनि त्यस मानिसलाई हत्या गरेर दुर्व्यवहारमा परेको मानिसको बदला लिए।
[25] तिनीहरूलाई त्यस कष्टबाट छुटकारा दिलाउन परमेश्वरले तिनलाई प्रयोग गरिरहनुभएको कुरा आफ्ना मानिसहरूले बुझ्लान् भनी मोशाले सोचेका थिए। तर तिनीहरूले त्यो कुरा बुझ्न सकेनन्।
[26] भोलिपल्ट दुई जना इस्राएलीहरू झगडा गरिरहेका मोशाले देखेर तिनीहरूलाई भने, ‘हे भाइहरू हो, तिमीहरू त दाजुभाइ हौ। तिमीहरू किन एक-अर्काका विरुद्ध यसरी लडिरहेका छौ?’ यसो भनेर तिनले ती दुवैमा मिलाप गराउने प्रयत्न गरे।
[27] “तर जुनचाहिँ मानिसले अर्कोलाई दुर्व्यवहार गरिरहेको थियो, त्यसले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्यो?
[28] के तिमीले हिजो त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?’
[29] यस्तो जवाफ सुनेपछि मोशा त्यहाँबाट भागेर मिद्यान देशमा गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्न थाले। त्यहीँ तिनका दुई छोराहरू जन्मे।
[30] “चालीस वर्ष बितेपछि सीनै पर्वत नजिकैको मरुभूमिको एउटा जलिरहेको पोथ्रामा एक जना स्वर्गदूत मोशाकहाँ देखा परे।
[31] जब मोशाले यो देखे, तब त्यस दर्शनले गर्दा तिनी आश्चर्यचकित भए। त्यसलाई नियालेर हेर्न जब तिनी नजिकै गए, तब तिनले परमेश्वरको यस्तो वचन सुने:
[32] ‘म तेरा पुर्खाहरूका परमेश्वर हुँ, म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर हुँ।’ मोशा डराएर काम्न लागे, र तिनले त्यस दृश्यतिर हेर्न आँट गरेनन्।
[33] “त्यसपछि परमेश्वरले तिनलाई भन्नुभयो, ‘यसभन्दा नजिक नआइजा। तेरो खुट्टाको जुत्ता फुकाल। किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो।
[34] इजिप्टमा मेरा जनहरूमाथि भएको अत्याचार मैले निश्चय नै देखेको छु। तिनीहरूका चीत्कार मैले सुनेको छु। त्यसैले तिनीहरूलाई दुःखबाट छुटकारा दिलाउन म आएको हुँ। अब आइज, म तँलाई इजिप्टमै पठाउनेछु।’
[35] “यिनी तिनै मोशा थिए, जसलाई तिनीहरूले यस्तो वचन बोलेर अस्वीकार गरेका थिए; ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्यो?’ तिनीहरूका शासक र मुक्तिदाता हुनका निम्ति परमेश्वरले पोथ्रामा उनका सामु देखाउनुभएको दूतद्वारा तिनी त्यहाँ पठाइए।
[36] इजिप्टमा लाल समुद्रमा र उजाडस्थानमा चालीस वर्षसम्म अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू देखाउँदै तिनले तिनीहरूलाई इजिप्टबाट बाहिर ल्याए।
[37] “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई यसो भनेका थिए, ‘परमेश्वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ।’
[38] मोशा उजाडस्थानको समुदायमा थिए। ती स्वर्गदूतसँग, जो सीनै पर्वतमा तिनीसँग बोलेका थिए र हाम्रा पुर्खाहरूसँग थिए। अनि त्यहाँ तिनले हामीलाई दिनका निम्ति जीवित वचनहरू पाएका थिए।
[39] “तर हाम्रा पुर्खाहरूले तिनको वचनको पालना गर्न अस्वीकार गरे। त्यसको साटो तिनीहरूले तिनको अपहेलना गरे। अनि आफ्नो हृदयमा इजिप्ट फर्कन अठोट गरे।
[40] तिनीहरूले हारूनलाई यसो भने, ‘हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस्। किनकि हामीलाई इजिप्टबाट बाहिर लिएर आउने यी मानिस मोशालाई के भयो हामीलाई थाहा छैन।’
[41] त्यसै बेला तिनीहरूले बाछाको आकृतिको एउटा मूर्ति बनाए। त्यसमा तिनीहरूले बलि चढाए, र आफ्नै हातले जे निर्माण गरेका थिए, त्यसकै सम्मानमा उत्सव मनाए।
[42] तब परमेश्वर तिनीहरूबाट विमुख हुनुभयो र आकाशका तारामण्डलको पूजा आराधना गर्न तिनीहरूलाई छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ: “ ‘हे इस्राएलका घराना हो, उजाडस्थानमा चालीस वर्षसम्म के तिमीहरूले मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ?
