Skip to content
Opens in a new window
Listen to this chapter • 4:30

[1] वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बुबाझैं ठानी राम्ररी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइझैं व्यवहार गर।

[2] वृद्ध स्त्रीहरूलाई आमाझैं, र युवतीहरूलाई सम्पूर्ण पवित्रतामा बहिनीझैं व्यवहार गर।

[3] जुन विधवाहरू साँच्‍चै खाँचोमा छन्, तिनीहरूलाई उचित सहायता गर।

[4] तर यदि कुनै विधवाका छोराछोरी वा नातिनातिनाहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्ना परिवारप्रति धार्मिक कर्तव्य पालन गर्न सिकून्; र आफ्ना आमाबुबा र बाजे-बज्यैप्रति उपकारको ऋण चुकाऊन्। किनकि यो परमेश्‍वरको दृष्‍टिमा मनपर्दो छ।

[5] साँच्‍चै खाँचोमा परेकी विधवा, जो एकलै छिन्, तिनी परमेश्‍वरमा आफ्नो आशा राख्तछिन्, र परमेश्‍वरसित सहायता माग्दै दिनरात प्रार्थनामा लागिरहन्छिन्।

[6] तर सुख-विलासमा मस्त रहने विधवा जिउँदै मरेतुल्य हो।

[7] मानिसहरूलाई यी आज्ञाहरू देऊ, तिनीहरू दोषरहित होऊन्।

[8] यदि कसैले आफन्तहरूको, खासगरी आफ्नै परिवारको खाँचो पूरा गर्दैन भने, त्यसले विश्‍वासलाई इन्कार गरेको छ, र त्यो अविश्‍वासीभन्दा खराब हुन्छ।

[9] कुनै विधवाको उमेर साठी वर्ष माथिकी छैनन्, र आफ्नो पतिप्रति इमानदार छैनन् भने तिनको नाउँ विधवाहरूका सूचीमा नराख।

[10] तर असल कामहरूका लागि प्रसिद्ध भएकी, छोराछोरीहरूलाई ठीकसित हुर्काउने, पाहुनासत्कार गर्ने, प्रभुका सेवकहरूका पाउ धुने, विपत्तिमा परेकाहरूलाई सहायता दिने, र आफूलाई सबै किसिमका असल कामहरूमा संलग्न राख्नेको नाउँ मात्र राख।

[11] तर तरुणी विधवाहरूका नाउँ त यस्तो सूचीमा नराख; किनकि जब तिनीहरूका कामुक इच्छाहरूले ख्रीष्‍टप्रतिको तिनीहरूका समर्पणलाई जित्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्नेछन्।

[12] यसरी तिनीहरूले आफ्ना पहिलेका प्रतिज्ञा भङ्ग गरेर आफूमाथि न्याय ल्याउँछन्।

[13] यसबाहेक तिनीहरू अरूको घर-घरमा घुमिहिँड्दै अल्छे हुन सिक्छन्। अल्छे हुने मात्र होइन, तर कुरौटे, अरूको काममा हात हाल्ने र बोल्न नहुने कुराहरू बोल्नेहरू हुन्छन्।

[14] यसकारण म तरुणी विधवाहरूलाई विवाह गर्ने, बालबच्‍चा जन्माउने, आफ्ना घर सम्हाल्ने, र विरोधीलाई आफ्नो बदनामको मौका नदिने होऊन् भन्‍ने सल्‍लाह दिन्छु।

[15] किनकि कतिपय त तर्किगएर शैतानलाई पछ्याउन थालिसकेका छन्।

[16] यदि कुनै विश्‍वासी स्त्रीसँग आश्रित भएका विधवाहरू छन् भने, मण्डलीमाथि भार नपरोस् भनेर तिनीहरूलाई उसले निरन्तर सहायता दिनुपर्छ, ताकि मण्डलीले साँच्‍चै खाँचोमा परेका विधवाहरूलाई सहायता पुर्‍याउन सकोस्।

[17] मण्डलीको असल रेखदेख गर्ने प्रधानहरूलाई उचित ज्याला दिइनुपर्छ, खासगरी तिनीहरू, जो प्रचार गर्ने र शिक्षा दिने काम गर्दछन्।

[18] किनकि पवित्र धर्मशास्त्रले भन्छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “खेताला आफ्नो ज्यालाको योग्य हुन्छ।”

[19] दुई वा तीन साक्षीहरू नभएसम्म मण्डली प्रधानका विरुद्धमा लगाइएका अभियोग ग्रहण नगर्नू।

[20] तर पाप गर्ने मण्डलीका प्रधानहरूलाई सबैका सामु हप्काऊ, ताकि अरूहरूले पनि चेतावनी पाउन सकून्।

[21] परमेश्‍वर, ख्रीष्‍ट येशू र चुनिएका स्वर्गदूतहरूलाई साक्षी राखेर म तिमीलाई कडा आज्ञा दिन्छु: तिमीले यी नियमहरू विनापक्षपात पालन गर, र पूर्वाग्रही भएर केही पनि नगर।

[22] कुनै व्यक्‍तिलाई मण्डली प्रधान नियुक्‍त गर्न हतार नगर। अरूको पापमा सहभागी नहोऊ। आफूलाई शुद्ध राख।

[23] तिम्रो पेटका लागि र घरी-घरी भइरहने बिमारीहरूले गर्दा अलि-अलि दाखमद्य पिउने गर।

[24] कति मानिसहरूका पापहरू तिनीहरूका सामुन्‍ने राखिएका न्यायमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्, अरूहरूका पापहरू त पछि मात्र देखिन्छन्।

[25] यसरी नै असल कामहरू प्रत्यक्ष हुन्छन्; र गुप्‍तमा गरिएका असल कामहरू प्रत्यक्ष हुँदैनन्, र सधैंका लागि लुक्न सक्दैनन्।

1 तिमोथी — Chapters