[1] यो वचन विश्वासयोग्य छ: यदि कसैले अध्यक्ष हुने इच्छा गर्छ भने, उसले असल कामको इच्छा गर्छ।
[2] अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ।
[3] मद्यपान नगर्ने, झगडालु होइन, तर भद्र, शान्तिप्रिय, धनको लोभ नगर्ने हुनुपर्छ।
[4] तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्चाहरूलाई ससम्मान अधीनतामा राख्नसक्ने हुनुपर्छ।
[5] यदि कसैले आफ्नै परिवार सम्हाल्न सक्दैनन् भने, तिनले परमेश्वरको मण्डलीको रेखदेख कसरी गर्न सक्छन् र?
[6] तिनी भर्खर विश्वासमा आएको व्यक्ति हुनुहुँदैन; नत्र ता तिनी घमण्डले फुलेर शैतानले पाउने न्यायमा पर्नेछन्।
[7] तिनले बाहिरकाहरूका बीच पनि असल नाउँ पाएको हुनुपर्छ, नत्र ता तिनी निन्दित हुनेछन्, र शैतानको पासोमा पर्नेछन्।
[8] यसैगरी सेवकहरू पनि आदर पाउन योग्यका, दुईजिब्रे, मद्यपान नगर्ने, अनि अनुचित लाभ नखोज्ने मानिसहरू हुनुपर्छ।
[9] तिनीहरूले विश्वासका गहिरा सत्यहरूलाई शुद्ध विवेकसित कायम राख्नैपर्छ।
[10] पहिले तिनीहरूका जाँच हुनुपर्छ; यदि तिनीहरूका विरुद्धमा केही छैन भने, तिनीहरूले सेवक भएर सेवा गरून्।
[11] त्यसै गरी तिनीहरूका पत्नीहरू पनि आदर पाउन योग्यका, अरूका कुरा नकाट्ने, तर संयमी र हरेक कुरामा विश्वासयोग्य हुनुपर्छ।
[12] सेवक एउटै पत्नीका पति; आफ्ना बालबच्चाहरू र परिवारको उचित रेखदेख गर्न सक्ने हुनुपर्छ।
[13] जस-जसले राम्ररी सेवा गरेका छन्, तिनीहरूले उत्तम प्रतिष्ठा र ख्रीष्ट येशूमा भएका तिनीहरूका विश्वासमा महान् निश्चयता पाउनेछन्।
[14] म तिमीकहाँ चाँडै आउने आशा राख्दै यी उपदेशहरू तिमीलाई लेखिरहेछु।
[15] यदि म आउन ढिलो भएँ भने पनि, परमेश्वरको परिवार जुनचाहिँ सत्यको जग र खाँबो अर्थात् जिउँदो परमेश्वरको मण्डली हो, त्यसमा मानिसहरूले कसरी चल्नुपर्छ भनी तिमीले जान्न सक।
[16] विनाशङ्का यो भन्न सकिन्छ, कि भक्तिको रहस्य महान् छ: उहाँ मानिसको शरीर भएर देखा पर्नुभयो, पवित्र आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूद्वारा देखिनुभयो, सबै मानिसहरूका बीचमा प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उठाइनुभयो।