Skip to content
Opens in a new window
Listen to this chapter • 4:18

[1] तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ,

[2] जसमा तिमीहरू जिउने गर्दथ्यौ, जब तिमीहरू यस संसारको मार्गअनुसार र आकाशको राज्यको शासकअनुसार पछ्याउँथ्यौ, अहिले त्यो आत्माले अनाज्ञाकारीहरूका जीवनमा काम गरिरहेको छ।

[3] हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै र यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौं; र बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौं।

[4] तर कृपाका धनी परमेश्‍वरले उहाँको हामीप्रतिको महान् प्रेमका कारण

[5] हामीहरू अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो—परमेश्‍वरको अनुग्रहबाट नै तिमीहरूले मुक्‍ति पाएका छौ।

[6] अनि परमेश्‍वरले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो र ख्रीष्‍ट येशूसँगै स्वर्गीय स्थानहरूमा बसाल्नुभयो,

[7] ताकि आउँदा युगहरूमा उहाँको अनुग्रहको अतुलनीय सम्पत्ति ख्रीष्‍ट येशूमा हामीलाई गर्नुभएको दयामा देखाउन सक्नुभएको होस्।

[8] किनकि तिमीहरूले अनुग्रहबाट मुक्‍ति पाएका छौ; र यो विश्‍वासद्वारा हो। यो मुक्‍ति तिमीहरू आफैबाट आएको होइन, तर यो त परमेश्‍वरको वरदान हो।

[9] यो असल कर्महरूद्वारा होइन कि, कसैले घमण्ड गरोस्।

[10] किनकि हामी परमेश्‍वरद्वारा अघिबाटै असल काम गर्नका लागि ख्रीष्‍ट येशूमा सृजना गरिएका हौं, जुन परमेश्‍वरले अघिबाटै हामीद्वारा गर्नका लागि तयार गर्नुभएको थियो।

[11] यसकारण याद राख, अघिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो “खतना” (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले “बेखतनाका” भन्छन्

[12] याद राख, त्यस बेला तिमीहरू ख्रीष्‍टदेखि अलग, इस्राएलको नागरिक हकबाट वञ्चित थियौ, र प्रतिज्ञाका करारहरूबाट बिरानो, आशा नभएका र यस संसारमा परमेश्‍वरविनाका थियौ।

[13] तर तिमीहरू, जो ख्रीष्‍ट येशूमा अघि एक समय टाढा थियौ, अहिले ख्रीष्‍टको रगतद्वारा नजिक ल्याइएका छौ।

[14] किनकि उहाँ स्वयम् नै हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ, र दुवैलाई एउटै बनाउनुभएको छ।

[15] उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञाहरू र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्‍टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो।

[16] अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्‍वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो।

[17] उहाँ आउनुभयो, र तिमी टाढा भएकाहरू र नजिक भएकाहरू दुवैलाई शान्तिको सन्देश प्रचार गर्नुभयो।

[18] किनकि ख्रीष्‍टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौं।

[19] फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्‍वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ;

[20] जुन घराना प्रेरितहरू र अगमवक्‍ताहरूका जगमाथि बसालिएको छ, र जसको मुख्य ढुङ्गो ख्रीष्‍ट येशू आफै हुनुहुन्छ।

[21] उहाँमा नै पूरै भवन एकसाथ जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर हुनालाई बढ्दै जान्छ।

[22] अनि उहाँमा तिमीहरू पनि वासस्थान हुनालाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्‍वर आफ्नो आत्माद्वारा वास गर्नुहुन्छ।

एफिसी — Chapters