[1] एन्टिओखियाको मण्डलीमा कति अगमवक्ताहरू र शिक्षकहरू थिए: बारनाबास, निगेर भनिने शिमियोन, साइरिनीका लुकियस र मनेन (जो शासक हेरोदसँग हुर्केका थिए) र शाऊल।
[2] तिनीहरू प्रभुको आराधना गरिरहेका बेला र उपवास बसिरहेका बेला पवित्र आत्माले “बारनाबास र शाऊललाई मैले तोकेको काम गर्नको निम्ति अलग गर” भन्नुभयो।
[3] त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए।
[4] बारनाबास र शाऊल पवित्र आत्माद्वारा पठाइएअनुसार सिलुकिया गए। अनि त्यहाँबाट साइप्रस जानका निम्ति जहाज चढे।
[5] जब तिनीहरू सलामिस पुगे, तब तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको वचनको घोषणा गरे। तिनीहरूका सहायताको रूपमा यूहन्ना तिनीहरूसँगै थिए।
[6] तिनीहरू सम्पूर्ण टापुको यात्रा गर्दै पाफोस आइपुगे। त्यहाँ तिनीहरूले बार-येशू नामको एक जना यहूदी जादुगर र झूटा अगमवक्तालाई भेटे।
[7] त्यो एउटा प्रान्तको “सर्गियस पौलुस” नामको शासकको परिचारक थियो। ती राज्यपाल एक समझदार मानिस थिए। तिनले बारनाबास र शाऊललाई बोलाए; किनकि तिनी परमेश्वरको वचन सुन्न चाहन्थे।
[8] तर एलुमास जादुगरले (उसको नामको अर्थ टुनामुना गर्ने हो) तिनीहरूको विरोध गर्यो। अनि ती राज्यपाललाई तिनको विश्वासबाट फर्काउने प्रयत्न गर्यो।
[9] त्यसपछि शाऊल, जसलाई पावल पनि भनिन्छ, तिनी पवित्र आत्माले भरिएर एलुमासको आँखामा एक टकले हेर्दै भने,
[10] “ए शैतानको बच्चा, हरेक सही कुराको शत्रु, सबै किसिमका छल र कपटले भरिपूर्ण, प्रभुका असल र ठिक बाटाहरू भ्रष्ट पार्न के तँ कहिल्यै छोड्दैनस्?
[11] अब प्रभुको शक्ति तेरो विरुद्धमा छ। तँ आँखा नेदेख्ने हुनेछस् र आउँदो केही समयका निम्ति सूर्यको प्रकाश देख्न सक्नेछैनस्।” तुरुन्तै कुइरो र अन्धकारले उसलाई ढाक्यो। अनि कसैले आफ्नो हात समाई डोर्याइदेला कि भनी त्यो यताउति गर्न थाल्यो।
[12] त्यहाँ घटेको घटना ती राज्यपालले देखेपछि उनले विश्वास गरे। किनकि प्रभुका बारेमा दिइएको शिक्षाबाट तिनी अचम्म परेका थिए।
[13] पावल र तिनका सङ्गीहरू पाफोसबाट जहाज चढी पामफिलियाको पर्गा सहरमा पुगे। यूहन्नाचाहिँ त्यहीँबाट यरूशलेम फर्किए।
[14] पर्गाबाट तिनीहरू पिसिदियाको एन्टिओखियामा गए। शब्बाथको दिन तिनीहरू सभाघरभित्र गएर त्यहाँ बसे।
[15] त्यहाँ व्यवस्था र अगमवक्ताका पुस्तकहरू पढिसकेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनेर खबर पठाए, “दाजुभाइ-दिदीबहिनीहरू हो, मानिसहरूलाई प्रोत्साहित गर्ने अर्तीका वचन तपाईंहरूसँग छ भने कृपा गरी भन्नुहोस्।”
[16] त्यो सुनेपछि पावल उभिएर सभालाई शान्त हुन हातले इशारा गर्दै भने: “हे इस्राएलीहरू र परमेश्वरको डर मान्ने गैरयहूदीहरू हो, मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस्!
