Skip to content
Opens in a new window
Listen to this chapter • 5:29

[1] “बुबाहरू र दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्।”

[2] जब पावलले हिब्रू भाषामा बोलेको तिनीहरूले सुने, तब तिनीहरू एकदमै शान्त भए। अनि पावलले भन्‍न थाले:

[3] “म एक यहूदी हुँ, किलिकियाको टार्सस सहरमा जन्म भएको, तर यसै सहरमा गमलिएलको संरक्षणमा शिक्षा पाएर हुर्किएको हुँ; र हाम्रा पितापुर्खाहरूको व्यवस्थामा मैले तालिम पाएको हुँ। म पनि त्यस्तै उत्साहित थिएँ, जसरी आज यहाँ तपाईंहरू सबै परमेश्‍वरका निम्ति हुनुहुन्छ।

[4] पुरुषहरू र महिलाहरू दुवैलाई पक्रेर बाँधेर झ्यालखानामा हालेँ, र मैले यस मार्गमा लागेकाहरूलाई मृत्यु हुने गरी नै सताएँ।”

[5] यस कुराको साक्षी प्रधान पुजारी र सम्पूर्ण सभाले पनि दिन सक्छन्। यहाँसम्म कि तिनीहरूबाट दमस्कसमा भएका तिनीहरूकै यहूदी विश्‍वासीहरूका लागि पक्राउ-पुर्जीहरू लिनसमेत म सफल भएँ, र ती पत्रहरू लिएर ती मानिसहरूलाई बन्दी बनाएर यरूशलेममा ल्याए, र सजाय दिलाउनको निम्ति म त्यहाँ गएँ।

[6] “जब म अपरान्हको समयमा दमस्कसको नजिकै पुगेको थिएँ, तब अकस्मात् स्वर्गबाट एउटा चहकिलो प्रकाश मेरो चारैतिर चम्क्यो।

[7] म भुइँमा पछारिएँ, र एउटा आवाजले मलाई यसो भनेको सुनेँ, ‘शाऊल! शाऊल! तिमी मलाई किन सताउँछौ?’

[8] “ ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ भनी मैले सोधेँ। “ ‘म नासरतको येशू हुँ, जसलाई तिमी सताइरहेका छौ’ भनी उहाँले जवाफ दिनुभयो।

[9] मसँग यात्रा गर्नेहरूले पनि त्यो प्रकाश देखे, तर मसँग जो बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्।

[10] “ ‘हे प्रभु, अब मैले के गर्नुपर्छ?’ भनी मैले सोधेँ। “प्रभुले भन्‍नुभयो, ‘अब तिमी उठ, र दमस्कसमा जाऊ। त्यहाँ तिमीलाई जे काम गर्न खटाइएको छ, ती सबै कामहरू त्यहीँ नै तिमीलाई बताइनेछ।’

[11] त्यस प्रकाशको तेजले मैले देख्न सकिनँ, तब मेरा सङ्गीहरूले आफ्ना हातद्वारा मलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए।

[12] “त्यहाँ हननिया नाम गरेका एक जना मानिस मलाई भेट्न आए। तिनी व्यवस्थाअनुसार चल्ने मानिस थिए, र त्यहाँ बस्‍ने सबै यहूदीहरूमा अति नै सम्मानित पनि थिए।

[13] उनी मकहाँ आए, र मेरो छेउमा उभिएर भने, ‘भाइ शाऊल, आफ्नो आँखाको ज्योति प्राप्‍त गर,’ अनि तुरुन्तै मैले तिनलाई देख्न सकेँ।

[14] “त्यसपछि तिनले भने: ‘हाम्रा पुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍न र एक जना धर्मी जनलाई हेर्न र उहाँको मुखबाट वचनहरू सुन्‍न तपाईंलाई छान्‍नुभएको छ।

[15] तपाईंले जे देख्नु र सुन्‍नुभएको छ, ती कुराका विषयमा तपाईं सबै मानिसहरूको सामु उहाँको साक्षी हुनुहुनेछ।

