Skip to content
Opens in a new window
Listen to this chapter • 6:57

[1] यहूदियाबाट केही मानिसहरू एन्टिओखिया आएर विश्‍वासीहरूलाई यसरी शिक्षा दिन थाले: “मोशाले सिकाएका रीतिअनुसार जबसम्म तिमीहरूको खतना हुँदैन, त्यस समयसम्म तिमीहरूको उद्धार हुन सक्दैन।”

[2] यसकारण तिनीहरूसँग पावल र बारनाबासको ठूलो मतभेद अनि वाद-विवाद भयो। तब यरूशलेम गई त्यहाँका प्रेरितहरू र प्रधानहरूसँग यस प्रश्नको टुङ्गो लगाउन पावल र बारनाबास केही अन्य विश्‍वासीका साथ नियुक्त गरिए।

[3] मण्डलीले तिनीहरूलाई त्यसरी पठाएपछि जब तिनीहरू फोनिके र सामरियाको बाटोहुँदै यात्रा गरिरहेका थिए, तब तिनीहरूले कसरी गैरयहूदीहरू प्रभुको बाटोमा फर्किएका थिए, सो सविस्तार सुनाए। त्यो खबरले सबै विश्‍वासीहरू प्रसन्‍न भए।

[4] जब तिनीहरू यरूशलेममा आए, तब मण्डली, प्रेरितहरू र प्रधानहरूले तिनीहरूको स्वागत गरे, जसलाई परमेश्‍वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरूको बयान तिनीहरूले गरे।

[5] त्यसपछि फरिसी दलका केही विश्‍वासीहरू उभिएर भने, “गैरयहूदीहरूको खतना गर्नुपर्दछ र तिनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्दछ।”

[6] यस प्रश्नमा विचार गर्न प्रेरितहरू र प्रधानहरू भेला भए।

[7] ठूलो बहस चलेपछि पत्रुस उठे, र तिनले सम्बोधन गर्न थाले: “दाजुभाइ-दिदीबहिनीहरू हो, तपाईंहरूलाई थाहा छ, सुसमाचारको सन्देश मेरो मुखद्वारा गैरयहूदीहरूले सुनून् र त्यसमा विश्‍वास गरून् भनेर केही समयअगि परमेश्‍वरले तपाईंहरूबाट मलाई छनौट गर्नुभयो।

[8] मानिसको हृदय जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिईकन ग्रहण गर्नुभएको गवाही देखाउनुभएको छ।

[9] हामी र तिनीहरूका बीचमा उहाँले कुनै भेदभाव रहन दिनुभएन; किनकि विश्‍वासद्वारा तिनीहरूका हृदय उहाँले शुद्ध पारिदिनुभयो।

[10] त्यसैले अब चेलाहरूको काँधमा यो जुवा राखिदिएर परमेश्‍वरको परीक्षा लिन तपाईंहरू किन प्रयत्न गर्दै हुनुहुन्छ? जुन जुवालाई न हामीले, न त हाम्रा पुर्खाहरूले नै बोक्न सक्यौँ।

[11] हामी विश्‍वास राख्दछौँ, हाम्रा प्रभु येशूको अनुग्रहद्वारा जसरी उनीहरूले उद्धार पाएका छन्, हामीले पनि त्यसरी नै उद्धार पाएका हौं।”

[12] जब बारनाबास र पावलले गैरयहूदीहरूका बीचमा परमेश्‍वरले उनीहरूद्वारा गर्नुभएका अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू सुनाए, तब सबै भीड चुपचाप भयो।

[13] तिनीहरूका भनाइ सकिएपछि याकोबले भने: “दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो कुरा सुन्‍नुहोस्।

[14] सबैभन्दा पहिले परमेश्‍वरले कसरी गैरयहूदीहरूबाट आफ्ना निम्ति एउटा जातिको छनौट गर्नुभयो भन्‍ने कुराको वर्णन सिमोनले हामीलाई गरेका छन्।

[15] अनि उनको यस भनाइसँग अगमवक्ताहरूको वचन मिल्छ; किनकि यस्तो लेखिएको छ:

[16] “ ‘यसपछि म फर्कनेछु, र दावीदको भत्केको पाललाई फेरि निर्माण गर्नेछु। यसको भग्नावशेषलाई म फेरि निर्माण गर्नेछु, र यसलाई फेरि स्थापित गर्नेछु।

[17] बाँकी मानिसहरूले र मेरो नाम लिने गैरयहूदीहरूले प्रभुलाई खोज्न सकून्, प्रभु भन्‍नुहुन्छ, जसले यी कुराहरू गर्नुहुन्छ’

[18] जुन सृष्‍टिको अनन्तकालदेखि जानिएको छ।

[19] “त्यसकारण मेरो विचार यही हो: परमेश्‍वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन।

[20] त्यसको साटो तिनीहरूका निम्ति हामीले लेखिदिनु पर्दछ: मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, व्यभिचारबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र रगतबाट अलग रहून्।