[17] इस्राएली जातिका परमेश्वरले हाम्रा पुर्खाहरूलाई चुन्नुभयो। इजिप्टमा बस्दा उहाँले तिनीहरूलाई उच्च बनाउनुभयो। महान् शक्तिका साथ तिनीहरूलाई उहाँले त्यस देशबाट बाहिर ल्याउनुभयो।
[18] प्राय: चालीस वर्षसम्म उजाडस्थानमा तिनीहरूका व्यवहारलाई उहाँले सहनुभयो।
[19] कनानका सात राष्ट्रहरूलाई उहाँले नाश गर्नुभयो र उनीहरूको देश आफ्ना जनहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो।
[20] प्रायः चार सय पचास वर्षसम्म तिनीहरूले त्यहाँ अधिकार जमाए। “यसपछि शमूएल अगमवक्ताको समय नआउन्जेल परमेश्वरले तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो।
[21] अनि मानिसहरूले एउटा राजाको माग गरे। अनि उहाँले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई तिनीहरूका राजा बनाउनुभयो। तिनले चालीस वर्षसम्म शासन गरे।
[22] तर शाऊललाई हटाएपछि दावीदलाई उहाँले तिनीहरूका राजा बनाउनुभयो। तिनको विषयमा साक्षी दिँदै परमेश्वरले भन्नुभयो: ‘यिशैको छोरा दावीदलाई मैले आफ्नो हृदयअनुसारको मानिस भेट्टाएको छु; जसबाट म जे काम गराउन चाहन्छु, त्यसले ती सबै गर्नेछ।’
[23] “यिनै मानिसका सन्तानबाट परमेश्वरले प्रतिज्ञा गर्नुभएबमोजिम इस्राएलको एक उद्धारकर्ता येशूलाई ल्याउनुभयो।
[24] येशूको आगमनभन्दा अगाडि यूहन्नाले सबै इस्राएलीहरूमा पश्चात्ताप र बप्तिस्माको प्रचार गरे।
[25] जब यूहन्ना आफ्नो काम पूरा गरिरहेका थिए, उनले भने, ‘मलाई तपाईंहरूले को भनी ठान्नुभएको छ? म त उहाँ होइन। तर उहाँ मपछि आउनुहुनेछ। उहाँका पाउका जुत्तासम्म पनि फुकाल्ने योग्यको म छैनँ।’
[26] “हे दाजुभाइ-दिदीबहिनीहरू हो, अब्राहामका सन्तान र परमेश्वरको भय मान्ने गैरयहूदीहरू, यो उद्धारको सन्देश हामीहरूमा नै पठाइएको छ।
[27] यरूशलेमका मानिसहरू र तिनका शासकहरूले येशूलाई चिनेनन्, तैपनि उहाँलाई दण्ड दिएर तिनीहरूले अगमवक्ताहरूका वचनहरूलाई पूरा गरे, जो हरेक शब्बाथको दिन पढिन्थ्यो।
[28] यद्यपि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले कुनै ठोस कारण फेला पारेनन्। तर पनि उहाँलाई ज्यान सजाय दिनुपर्छ भनी पिलातससँग तिनीहरूले माग गरे।
[29] जब तिनीहरूले उहाँका बारेमा लेखिएका सबै कुराहरू पूरा गरे, तिनीहरूले उहाँलाई क्रूसबाट तल झारेर चिहानमा राखे।
[30] तर परमेश्वरले उहाँलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभयो।
[31] त्यसपछिका धेरै दिनसम्म गालीलदेखि यरूशलेमसम्म उहाँसँगै यात्रा गर्नेहरूका सामु उहाँ प्रकट हुनुभएको थियो। अहिले तिनीहरू नै हाम्रा मानिसहरूका माझमा उहाँका साक्षी भएका छन्।
[32] “हाम्रा पुर्खाहरूसँग परमेश्वरले जे प्रतिज्ञा गर्नुभयो, हामी तपाईंहरूलाई त्यो सुसमाचार सुनाउँछौँ,
[33] तिनीहरूका सन्तान अर्थात् हामीहरूका निम्ति येशूलाई जीवित पारीकन परमेश्वरले त्यो प्रतिज्ञा पूरा गर्नुभयो। भजनसंग्रह दुईमा लेखिएको छ: “ ‘तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।’
