Skip to content
Opens in a new window
Listen to this chapter • 5:16

[1] यसकारण प्रिय बालबालिकाहरूझैं परमेश्‍वरको अनुकरण गर्नेहरू होओ,

[2] अनि प्रेमको मार्गमा जिओ, जसरी ख्रीष्‍टले हामीहरूलाई प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो।

[3] तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता वा अशुद्धता वा लोभको नाउँसम्म आउनुहुँदैन, किनकि परमेश्‍वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित छैनन्।

[4] अनि कुनै प्रकारका अश्लील, मूर्ख बातचित अथवा बेफाइदाका ठट्यौली नगर, यो ठीक छैन, बरु परमेश्‍वरलाई धन्यवाद दिनेगर।

[5] किनकि तिमीहरू यो निश्‍चित जान, कुनै व्यभिचारी वा अशुद्ध व्यक्‍ति वा लोभी, यस्तो व्यक्‍ति मूर्तिपूजक हो र ख्रीष्‍ट र परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन।

[6] कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदेओस्, किनकि यिनै कुराहरूका कारण परमेश्‍वरको क्रोध अनाज्ञाकारीहरूमाथि आउँदछ।

[7] यसकारण यी मानिसहरूले गर्ने काममा सहभागी नहोओ।

[8] किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले प्रभुमा ज्योति भएका छौ। त्यसैले ज्योतिका सन्तानझैं जिओ।

[9] किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ,

[10] अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज।

[11] अन्धकारका निष्फल कार्यहरूसँग सहभागी नबन, बरु तिनीहरूलाई प्रकट गरिदेओ।

[12] अनाज्ञाकारीहरूले गुप्‍तमा जे गर्छन्, त्यो भन्‍नु पनि लज्जास्पद कुरो हो।

[13] तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्‍टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ।

[14] त्यसकारण यस्तो भनिएको छ: “हे सुतेकाहरू, जाग र मरेकाहरूबाट उठ, अनि ख्रीष्‍ट तिमीहरूमा चम्कनुहुनेछ।”

[15] यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होऊ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान् जस्तो होऊ।

[16] सबै अवसरको पूरा सदुपयोग गर, किनकि दिनहरू खराब छन्।

[17] यसकारण मूर्ख नबन, तर प्रभुको इच्छा के हो सो बुझ।

[18] दाखमद्यले नमात्तिओ, किनभने यसले तिम्रो जीवन बर्बाद गर्छ। बरु पवित्र आत्माले भरिपूर्ण होओ।

[19] भजन, स्तुतिगान र आत्मिकी गीतहरूमा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल।

[20] हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा, सधैं सबै कुराको निम्ति परमेश्‍वर पितालाई धन्यवाद चढाओ।

[21] ख्रीष्‍टको श्रद्धाको लागि एक-अर्काको अधीनतामा बस।

[22] हे पत्नीहरूहो, प्रभुको अधीनतामा रहेजस्तै, आ-आफ्ना पतिहरूका अधीनतामा बस।

[23] किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्‍ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ, जसको निम्ति उहाँ उद्धारकर्ता हुनुहुन्छ।

[24] जसरी मण्डली ख्रीष्‍टको अधीनतामा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूको अधीनतामा रहून्।

[25] हे पतिहरूहो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो,

[26] र त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकियोस्।

[27] अनि त्यसलाई आफ्नै निम्ति यस्तो प्रतापी मण्डलीको रूपमा प्रस्तुत गर्न सक्नुभएको होस्, जसमा कुनै दाग नभएको अथवा चाउरी नपरेको वा अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्।

[28] यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैं प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैलाई प्रेम गर्दछ।

[29] कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले मण्डलीलाई गर्नुहुन्छ।

[30] किनकि हामी उहाँका शरीरका अङ्गहरू हौं।

[31] “यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्ना पत्नीसँग जोडिरहनेछ, अनि ती दुई एउटै शरीर हुन्छन्।”

[32] यो एक अति गहन रहस्य हो, तर मैले ता ख्रीष्‍ट र मण्डलीबारे कुरा गरिरहेको छु।

[33] जसरी तिमी आफैलाई प्रेम गर्छौ, त्यसरी नै हरेकले आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ, र पत्नीले आफ्ना पतिको आदर गर्नुपर्छ।

एफिसी — Chapters