[1] यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले विन्तीहरू, प्रार्थनाहरू, अन्तर्विन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्।
[2] हामीले भक्ति र ससम्मान शान्तिपूर्ण अनि चैनको जीवन बिताउन सकौं भनेर राजाहरू र उच्च पदमा रहेकाहरूका निम्ति चढाइऊन्।
[3] यो असल हो र हाम्रा मुक्तिदाता परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
[4] उहाँ सबै मानिसहरू बाँचेका अनि सत्यको ज्ञानमा आएका चाहनुहुन्छ।
[5] किनकि परमेश्वर एउटै हुनुहुन्छ; परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ—मानव ख्रीष्ट येशू,
[6] जसले सबैका छुटकाराको मोलको निम्ति आफूलाई दिनुभयो, जुन कुराको साक्षी ठीक समयमा दिइयो।
[7] अनि यही उद्देश्यले म एउटा प्रचारक र प्रेरित नियुक्त भएँ। म सत्य बोल्दछु र ढाँट्दिनँ; गैरयहूदीहरूलाई विश्वास र सत्यताको शिक्षा दिनको निम्ति नियुक्त गरिएको छु।
[8] यसकारण सबै ठाउँमा विनाक्रोध र विनाविवाद प्रार्थनामा पुरुषहरूले पवित्र हातहरू उठाऊन् भन्ने म चाहन्छु।
[9] त्यसै गरी म चाहन्छु, कि स्त्रीहरूले भद्रता र शिष्टतासाथ सुहाउँदो वस्त्र लगाऊन्, केशको बढी सिँगार गरेर, सुन, मोती र महङ्गा वस्त्रहरू पहिरेर होइन।
[10] तर असल कामद्वारा सुसज्जित होऊन्, जुन परमेश्वरमा भक्ति राखेको भनी दाबी गर्ने स्त्रीहरूलाई सुहाउँछ।
[11] स्त्रीले पूर्ण अधीनतामा बसेर चुपचापसित सिक्नुपर्छ।
[12] म स्त्रीले पुरुषलाई सिकाउने वा अधिकार गर्ने अनुमति दिन्नँ; ऊ चुपचाप नै रहोस्।
[13] किनकि पहिला आदम बनाइएका थिए, तब हव्वा।
[14] आदम छलिएका होइनन्, तर स्त्री पो छलिएर पापी भएकी हुन्।
[15] तर स्त्रीहरू बालक जन्मद्वारा बचाइनेछन्; यदि विश्वास, प्रेम र भद्रतापूर्ण पवित्रतामा लागिरहिन् भने।