[1] यसैकारण म पावल, ख्रीष्ट येशूको कैदी, तिमी गैरयहूदीहरूका निम्ति,
[2] तिमीहरूकै निम्ति मलाई परमेश्वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा निश्चय नै सुनेका छौ होला
[3] कि, मलाई प्रकाशद्वारा त्यो रहस्य प्रकट गरिएको थियो; जसको बारेमा मैले छोटकरीमा लेखिसकेको छु।
[4] तिमीहरूले जब यो पढ्नेछौ, ख्रीष्टको रहस्यबारे मेरो अन्तर्दृष्टि बुझ्नेछौ।
[5] जुन कुरो अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा प्रकट भएको छ।
[6] यो रहस्य के हो भने, सुसमाचारमा विश्वासद्वारा गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्।
[7] परमेश्वरको शक्तिको कामअनुसार मलाई दिइएको उहाँको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक बनिएँ।
[8] यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्ति भए तापनि ख्रीष्टमा पाइने अगम्य सम्पत्तिको सुसमाचारबारे गैरयहूदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइयो।
[9] अनि सबै थोक सृष्टि गर्नुहुने परमेश्वरले युगौंयुगसम्म लुकाएर राखिएको यो रहस्यको प्रबन्धबारे सबैलाई सरल ढङ्गमा बुझाउने अनुग्रह मलाई दिनुभयो।
[10] स्वर्गीय स्थानहरूमा भएका शासकहरू तथा अधिकारीहरूलाई परमेश्वरबारे धेरै ज्ञानहरू अब मण्डलीद्वारा प्रकट होस् भन्ने उहाँको अभिप्राय थियो।
[11] जुनचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो।
[12] उहाँमा, अनि उहाँमा राखिएको हाम्रो विश्वासद्वारा साहस र निश्चयतासाथ हामी परमेश्वरको उपस्थितिमा पुग्नसक्छौं।
[13] यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूको निम्ति भोगिरहेको कष्टको कारण निरुत्साहित नहोओ, ती त तिमीहरूका गौरव हुन्।
[14] यसैकारण म पिताको सामुन्ने घुँडा टेक्दछु,
[15] जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाउँ राखिएको छ।
[16] म यो प्रार्थना गर्दछु, कि उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्;
[17] ताकि ख्रीष्ट तिमीहरूको हृदयमा विश्वासद्वारा वास गरून्। अनि म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरू प्रेममा जरा गाडेका र स्थापित भएका होओ
[18] कि, प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्ति पाउन सक,
[19] अनि सबै समझभन्दा बाहिरको ख्रीष्टको प्रेम जान्न सक, ताकि परमेश्वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक।
[20] अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ,
[21] उहाँलाई नै मण्डली र ख्रीष्ट येशूमा पुस्तौं-पुस्तौसम्म, सदा-सर्वदाको लागि महिमा होस्! आमेन!