Skip to content
Opens in a new window
Listen to this chapter • 4:22

[1] हे छोराछोरीहरूहो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ।

[2] “आफ्ना बुबा र आमाको आदर गर”—यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो,

[3] “ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।”

[4] हे बुबाहरूहो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

[5] हे सेवकहरूहो, ख्रीष्‍टको आज्ञा पालन गरेझैं तिमीहरू आफ्ना सांसारिक मालिकहरूका आदर, भय, र हृदयको इमानदारीतासाथ आज्ञा पालन गर।

[6] केवल उनीहरूलाई खुशी पार्ने हेतुले उनीहरूका आँखा अगाडि मात्र होइन, तर ख्रीष्‍टका सेवकहरूझैं तिमीहरूका हृदयदेखि नै परमेश्‍वरको इच्छा पूरा गर्दै उनीहरूको आज्ञा पालन गर।

[7] तिमीहरूले मानिसको सेवा गरेझैं होइन, तर प्रभुको सेवा गरेझैं, सम्पूर्ण हृदयले सेवा गर।

[8] किनकि तिमीहरू जान्दछौ कि, हरेक मानिसले जे असल कार्य गर्दछ, त्यही अनुसारको इनाम प्रभुले त्यसलाई दिनुहुन्छ, चाहे तिनीहरू सेवक हुन् या फुक्‍का हुन्।

[9] हे मालिकहरूहो, तिमीहरूले पनि आफ्ना सेवकहरूसँग त्यस्तै व्यवहार गर। तिनीहरूलाई धम्की नदेओ, किनकि तिमी जान्दछौ कि, तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा कुनै पक्षपात हुँदैन।

[10] अन्त्यमा प्रभुमा र उहाँको शक्‍तिशाली सामर्थ्यमा बलिया होओ।

[11] परमेश्‍वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्‍तिहरूको विरुद्धमा खडा हुन सक।

[12] किनकि हाम्रो लडाइँ मानिसहरूका विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्‍तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्‍टताका आत्मिकी सेनाहरूका विरुद्ध हो।

[13] यसकारण परमेश्‍वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ।

[14] यसकारण कम्मरमा सत्यताको पेटीले बाँधेर, धार्मिकताको छाती-पाता लगाएर खडा होऊ;

[15] अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ।

[16] यी सबै कुराबाहेक विश्‍वासको ढाल हातमा उठाओ, जसद्वारा तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ।

[17] शिरमा मुक्‍तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।

[18] अनि सब अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्विन्तीसहित आत्मामा प्रार्थना गर। यी कुरालाई सम्झदै मनमा सचेत भएर प्रभुका सबै सन्तहरूका निम्ति सधैं प्रार्थना गर।

[19] मेरो निम्ति पनि प्रार्थना गर, जब म बोल्छु, सुसमाचारको रहस्य निर्धक्‍कसँग भन्‍नलाई मलाई शब्दहरू दिइयोस्,

[20] जसको लागि म साङ्लाहरूमा बाँधिएको एक राजदूत हुँ। मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै म विनाडर घोषणा गर्न सकूँ, भनी प्रार्थना गर।

[21] मेरो प्यारो भाइ र प्रभुमा विश्‍वासयोग्य सेवक, तुखिकसले तिमीहरूलाई सबै कुरा भन्‍नेछन्; र तिमीहरूले मेरा सबै अवस्थाबारे जान्‍नेछौ।

[22] मैले तिनलाई यही विशेष उद्देश्यले तिमीहरूकहाँ पठाउँदैछु, कि हाम्रो हालचाल कस्तो छ भनी तिमीहरूले जान्‍न सक र उनले तिमीहरूलाई उत्साहित गराऊन्।

[23] दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट विश्‍वाससहितको प्रेम र शान्ति।

[24] हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेमले प्रेम गर्नेहरू सबैमा अनुग्रह रहोस्।

एफिसी — Chapters