[34] कहिले पनि नकुहिने गरी उहाँलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नुभएको तथ्य, यी वचनहरूमा भनिएको छ: “ ‘दावीदलाई प्रतिज्ञा गरेबमोजिम म तिमीहरूलाई पवित्र र अटल आशीर्वाद दिनेछु।’
[35] किनभने अर्को ठाउँमा पनि यस्तै लेखिएको छ: “ ‘तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।’
[36] “किनकि उनको आफ्नै पुस्तामा दावीदले परमेश्वरको उद्देश्यअनुसार काम गरेपछि उनको मृत्यु भयो; उनी आफ्ना पुर्खाहरूसँग गाडिए र उनको शरीर सड्यो।
[37] तर जसलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नुभयो, उहाँको शरीरचाहिँ कुहिएन।
[38] “त्यसैकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू, तपाईंहरू यो कुरा बुझ्नुहोस् भन्ने म चाहन्छु, येशूद्वारा पापहरूको क्षमा तपाईंहरूलाई घोषणा गरिएको छ।
[39] उहाँमा विश्वास गर्ने हरेक उहाँद्वारा नै सबै कुरामा धर्मी ठहराइएको छ, जुन धार्मिकता मोशाको व्यवस्थाद्वारा सम्भव थिएन।
[40] यसकारण होसियार हुनुहोस्, अगमवक्ताहरूको मुखबाट निस्केका यी वचन तपाईंहरूमा लागू नहोस्:
[41] “ ‘हे निन्दा गर्नेहरू हो, हेर, आश्चर्य मान र नष्ट भइजाओ; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई कसैले भने पनि तिमीहरू त्यसमा कहिल्यै विश्वास गर्नेछैनौ।’ ”
[42] पावल र बारनाबासले सभाघर छोडेपछि मानिसहरूले तिनीहरूलाई अर्को शब्बाथको दिन, अरू कुरा गर्नका निम्ति बोलाए।
[43] सभा समाप्त गरेपछि धेरै यहूदी तथा यहूदी धर्म मान्ने भक्तहरूले पावल र बारनाबासलाई पछ्याए, जसले परमेश्वरको अनुग्रहमा लागिरहन तिनीहरूलाई बिन्ती गरे।
[44] प्रभुको वचन सुन्न अर्को शब्बाथको दिनमा पूरै सहर जम्मा भएर आयो।
[45] जब यहूदीहरूले भीडलाई देखे, तब तिनीहरू ईर्ष्याले भरिए। अनि पावलले भनेका कुराहरूमाथि नानाथरी दोष लगाउँदै उनको अपमान गरे।
[46] त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई निर्भयतापूर्वक जवाफ दिए, “सबैभन्दा पहिला त तपाईंहरूलाई नै हामीले परमेश्वरको वचन भन्नुपर्थ्यो। तपाईंहरूले यसको तिरस्कार गरेर आफूलाई अनन्त जीवनको अयोग्य बनाउनुभएकोले अब हामी गैरयहूदीतिर फर्कँन्छौँ।
[47] किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ: “ ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु, ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्याउन सक।’ ”
[48] यो कुरा सुनेपछि गैरयहूदीहरू खुशी भए, र प्रभुको वचनलाई आदरका साथ ग्रहण गरे; अनि अनन्त जीवनका लागि नियुक्त भएका सबैले विश्वास गरे।
[49] प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि फैलियो।
[50] तर यहूदीहरूले प्रभुको भय मान्ने माथिल्ला दर्जाका महिलाहरू र सहरका मुख्य पुरुषहरूलाई उक्साए। पावल र बारनाबासका विरुद्धमा तिनीहरूले उपद्रवका लागि उत्तेजना फैलाए। अनि तिनीहरूलाई आफ्नो क्षेत्रबाट सिमानापारि कटाए।
[51] तर तिनीहरूका विरुद्ध उनीहरूले आफ्ना पैतालाको धुलो टकटक्याएर आइकोनियममा गए।
[52] अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरिपूर्ण भए।