Skip to content
Opens in a new window
Listen to this chapter • 4:31

[1] परमेश्‍वरको इच्छाअनुसार ख्रीष्‍ट येशूको प्रेरित पावलबाट, एफिससमा भएका ख्रीष्‍ट येशूमा विश्‍वासयोग्य पवित्र जनहरूलाई:

[2] हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।

[3] हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्‍टमा हरेक आत्मिक आशिषले स्वर्गीय स्थानहरूमा आशिष दिनुभएको छ।

[4] किनकि उहाँको दृष्‍टिमा हामी पवित्र र निष्खोट हुन सकौं भनेर उहाँले प्रेममा हामीलाई संसारको सृष्‍टिपूर्व नै ख्रीष्‍टमा चुन्‍नुभयो।

[5] उहाँले हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार येशू ख्रीष्‍टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो,

[6] ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैंमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्।

[7] परमेश्‍वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्‍टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौं।

[8] परमेश्‍वरले आफ्ना सम्पूर्ण बुद्धि र समझशक्‍तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो।

[9] उहाँले आफ्नो इच्छाको रहस्य, जुन ख्रीष्‍टमा राख्नुभएको थियो, आफ्नो असल खुशीअनुसार, हामीलाई प्रकट गर्नुभएको छ,

[10] ताकि जब समयहरूको पूर्णता हुन्छ, स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनताको एकतामा ल्याइनेछन्।

[11] उहाँकै योजनाअनुसार पूर्वनिर्धारण गरेर हामीलाई पनि उहाँमा नै चुन्‍नुभएको छ, जसले आफ्नो इच्छाअनुसारको उद्देश्य पूरा गर्न सबै काम गर्नुहुन्छ

[12] कि, हामी जसले ख्रीष्‍टमा पहिल्यै आशा राखेका हौं, उहाँको महिमाको प्रशंसाको कारण बन्‍नसकौं।

[13] जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्‍तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्‍टमा समावेश भयौ। जब तिमीहरूले विश्‍वास गर्‍यौ, तब प्रतिज्ञा गरिएको पवित्र आत्माद्वारा उहाँमा नै तिमीहरूलाई छाप लगाइएको थियो।

[14] परमेश्‍वरको महिमाको प्रशंसाको निम्ति तिनीहरू, जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूका उद्धारको उत्तराधिकारको पहिलो किस्ता हुनुहुन्छ।

[15] त्यसैले जबदेखि मैले प्रभु येशूमा तिमीहरूको विश्‍वास र सबै सन्तप्रति तिमीहरूको प्रेमको बारेमा सुनें,

[16] म तिमीहरूलाई प्रार्थनामा सम्झिदै तिमीहरूको निम्ति धन्यवाद दिन थामिएको छैनँ।

[17] मैले यही विन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा दिनुभएको होस्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्‍न सक।

[18] म यो प्रार्थना गर्दछु, कि तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्‍न सक।

[19] म यो पनि प्रार्थना गर्दछु, परमेश्‍वरको शक्‍तिको अतुलनीय महान्‌ता, जो उहाँमा विश्‍वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो त्यही शक्‍ति महान् सामर्थ्य हो

[20] जसलाई प्रयोग गरेर उहाँले ख्रीष्‍टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने हाततिर बसाल्नुभयो।

[21] अनि सबै प्रधानता र अधिकार, शक्‍ति र राज्य र यस युगमा मात्र होइन, तर आउँदो युगमा पनि सबै नाउँभन्दा माथि उहाँलाई राख्नुभयो।

[22] यसर्थ परमेश्‍वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुरामाथि शिर तुल्याइदिनुभयो,

[23] जुन मण्डली उहाँको शरीर हो, उहाँको पूर्णता हो, जसलाई उहाँले नै सबै कुराले सबै तरिकाले भरिपूर्ण पारिदिनुहुन्छ।

एफिसी — Chapters