[1] जब पेन्तिकोस्टको दिन आइपुग्यो, तब तिनीहरू सबै एकै ठाउँमा एकसाथ भेला भएका थिए।
[2] अचानक त्यहाँ स्वर्गबाट ठूलो बतास हुरी चलेजस्तै एउटा ठूलो आवाज आयो, र तिनीहरू बसेको पूरै घरलाई त्यसले भरिदियो।
[3] अनि तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैँ देखे, र ती तिनीहरू हरेकमाथि आएर बसे।
[4] तिनीहरू सबै पवित्र आत्माले भरिए। तब पवित्र आत्माले तिनीहरूलाई सामर्थ बनाउनुभएअनुसार अन्य भाषाहरूमा बोल्न थाले।
[5] त्यस समयमा स्वर्गको मुनि भएका हरेक राष्ट्रबाट परमेश्वरको भय मान्ने यहूदीहरू यरूशलेममा बसेका थिए।
[6] जब तिनीहरूले यो आवाज सुने, तब अति आश्चर्यचकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो। किनकि तिनीहरू हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने।
[7] अनि तिनीहरूले एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने मानिसहरू सबै गालीली होइनन् र?
[8] तब कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामी सुन्दैछौँ?
[9] हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, मेसोपोटामिया बासी, यहूदिया, कापाडोकिया, पोन्टस र एशियाका,
[10] अनि फ्रिगिया र पामफिलिया, इजिप्ट र साइरिनीमा पर्ने लिबियाका धेरैजसो क्षेत्रहरूका बासिन्दाहरू छौँ, र रोमबाट आएका परदेशीहरू
[11] (यहूदी र यहूदी धर्म मान्नेहरू दुवै); क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौँ। सबैले हाम्रा आ-आफ्नै भाषामा परमेश्वरको अद्भुत कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौँ!”
[12] तिनीहरू अचम्म र अन्योलमा परे, र एक-अर्कालाई प्रश्न गर्न थाले, “यसको अर्थ के हो?”
[13] तर कतिले चाहिँ तिनीहरूलाई हाँसो गरेर भने, “तिनीहरू धेरै मद्य पिएर मातेका छन्।”
[14] तब पत्रुस एघार जनासँग उभिए। अनि उच्च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्नुहुने तपाईं सबै मानिसहरू हो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस्। अनि म जे भन्छु, त्यो ध्यानपूर्वक सुन्नुहोस्।
[15] तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ!
[16] तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरा नै हो:
[17] “ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्; तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्, तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्।
[18] ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। अनि तिनीहरूले अगमवाणी बोल्नेछन्।
[19] अनि माथि आकाशमा अद्भुत कार्यहरू देखाउनेछु, र तल पृथ्वीमा म अलौकिक चिन्हहरू देखाउनेछु, रगत, आगो र धुवाँका मुस्लाहरू।
[20] प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
[21] अनि प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।’
[22] “हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्नुभएकै कुरा हो। यी कामहरू परमेश्वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो।
[23] आफ्नो निश्चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो;
[24] तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो।
[25] दावीदले उहाँको बारेमा भनेका थिए: “ ‘मेरो सामु प्रभुलाई मैले सधैँ देखेँ। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
[26] यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ;
[27] किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
[28] जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’
[29] “हे सङ्गी भाइहरू हो, म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु: हाम्रा पुर्खा दावीद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ।
[30] तर उनी एउटा अगमवक्ता थिए र उनकै सन्तानमध्ये एक जनालाई परमेश्वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको कुरा उनलाई थाहा थियो।
[31] पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्ट पुनरुत्थान हुनुहुनेछ भन्ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो।
[32] परमेश्वरले यही येशूलाई जीवित पार्नुभयो, र हामी सबै यस तथ्यका साक्षी छौँ।
[33] परमेश्वरको दाहिने हातपट्टि उहाँले उच्च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्त गर्नुभयो। अनि त्यसैलाई खन्याइदिनुभयो, जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ।
[34] किनकि दावीद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “मेरो दाहिने हातपट्टि बस
[35] जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ।” ’
[36] “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्वरले प्रभु र ख्रीष्ट दुवै बनाउनुभएको छ।”
[37] जब जम्मा भएका मानिसहरूले यो कुरा सुने, तब तिनीहरूको हृदय छिया-छिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरू हो, अब हामीले के गरौँ?”
[38] पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस्, र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ।
[39] किनकि परमेश्वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”
[40] अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।”
[41] तिनका अर्ती मान्नेहरू सबैले बप्तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए।
[42] तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे।
[43] प्रेरितहरूद्वारा धेरै अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए।
[44] सबै विश्वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए।
[45] आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे।
[46] तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे।
[47] अनि परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।