[1] यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी विन्ती गर्दछु।
[2] पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर।
[3] शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।
[4] एउटै शरीर छ, र एउटै आत्मा, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ।
[5] एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा,
[6] एउटै परमेश्वर र सबैका पिता, जो सबैमाथि, सबैको माध्यम र सबैमा हुनुहुन्छ।
[7] तर हामीहरू प्रत्येकलाई ख्रीष्टको नापअनुसार अनुग्रह दिएको छ।
[8] यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ: “जब उहाँ उच्चमा चढिजानुभयो, उहाँले धेरैलाई बन्दी बनाउनुभयो अनि उहाँका मानिसहरूलाई वरदानहरू दिनुभयो।”
[9] (“उहाँ उच्चमा चढिजानुभयो,” यसको अर्थ के हो? अर्थचाहिँ यही हो कि, उहाँ पृथ्वीको तल्लो भागसम्म पनि ओर्लनुभयो।
[10] उहाँ जो ओर्लनुभयो, सबै स्वर्गहरूभन्दा माथि उक्लनु पनि भयो, ताकि सारा जगतमा उहाँको उपस्थिति रहोस्।)
[11] यसरी ख्रीष्टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्त गर्नुभयो
[12] सेवाको कामको लागि परमेश्वरका जनहरूलाई सुसज्जित पार्न, ताकि ख्रीष्टको शरीरको निर्माण हुन सकोस्,
[13] जबसम्म हामी सबै परमेश्वरका पुत्रको ज्ञानमा र विश्वासमा एकता प्राप्त गर्दैनौं र ख्रीष्टको पूर्णताको पूरा नापसम्म परिपक्व बन्दैनौं।
[14] तब हामी छालहरूले अघि र पछि हुत्याइएका, विभिन्न सिद्धान्तहरूको हर बतास र छालहरूले यताउति पार्दै, धूर्त मानिसहरूका जालझेल, धूर्तता र तिनीहरूका छलपूर्ण योजनाद्वारा ठगिने साना बालकहरूजस्ता हुनेछैनौं।
[15] बरु प्रेममा सत्य बोल्दै, उहाँमा अर्थात् ख्रीष्टमा, जो शिर हुनुहुन्छ, हामी हर प्रकारले परिपक्व हुनालाई बढ्दै जानेछौं।
[16] उहाँबाट नै सारा शरीर जोडिएको र हरेक जोर्नीहरू गाँसिएको हुन्छ र शरीरका हरेक अङ्गले आफ्नो काम गरेअनुसार प्रेममा आफै वृद्धि हुँदै र निर्माण हुँदैजान्छ।
[17] यसकारण म तिमीहरूलाई यो भन्दछु, र प्रभुको नाममा यो जोड दिँदछु, कि तिमीहरू अब गैरयहूदीहरूझैं तिनीहरूका विचारको व्यर्थतामा नजिओ।
[18] तिनीहरूका समझ अन्धकारले भरिएका, र तिनीहरूका हृदयका कठोरताले ल्याएको अज्ञानताको कारणले तिनीहरू परमेश्वरमा पाइने जीवनदेखि अलग भएका छन्।
[19] पूरै लाज पचाएर तिनीहरू आफैलाई सबै किसिमको कामुकतामा समावेश गराएर, अझ धेरै सबै प्रकारको अशुद्धता र लोभले परेका छन्।
[20] तथापि तिमीहरूले त ख्रीष्टको विषयमा यस्तो शिक्षा सिकेका थिएनौ,
[21] जब तिमीले ख्रीष्टको बारेमा सुन्यो र येशूमा भएको सत्यताअनुसार नै तिमीहरूले उहाँमा सिक्यौ।
[22] तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पुरानो स्वभावको जीवन जिउने तरिकालाई त्याग्नुपर्छ भनी सिकेका छौ;
[23] र आफ्ना मनको स्वभावमा नयाँ बन्न सक;
[24] अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्वरजस्तै हुनालाई सृष्टि गरिएको छ।
[25] यसकारण तिमीहरू प्रत्येकले झूटलाई त्यागेर आफ्ना छिमेकीसँग सत्य बोल्नुपर्छ; किनकि हामी सबै एउटै शरीरका अङ्गहरू हौं।
[26] “क्रोध गर, तर पाप नगर”: घाम अस्ताउनु अघि नै तिमीहरूको रिस मरोस्,
[27] र शैतानलाई कुनै मौका नदेओ।
[28] चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस् कि, आफ्नै हातले केही फाइदाजनक काम गरी खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्।
[29] तिमीहरूको मुखबाट कुनै नराम्रो बोली ननिस्कोस्, तर अरूहरूको आवश्यकता अनुसार निर्माण गर्न सहायता पुग्ने र सुन्नेहरूलाई फाइदा हुने बोली मात्र बोल।
[30] अनि परमेश्वरको पवित्र आत्मालाई दुःखी नबनाओ जसद्वारा तिमी मुक्तिको दिनका लागि छाप लगाइएका छौ।
[31] सबै तीतोपना, क्रोध र रिस, झैझगडा र निन्दा, सबै किसिमका घृणासमेत त्यागिदेओ।
[32] एक-अर्काप्रति दयालु र कोमल मनका होओ, ख्रीष्टमा परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुभएझैं, एक-अर्कालाई क्षमा गर।