Skip to content
Opens in a new window
Listen to this chapter • 4:51

[1] एक दिन पत्रुस र यूहन्‍ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए।

[2] त्यहाँ जन्मैदेखिको एउटा लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर भनिने ढोकातिर लगिँदैथियो। त्यसलाई सधैँ नै त्यस ढोकामा त्यसरी नै लगेर राखिन्थ्यो, त्यहीँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो।

[3] जब लङ्गडोले पत्रुस र यूहन्‍नालाई मन्दिरभित्र पस्‍न लागेको देख्यो, तब त्यसले तिनीहरूसँग पैसा माग्यो।

[4] पत्रुस र यूहन्‍नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!”

[5] त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्‍यो।

[6] पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्‍टको नाममा तिमी हिँडिहाल।”

[7] यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो।

[8] त्यो आफ्नो खुट्टाका बलले बुरुक्‍क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो।

[9] जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे,

[10] मन्दिरको सुन्दर भनिने मूलढोकामा बसेर सधैँ भीख माग्ने मानिस त्यही नै हो भनी तिनीहरूले चिने। तब त्यो लङ्गडो राम्रोसँग हिँड्न सकेको देखेर तिनीहरू आश्‍चर्यचकित भए, र अचम्म माने।

[11] त्यो भीख माग्नेले पत्रुस र यूहन्‍नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्‍चर्यमा परे। तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए।

[12] यो देखेर पत्रुसले तिनीहरूलाई यसो भने: “हे इस्राएलका मानिसहरू हो, यस कुरामा तपाईंहरू किन आश्‍चर्यचकित मान्‍नुहुन्छ? मानौँ हाम्रा आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यस मानिसलाई हिँडाउन सकेको भनी ठान्दै, किन तपाईंहरू हामीलाई आश्‍चर्यका साथ हेर्दै हुनुहुन्छ?

[13] अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर, हाम्रा पुर्खाका परमेश्‍वरले आफ्नो सेवक येशूलाई महिमित गर्नुभयो। तपाईंहरूले उहाँलाई मृत्युको मुखमा पठाउनुभयो, र पिलातसले उहाँलाई छोडिदिने निर्णय गर्दासमेत तपाईंहरूले अस्वीकार गर्नुभयो।

[14] तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो, तर त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो।

[15] तपाईंहरूले जीवनको सृष्‍टिकर्तालाई मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो। हामी यस तथ्यका साक्षी छौँ।

[16] येशूको नाममा विश्‍वास गर्नाले नै तपाईंहरूले देख्नुभएको र चिन्‍नुभएको यो मानिस आज आफ्नै खुट्टामा उभिन सक्ने भएको छ। येशूको नाम र उहाँबाट आउने विश्‍वासका कारणले नै यो मानिस पूर्ण निको भयो, जुन कुरा तपाईंहरू देख्दैहुनुहुन्छ।

[17] “अब प्रभुमा दाजुभाइ-दिदीबहिनीहरू हो, यो मलाई थाहा छ, तपाईंका शासकहरूले गरेजस्तै, तपाईंहरूले अनजानमा यस्तो काम गर्नुभयो।

[18] तर परमेश्‍वरका ख्रीष्‍टले दुःख भोग्नुपर्नेछ भनी उहाँले सबै अगमवक्ताहरूद्वारा जसरी अगमवाणी गर्नुभएको थियो, त्यसरी नै उहाँले त्यसलाई पूरा गर्नुभयो।

[19] त्यसैकारण पश्‍चात्ताप गर्नुहोस् र परमेश्‍वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।

[20] अनि उहाँले तपाईंहरूका उद्धारको निम्ति नियुक्त गरिनुभएका येशू, अर्थात् ख्रीष्‍टलाई पठाउनुहुनेछ।

[21] आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अनन्तकालदेखि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ, सबै कुरा उहाँले फेरि पुनर्स्थापना नगरुन्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ।

[22] किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनका सबै कुरा सुन्‍नुपर्छ।

[23] उहाँको वचनहरू कसैले सुन्दैन भने आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्नेछ।’

[24] “वास्तवमा, शमूएलदेखिका सबै अगमवक्ताहरूमध्ये, जोजतिले बोलेका छन्, ती सबैले यी दिनहरूमा भएका घटनाहरूका बारेमा अगमवाणी गरेका हुन्।

[25] तिमीहरू अगमवक्ताहरूका र करारका सन्तान हौ, जुन करार परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग गर्नुभएको थियो। उहाँले अब्राहामलाई भन्‍नुभएको थियो, ‘तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष् पाउनेछन्।’

[26] जब परमेश्‍वरले आफ्नो सेवकलाई जीवित पार्नुभयो, तब तिमीहरू सबैलाई दुष्‍ट मार्गबाट फर्काएर आशिष् दिन परमेश्‍वरले सबैभन्दा पहिले उहाँलाई तिमीहरूकहाँ नै पठाउनुभयो।”

प्रेरितहरू — Chapters