Skip to content
Opens in a new window
Listen to this chapter • 3:14

[1] ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावलबाट,

[2] मेरो प्यारो छोरो तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति!

[3] जब म रातदिन प्रार्थनाहरूमा निरन्तर तिमीलाई सम्झन्छु, तब म परमेश्‍वरलाई धन्यवाद दिन्छु; जसको सेवा मेरा पुर्खाहरूले गरेझैं म शुद्ध विवेकले गर्दछु।

[4] तिम्रा आँसुहरू सम्झिदै, तिमीलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि म आनन्दले पूर्ण हुन सकूँ।

[5] मलाई तिम्रो निष्कपट विश्‍वासको सम्झना हुन्छ, जुन पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो। यो विश्‍वास अब तिमीमा पनि छ भनेर म निश्‍चित छु।

[6] यसकारण मैले तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्‍वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु।

[7] किनकि परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्‍ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।

[8] यसकारण हाम्रा प्रभुको साक्षी दिन नशर्माऊ, न त उहाँको कैदी, मेरो विषयमा नै; तर सुसमाचारका लागि कष्‍टमा परमेश्‍वरको शक्‍तिद्वारा मसँग सहभागी होऊ।

[9] उहाँले हामीलाई बचाउनुभएको छ, र पवित्र जीवन जिउनको लागि बोलाउनुभएको छ; हामीले गरेका कामका आधारमा होइन, तर उहाँको आफ्नै उद्देश्य र अनुग्रहको कारणले हो। यो अनुग्रह हामीलाई समयको सुरुभन्दा अघिदेखि नै ख्रीष्‍ट येशूमा दिइएको थियो।

[10] तर अब हाम्रा मुक्‍तिदाता ख्रीष्‍ट येशूको प्रकटद्वारा यो प्रकाशमा ल्याइएको छ। उहाँले मृत्युलाई नाश पार्नुभयो, अनि सुसमाचारद्वारा जीवन र अमरतालाई प्रकाशमा ल्याउनुभयो।

[11] अनि यही सुसमाचारको लागि म एक प्रचारक, प्रेरित र शिक्षकको रूपमा नियुक्‍त गरिएको छु।

[12] यसकारण मैले यी कष्‍टहरू भोगिरहेको छु, तरै पनि म शर्माउँदिनँ। किनकि मैले कसमाथि विश्‍वास राखेको छु, सो म जान्दछु, र त्यस दिनसम्मको लागि मैले उहाँलाई जे सुम्पेको छु, उहाँले त्यो सुरक्षित राख्नुहुनेछ भनी म निश्‍चित छु।

[13] तिमीले मबाट सुनेका सत्य शिक्षालाई ख्रीष्‍ट येशूमा विश्‍वास र प्रेमसाथ नमुनाको रूपमा पक्रिराख।

[14] हामीमा वास गर्नुहुने पवित्र आत्माको सहायताद्वारा तिमीलाई सुम्पिएको सत्य वचन सुरक्षित राख।

[15] तिमीलाई थाहै छ, कि एशिया प्रान्तमा हुने हरेकले मलाई त्यागिदिएका छन्, जसमा फुगेलस र हर्मोगेनस पनि हुन्।

[16] प्रभुले ओनेसिफरसका परिवारमाथि कृपा देखाऊन्, किनकि तिनले मलाई घरी-घरी हौसला दिन्थे, र तिनी मेरो बन्धनको शर्म मान्दैनथे।

[17] तर जब तिनी रोममा आए, मलाई नभेटुन्जेल परिश्रमसाथ मेरो खोजी गरे।

[18] त्यस दिन प्रभुले आफ्नो कृपा तिनलाई प्रदान गरून्! तिनले मलाई एफिससमा गरेका सहायताहरू तिमीलाई राम्ररी थाहै छ।

2 तिमोथी — Chapters