[1] दासत्वको जुवामुनि हुनेहरू, ती सबैले आ-आफ्ना मालिकहरू पूर्ण आदरका योग्य छन् भनी ठानून्; ताकि परमेश्वरको नाउँ र शिक्षाको बदनाम नहोस्।
[2] जसका मालिकहरू विश्वासी छन्; तिनीहरूले ती मालिकहरू विश्वासमा सङ्गी विश्वासीहरू हुन् भनेर अनादर नगरून्, बरु तिनीहरूका सेवाबाट लाभहरू उठाउने विश्वासी नै हुन्; अनि तिनीहरूप्रति प्रिय छन् र तिनीहरूका भलो चिताउँछन् भनेर तिनीहरूका सेवा अझ राम्रोसँग गरून्। यी कुराहरू तिमीले सिकाउनू र आग्रह गर्नू।
[3] यदि कसैले हाम्रोभन्दा भिन्नै शिक्षा सिकाउँछन्, र हाम्रा प्रभु येशू ख्रीष्टका उचित वचन र भक्तिअनुसारका शिक्षासित सहमत हुँदैन भने,
[4] ती घमण्डले फुलिएका हुन्छन् र केही पनि जानेका हुँदैनन्, तर तिनीहरूलाई विवादहरू गर्ने मनोरोग लागेको हुन्छ, र यस्ता शब्दहरूका बारेमा झगडा गर्छन्; जसले डाह, कलह, बदनाम र खराब शङ्काहरू उत्पन्न गराउँछन्,
[5] र बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्; अनि भक्तिचाहिँ लाभको साधन हो भनी तिनीहरू ठान्छन्।
[6] तर सन्तुष्टता सहितको भक्ति नै ठूलो लाभ हो।
[7] किनकि हामीले यस संसारमा न केही ल्यायौं, न त यसबाट केही लिएर जानेछौं।
[8] तर यदि हामीसित खानेकुरा र लाउने कुराहरू छन् भने, हामी त्यसैमा सन्तुष्ट रहन सक्नुपर्छ।
[9] जो धनी हुन चाहन्छन्, तिनीहरू परीक्षा र पासोमा फस्छन्, अनि धेरै मूर्ख र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्।
[10] किनकि रुपियाँपैसाप्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँपैसाको लोभमा परेर विश्वासबाट पछि हटेका छन्, र धेरै पीडाहरूले आफूलाई छेंडेका छन्।
[11] तर हे परमेश्वरका मानिस, तिमी यी सबै कुराहरूबाट अलग बस, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग।
[12] विश्वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ।
[13] प्रत्येकलाई जीवन दिनुहुने परमेश्वर र पन्तियस पिलातसको सामु असल विश्वासको गवाही दिनुहुने ख्रीष्ट येशूको दृष्टिमा, म तिमीलाई यो आदेश दिन्छु, कि
[14] प्रभु येशू ख्रीष्टको दोस्रो आगमनसम्म यस आज्ञालाई दागविना र दोषविना राख।
[15] जसलाई परमेश्वरले आफ्नै समयमा प्रकट गर्नुहुनेछ। परमेश्वर, परमधन्य र एक मात्र शासक, राजाहरूका राजा तथा प्रभुहरूका प्रभु हुनुहुन्छ।
[16] उहाँ मात्र अमर हुनुहुन्छ, र उहाँ त्यस ज्योतिमा वास गर्नुहुन्छ, जसको नजिक कोही पनि जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्न नै सक्छ। उहाँको नै महिमा र सामर्थ्य सदा-सर्वदा रहोस्। आमेन!
[17] वर्तमान संसारमा भएका धनीहरूलाई घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्तसित दिनुहुने परमेश्वरमा लगाऊन् भनी आज्ञा देऊ।
[18] तिनीहरूले असल गरून्, असल कामहरूमा धनी होऊन्, र उदार चित्तले बाँडचुँड गर्नेहरू होऊन् भनी आज्ञा देऊ।
[19] यसरी नै तिनीहरूले आउने युगको लागि असल जगको रूपमा आफ्नै लागि सम्पत्ति थुपार्नेछन्, र तिनीहरूले त्यो जीवनलाई पक्रिराखून्, जो साँच्चै नै आउने युगको जीवन हो।
[20] हे तिमोथी, तिमीलाई जे सुम्पिएको छ, त्यसलाई सुरक्षित राख। भक्तिहीन गन्थन र विरोधपूर्ण विचारहरू, जसलाई झूटो रूपमा ज्ञान भनिन्छ, त्यसबाट अलग बस।
[21] यस्ता कुराहरूलाई स्वीकारेर कति त आफ्नो मूल विश्वासबाट तर्किगएका छन्। तिमीहरू सबैसँग अनुग्रह रहोस्।