Skip to content
Opens in a new window
Listen to this chapter • 3:53

[1] हाम्रा उद्धारकर्ता परमेश्‍वर र हाम्रा आशा ख्रीष्‍ट येशूको आज्ञाअनुसार, ख्रीष्‍ट येशूको प्रेरित पावलबाट,

[2] विश्‍वासमा मेरो साँचो छोरो तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति!

[3] म्यासिडोनिया जाँदा मैले तिमीलाई आग्रह गरेझैं, तिमी एफिससमै बस, र ती मानिसहरू, जसले झूटा शिक्षाहरू सिकाइरहेका छन्; अबदेखि नसिकाओ भनी आज्ञा देऊ।

[4] तिनीहरूले आफ्ना ध्यान दन्त्यकथाहरू र नटुङ्गिने वंशावलीहरूप्रति नदिऊन्। यस्ता कुराहरूले विश्‍वासद्वारा हुने परमेश्‍वरको कामभन्दा शङ्का-उपशङ्कालाई बढावा दिन्छ।

[5] यस आज्ञाको लक्ष्य प्रेम हो, जुन शुद्ध हृदय अनि असल विवेक र निष्कपट विश्‍वासबाट आउँछ।

[6] कतिजना त यीबाट तर्किगएर अर्थविनाका कुराहरूतिर लागेका छन्।

[7] तिनीहरू व्यवस्थाका शिक्षक हुन चाहन्छन्; तर तिनीहरू आफूले बोलेका विषयमा अथवा स्थापना गर्न खोजेका कुरा नै जान्दैनन्।

[8] हामी जान्दछौं, कि कसैले व्यवस्थालाई ठीकसित प्रयोग गर्छ भने यो असल छ।

[9] हामी यो पनि जान्दछौं, कि धर्मीहरूका निम्ति व्यवस्था बनिएको होइन, तर व्यवस्था उलङ्घन गर्नेहरू र विद्रोहीहरूका निम्ति, भक्‍तिहीन र पापीहरूका निम्ति, अपवित्र र नास्तिकहरूका निम्ति, आमाबुबा मार्नेहरूका निम्ति, हत्याराहरूका निम्ति,

[10] अनैतिक सम्बन्ध र समलिङ्गीहरूका निम्ति, मानव-तस्करहरूका निम्ति, झूट बोल्नेहरू र झूटा शपथ खानेहरूका निम्ति, र सत्य विपरीत जुनसुकै कुराहरूका निम्ति। यस्तै मानिसहरूका निम्ति व्यवस्था दिइएको हो।

[11] अनि मलाई सुम्पिएको सत्य सिद्धान्त परमधन्य परमेश्‍वरको महिमित सुसमाचारअनुसार छ।

[12] म हाम्रा ख्रीष्‍ट येशू प्रभुलाई धन्यवाद चढाउँछु, जसले मलाई सक्षम् तुल्याउनुभयो। मलाई विश्‍वासयोग्य ठान्‍नुभयो र उहाँको सेवामा नियुक्‍त गर्नुभयो।

[13] यद्यपि विगतमा म ईश्‍वरनिन्दक, खेदो गर्ने र हिंसा गर्ने व्यक्‍ति थिएँ। ममाथि कृपा गरियो; किनकि मैले ती अज्ञानता र अविश्‍वासमा गरेको थिएँ।

[14] ख्रीष्‍ट येशूमा भएका विश्‍वास र प्रेमका साथ हाम्रा प्रभुको अनुग्रह ममाथि प्रशस्त गरी खन्याइयो।

[15] यो भनाइ विश्‍वासयोग्य र पूर्ण रूपमा ग्रहणयोग्य छ: ख्रीष्‍ट येशू संसारमा पापीहरूलाई बचाउन आउनुभयो। जसमध्ये म सबैभन्दा खराब हुँ।

[16] उहाँमाथि विश्‍वास गर्नेहरू जतिले अनन्त जीवन पाऊन् भनेर एउटा नमुनास्वरूप ख्रीष्‍ट येशूले आफ्नो असीम धैर्य देखाईकन मजस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनुभयो।

[17] अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्‍वरलाई सदा-सर्वदा आदर र महिमा भइरहोस्। आमेन!

[18] हे मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु। तिम्रो विषयमा एकपल्ट बोलिएको अगमवाणीअनुसार चलेर असल युद्ध लड्न सक।

[19] विश्‍वास र असल विवेक समातिराख। कतिले यी कुराहरू त्यागेर आफ्ना विश्‍वासको जहाज डुबाइदिएका छन्।

[20] तीमध्ये हुमेनियस र अलेक्जेन्डर हुन्, जसलाई ईश्‍वरनिन्दा नगरून् भनी मैले शैतानको हातमा सुम्पेको छु।

1 तिमोथी — Chapters