[21] किनकि धेरै अगिदेखि प्रत्येक सहरमा मोशाको व्यवस्था प्रचार भएको छ, र त्यसलाई हरेक शब्बाथ दिनमा सभाघरहरूमा पढिँदैछ।”

[22] त्यसपछि प्रेरितहरू र प्रधानहरू लगायत, सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही मानिसहरूलाई पावल र बारनाबासको साथ एन्टिओखियामा पठाउने निर्णय गरे। तिनीहरूले बर्साबास भनिने यहूदा र सिलासलाई चुने, जो तिनीहरूका अगुवा थिए।

[23] उनीहरूको हातमा तिनीहरूले यस्तो पत्र पठाए: एन्टिओखिया, सिरिया र किलिकियामा बस्‍ने गैरयहूदी विश्‍वासीहरूमा: हामी प्रेरितहरू, प्रधानहरू र तपाईंहरूका विश्‍वासी दाजुभाइहरूबाट अभिवादन!

[24] हाम्रो आज्ञाविना नै हामीमध्ये केही मानिसहरू त्यहाँ आएर नाना थरीका कुरा गरेर तपाईंहरूको मन बिथोलेका छन् भनी हामीले सुनेका छौँ,

[25] यसकारण केही मानिसहरूलाई छनौट गरी तिनीहरूलाई हाम्रा प्रिय सङ्गी बारनाबास र पावलका साथ तपाईंहरूकहाँ पठाउन हामीले एकमतले निर्णय गरेका छौँ।

[26] यी दुई मानिसहरू यस्ता हुन्, जसले प्रभु येशू ख्रीष्‍टका नामका निम्ति आफ्नो प्राण जोखिममा पारेका छन्।

[27] यसैले हामी जे लेखिरहेका छौँ, त्यसलाई आफ्ना मुखको वचनद्वारा प्रमाणित गर्न यहूदा र सिलासलाई पठाइरहेका छौँ।

[28] यी कुराहरूभन्दा बढ्ता गर्नु भनेर तपाईंहरूलाई बोझ लाद्न पवित्र आत्मा र हामी आवश्यक ठान्दैनौँ।

[29] मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, रगतबाट, घाँटी निमोठेर मारेका पशुहरूको मासु र व्यभिचारबाट टाढा रहनुहोस्! यी सबै कुराबाट अलग रहनुभयो भने असल हुनेछ! बिदा।

[30] त्यहाँबाट बिदा गरिएपछि ती मानिसहरू एन्टिओखिया पुगे। त्यहाँ तिनीहरूले मण्डलीलाई एकैसाथ भेला गराएर त्यो पत्र बुझाइदिए।

[31] ती मानिसहरूले त्यो पत्र पढेर त्यसका उत्साहपूर्ण अर्तीबाट खुशी भए।

[32] यहूदा र सिलास, जो आफैँ पनि अगमवक्ताहरू थिए, धेरै वचनहरूद्वारा विश्‍वासीहरूलाई प्रोत्साहित र स्थिर गराए।

[33] तिनीहरू केही दिन त्यहाँ बसेपछि विश्‍वासीहरूद्वारा शान्तिको आशिष्‌सहित फिर्ता पठाइए, जहाँबाट तिनीहरूलाई पठाइएको थियो।

[34] तर सिलासले त्यहीँ बस्‍ने निर्णय गरे।

[35] पावल र बारनाबासचाहिँ एन्टिओखियामै बसे। तिनीहरू त्यहाँ रहुन्जेल प्रभुको वचनको शिक्षा र सुसमाचार प्रचार गरे।

[36] केही समयपछि पावलले बारनाबासलाई यसो भने, “हामीले जति सहरहरूमा प्रभुको वचनको प्रचार गर्‍यौँ, ती सबै ठाउँहरूमा हामी फर्केर जाऔँ; अनि दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरू कसरी प्रभुमा लागिरहेका छन्, हेरौँ।”

[37] मर्कूस भनिने यूहन्‍नालाई पनि बारनाबासले आफूसँग लिएर जान चाहन्थे।

[38] तर पावलको विचारमा उनलाई साथमा लैजान बुद्धिमानी लागेन; किनकि पामफिलियामा उनले तिनीहरूलाई छोडेका थिए र तिनीहरूका काममा साथ दिएका थिएनन्।

[39] तिनीहरूका बीच यति चर्को मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए। अनि बारनाबासले मर्कूसलाई साथमा लिएर साइप्रसका निम्ति जहाजबाट प्रस्थान गरे।

[40] पावलले सिलासलाई चुने, र विश्‍वासीहरूद्वारा प्रभुको अनुग्रहमा अर्पण गरिएपछि हिँडे।

[41] उनी सिरिया र किलिकियाको यात्रा गर्दै जाँदा मण्डलीहरूलाई स्थिर गराउँदै गए।

प्रेरितहरू — Chapters