Skip to content
Opens in a new window
Listen to this chapter • 2:48

[1] पवित्र आत्माले प्रष्‍ट गरी भन्‍नुहुन्छ: पछि आउने दिनहरूमा केही मानिसहरूले विश्‍वासलाई त्याग्नेछन्, बहकाउने आत्माहरू र भूतप्रेतहरूका शिक्षाको पछि लाग्नेछन्।

[2] यस्ता शिक्षाहरू छलकपट गर्ने झूटा व्यक्‍तिहरूद्वारा आउनेछन्, जसका विवेक तातो फलामले डामेझैं हुन्छ।

[3] तिनीहरूले मानिसहरूलाई विवाह गर्न मनाही गर्छन् र केही भोजनहरूबाट अलग रहनू भन्‍ने आदेश दिन्छन्, जुन विश्‍वास गर्नेहरू अनि सत्य जान्‍नेहरूले धन्यवादसाथ ग्रहण गरून् भनी परमेश्‍वरले सृष्‍टि गर्नुभयो।

[4] किनकि परमेश्‍वरले सृष्‍टि गर्नुभएको सबै थोक असल छन्, र धन्यवादसाथ स्वीकार गरियो भने कुनै थोक पनि तिरस्कार गरिनुपर्दैन।

[5] किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा शुद्ध पारिएको हुन्छ।

[6] यदि तिमीले यी कुराहरू दाजुभाइ-दिदीबहिनीहरूलाई देखाइदियौ भने, तिमी विश्‍वासको सत्यतामा हुर्काइएको र उचित शिक्षा पछ्याउने ख्रीष्‍ट येशूका असल सेवक हुनेछौ।

[7] भक्‍तिहीन र काल्पनिक दन्त्यकथाहरूदेखि अलग बस। बरु आफूलाई भक्‍तिको मानिस हुने तालिम देऊ।

[8] किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्‍वर भक्‍ति त हर किसिमले लाभदायक हुन्छ। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति उपयोगी हुन्छ।

[9] यो भनाइ विश्‍वासयोग्य छ, जसलाई पूर्ण रूपले स्वीकार गर्न सकिन्छ।

[10] हामीले परिश्रम र संघर्ष गर्नुको कारण यो हो कि हाम्रो आफ्नो आशा जीवित परमेश्‍वरमाथि राखेका छौं; जो सबै मानिसहरू, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेहरूका मुक्‍तिदाता हुनुहुन्छ।

[11] यिनै कुराहरूलाई आज्ञा दिँदै शिक्षा देऊ।

[12] तिमी जवान भएकोमा कसैले पनि तिमीलाई तुच्छ दृष्‍टिले नहेरोस्, तर वचनमा, जीवनमा, प्रेममा, विश्‍वासमा र शुद्धतामा विश्‍वासीहरूको लागि उदाहरण बन।

[13] म नआएसम्म सबैको सामुन्‍ने पवित्र धर्मशास्त्र पढ्ने काममा, प्रचारमा र शिक्षामा आफूलाई सुम्पिदेऊ।

[14] मण्डलीका प्रधानहरूले तिमीमाथि हात राख्दा अगमवाणीद्वारा तिमीलाई प्राप्‍त भएको वरदानको अवहेलना नगर।

[15] यी विषयहरूमा परिश्रमी बनेर आफूलाई सम्पूर्ण रूपले दिइहाल, र सबैले तिम्रो प्रगति देखून्।

[16] तिम्रो जीवन र शिक्षामा ज्यादै ध्यान देऊ। यी कुराहरूमा खुरन्धार लागिरह; किनकि यसो गर्नाले तिमीले आफूलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ।

1 तिमोथी — Chapters