[16] अब तपाईं केका निम्ति पर्खिरहनुभएको छ? उठ्नुहोस्, बप्‍तिस्मा लिनुहोस् र प्रभुको नाम लिँदै आफ्ना पापहरूको क्षमा प्राप्‍त गर्नुहोस्।’

[17] “जब म यरूशलेम फर्केर आएँ र मन्दिरमा प्रार्थना गरिरहेको थिएँ, म ध्यानमग्न अवस्थामा पुगेँ

[18] र मसँग दर्शनमा प्रभुले भन्‍नुभयो, ‘छिटो गर! यरूशलेम तुरुन्तै छोड, किनकि तिमीले मेरो बारेमा दिएको साक्षी यहाँका मानिसहरूले स्वीकार गर्नेछैनन्।’

[19] “मैले जवाफ दिएँ, ‘प्रभु, यी मानिसहरूलाई थाहा छ, तपाईंमा विश्‍वास गर्नेहरूलाई बन्दी बनाउन र सताउन म एउटा सभाघरबाट अर्को सभाघर गएँ।

[20] र जब तपाईंको साक्षी स्तिफनसको रगत बगाइएको थियो, त्यसलाई अनुमति दिँदै उनलाई मार्ने साक्षीहरूको लुगाफाटाहरू हेरविचार गर्दै म त्यहीँ उभिरहेको थिएँ।’

[21] “अनि परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘जाऊ म तिमीलाई धेरै टाढा गैरयहूदीहरूकहाँ पठाउनेछु।’ ”

[22] यति भनुन्जेलसम्म भीडले पावलका कुरा सुने। त्यसपछि तिनीहरू आफ्नो उच्‍च सोरमा यसरी कराउन थाले, “यस मानिसलाई पृथ्वीबाटै हटाइयोस्! यो बाँच्न योग्यको छैन!”

[23] जब तिनीहरू कराउन थाले र आफ्नो लुगा फ्याँक्न र हावामा धुलो उडाउन थाले,

[24] तब सेनापतिले पावललाई ब्यारेकभित्र लैजान आदेश दिए। ती मानिसहरू किन उनीप्रति त्यसरी कराइरहेका छन्, सो पत्ता लगाउनका निम्ति उनलाई कोर्राले कुट्ने र सोधपुछ गर्ने निर्देशन दिए।

[25] जब तिनीहरूले उनलाई कोर्राले कुट्नलाई बाँधे, तब त्यहाँ उभिएका सेनापतिसँग पावलले सोधे, “कुनै पनि दोष पत्ता नलागेको एउटा रोमी नागरिकलाई तपाईंहरूले कोर्राले कुट्नु के कानुनी कुरा हो?”

[26] जब कप्‍तानले यो कुरा सुने, उनले उच्‍च सेनापतिकहाँ गएर सो बताए र सोधे, “तपाईं के गर्दै हुनुहुन्छ? यो मानिस त रोमी नागरिक रहेछ।”

[27] सेनापति पावल भएको ठाउँमा गएर सोधे, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” “हो, म रोमी नागरिक हुँ,” उनले जवाफ दिए।

[28] अनि सेनापतिले भने, “रोमी नागरिक हुनका निम्ति मैले त ठूलो मूल्य चुकाउनुपरेको थियो।” “तर म त जन्मद्वारा नै रोमी नागरिक हुँ,” पावलले जवाफ दिए।

[29] उनलाई प्रश्न गरी जाँच गर्न तम्सिएकाहरू त्यो सुनेर तुरुन्तै पछि हटिगए। जब सेनापतिले एक रोमी नागरिक, पावललाई बाँधेको थाहा पाए, उनी आफैँ पनि तर्सिए।

[30] वास्तवमा यहूदीहरूले किन पावललाई आरोप लगाएका हुन् भनेर सेनापति पत्ता लगाउन चाहन्थे। त्यसैले अर्को दिन, उनले पावललाई बन्धनबाट फुकाइदिए र मुख्य पुजारीहरू र महासभाका सबैलाई भेला हुन तिनले आदेश दिए। तिनले पावललाई ल्याएर तिनीहरू समक्ष खडा गराए।

प्रेरितहरू — Chapters