[1] प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु।
[2] उहाँले चुन्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनुभएको दिनदेखि उहाँ स्वर्गमा उठाएर लगिनुभएको दिनसम्मको वृत्तान्त मैले मेरो त्यसै पुस्तकमा वर्णन गरिसकेको छु।
[3] आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्वासलाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो।
[4] तिनीहरूसँगै भोजन गरिरहेको बेला एकपल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्नू। त्यो प्राप्त नभएसम्म यरूशलेमलाई नछोड्नू।
[5] किनकि यूहन्नाले पानीले बप्तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्माले बप्तिस्मा पाउनेछौ।”
[6] तब तिनीहरू उहाँको वरिपरि भेला भए र उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गराउनुहुन्छ?”
[7] उहाँले तिनीहरूलाई भन्नुभयो: “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको समय वा मिति जान्ने काम तिमीहरूको होइन।
[8] तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।”
[9] उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।
[10] उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात् सेता पोशाकमा दुई जना मानिस तिनीहरूका नजिक प्रकट भए।
[11] तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएको यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।”
[12] त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम सहरदेखि झण्डै एक शब्बाथ दिनको बाटो टाढा पर्दछ।
[13] तिनीहरू त्यहाँ आइपुगेपछि, तिनीहरू आफू बसेको माथिल्लो तलाको कोठामा गए। त्यहाँ पत्रुस, यूहन्ना, याकोब र अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरा याकोब र सिमोन कनानी र याकोबको छोरा यहूदा उपस्थित थिए।
[14] येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहे।
[15] ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरूका (तिनीहरूका संख्या करिब एक सय बीस थियो) बीचमा उभिए,
[16] र भने, “दाजुभाइ-दिदीबहिनीहरू हो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दावीदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्त्रको त्यो वचन पूरा हुनैपर्थ्यो।
[17] किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो, र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।”
[18] (आफ्नो दुष्टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो। त्यही खेतमा त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, र त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्ट भए।
[19] यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए। यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।)
[20] पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ, “ ‘त्यसको ठाउँ उजाड होस्; त्यहाँ बास गर्ने कोही नहोस्,’ र, “ ‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’
[21] यसैकारण एक जना यस्तो व्यक्ति छान्नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो।
[22] त्यो मानिस यूहन्नाको बप्तिस्माको समयदेखि सुरु गरेर येशू हामीबाट माथि उठाइ लगिइनुभएको बेलासम्म हामीसँगै रहेको हुनुपर्दछ। किनकि तीमध्ये एक जना हामीसँगै उहाँ पुनरुत्थान हुनुभएको साक्षी हुनैपर्दछ।”
[23] त्यसैले तिनीहरूले बर्साबास भनिने योसेफ (जसलाई युस्तस पनि भनिन्थ्यो) र मतियास गरी दुई जनालाई प्रस्ताव गरे।
[24] अनि तिनीहरूले प्रार्थना गरे, “प्रभु, तपाईं सबै मानिसहरूका हृदयका कुरा जान्नुहुन्छ। यी दुईमध्ये कसलाई तपाईंले छनौट गर्नुभएको छ, हामीलाई देखाइदिनुहोस्।
[25] अनि त्यसले यो प्रेरितको सेवाको काम गर्न सकोस्, जुन सेवाका निम्ति छानिएको ठाउँ छोडेर यहूदा आफ्नो निज ठाउँमा गयो।”
[26] त्यसपछि तिनीहरूले गोला हाले, र गोला मतियासको नाममा पर्यो। त्यसैले तिनी एघार प्रेरितहरूसँग थपिए।