[43] मोलेखको पाल र तिमीहरूको देवता रेफनको तारा र आफूले आराधना गर्न तिमीहरूले बनाएको मूर्ति तिमीहरूले उठाइलग्यौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा टाढा निर्वासनमा पठाउनेछु।’
[44] “उजाडस्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको पाल थियो। परमेश्वरले निर्देशन दिनुभएझैँ र मोशाले देखेअनुसारको ढाँचामा त्यसलाई बनाइएको थियो।
[45] त्यो पाल प्राप्त गरेपछि यहोशूको निर्देशनमा हाम्रा पुर्खाहरूले त्यसलाई परमेश्वरले गैरयहूदीहरूबाट खाली गराउनुभएको देशमा ल्याए। दावीदको समयसम्म त्यो पाल त्यहीँ रह्यो।
[46] दावीदले परमेश्वरको प्रशस्त कृपा पाए। अनि याकोबका परमेश्वरका निम्ति एउटा वासस्थान निर्माण गर्ने अनुमति मागे।
[47] तर यो वासस्थानचाहिँ सोलोमनले बनाए।
[48] “तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्च परमेश्वर बास गर्नुहुन्न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्:
[49] “ ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कस्तो वासस्थान बनाउँछौ? परमेश्वर भन्नुहुन्छ। वा मेरो विश्रामस्थल कहाँ हुनेछ?
[50] के मेरै हातले यी सबै थोक बनाएको होइन र?’
[51] “हे हठी, बेखतनाका हृदय र कानहरू भएका मानिसहरू हो! तपाईंहरू ठिक आफ्ना पुर्खाहरूजस्तै हुनुहुन्छ: तपाईंहरू सदा पवित्र आत्माको विरोध गर्नुहुन्छ।
[52] के कुनै यस्तो अगमवक्ता छ, जसलाई तपाईंका पुर्खाहरूले सताएनन्? जसले धर्मी जनको आगमनको अगमवाणी बोले, त्यसलाई त तिनीहरूले हत्या पनि गरे। अब तपाईंहरूले उहाँलाई विश्वासघात गर्नुभयो र मार्नुभयो।
[53] स्वर्गदूतहरूद्वारा दिइएको व्यवस्था तपाईंहरूले प्राप्त गर्नुभयो। तर त्यसअनुसार तपाईंहरूले आज्ञापालन गर्नुभएन।”
[54] जब यहूदी अगुवाहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र रिसले दाह्रा किट्न थाले।
[55] तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर स्वर्गतिर हेरे। त्यहाँ उनले परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे।
[56] अनि तिनले भने, “हेर्नुहोस्, स्वर्ग उघ्रेको म देख्छु! त्यहाँ परमेश्वरको दाहिने हातपट्टि मानिसको पुत्र उभिरहेको म देख्दछु।”
[57] यो सुनेर तिनीहरूले आफ्नो कान थुने, र उच्च सोरले कराएर तिनीहरू सबै एकैसाथ तिनीमाथि झम्टे।
[58] अनि स्तिफनसलाई सहरबाहिर घिस्याउँदै लगे, र ढुङ्गा प्रहार गर्न थाले। त्यसै बेला त्यस घटनाका साक्षीहरूले आफ्ना लुगाफाटाहरू हेरविचार गर्न शाऊल नामको एउटा युवकको पाउमा राखे।
[59] जब तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बर्साइरहेका थिए, तब स्तिफनसले यसरी प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्!”
[60] त्यसपछि तिनले घुँडा टेक्दै उच्च सोरमा भने, “हे प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्!” यति भनेपछि तिनको मृत्यु भयो।