Skip to content
Opens in a new window
Listen to this chapter • 3:23

[1] अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रो लागि प्रार्थना गरिदेओ, यसकारणले कि प्रभुको सन्देश तीव्रतासाथ फैलिओस् र तिमीहरूका माझमा पुगेझैं सबैतिर महिमित भएको होस्।

[2] सबैजना विश्‍वासी हुँदैनन्, त्यसले हामी दुष्‍ट र खराब मानिसहरूको हातबाट उम्कन सकौं भनेर प्रार्थना गरिदेओ।

[3] तर प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट सुरक्षा गर्नुहुनेछ।

[4] हाम्रा प्रभुमा हामी निश्‍चित छौं, कि हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ।

[5] प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम र ख्रीष्‍टको धैर्यतामा डोर्‍याऊन्।

[6] हे दाजुभाइ-दिदीबहिनीहरूहो, प्रभु येशू ख्रीष्‍टको नाउँमा, हामी तिमीहरूलाई आज्ञा गर्दर्छौं, कि जो विश्‍वासी अल्छे छ, बाधा पुर्‍याउने गर्छ; र हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्‍वासीबाट अलग बस।

[7] किनकि तिमीहरूले हाम्रो नमुना कसरी लिनुपर्छ, सो तिमीहरू आफैलाई थाहा छ। हामी तिमीहरूसँग हुँदा अल्छे थिएनौं,

[8] न त हामीले सित्तैंमा कसैको खाना नै खायौं। यसको विपरीत हामी तिमीहरू कसैको भार नबनौं भनेर दिनरात कडा परिश्रमका साथ काम गर्‍यौं।

[9] हामीलाई यस्तो सहायता पाउने हक नभएर होइन, तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर तिमीहरूका निम्ति हामीले आफूलाई नमुना बनाउन यसो गरेका हौं।

[10] किनकि जब हामी तिमीहरूसँग थियौं, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “यदि कुनै मानिसले काम गर्दैन भने त्यसले नखाओस्।”

[11] तिमीहरूमध्ये केही अल्छे छन्, र बाधा पुर्‍याउने गर्छन् भनी हामी सुन्छौं। तिनीहरू आफै त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्।

[12] यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्‍टमा आज्ञा दिन्छौं र विन्ती गर्छौं, कि तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफै जुटाऊन्।

[13] अनि दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू भलाइ गर्नमा कहिल्यै थकित नहोओ।

[14] यदि कसैले यस पत्रमा हामीले लेखेका निर्देशन पालन गर्दैन भने त्यसलाई चिनिराख र तिनीहरूसँग सम्बन्ध नराख, ताकि तिनीहरू आफै शर्ममा परून्।

[15] तापनि तिनीहरूलाई शत्रुजस्तो व्यवहार नगर, तर सङ्गी विश्‍वासीलाई जस्तै तिनीहरूलाई चेतावनी देओ।

[16] अब शान्तिका प्रभु आफैले हर समयमा र हर किसिमले तिमीहरूलाई शान्ति दिऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्।

[17] म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। योचाहिँ मेरा सबै पत्रहरूको प्रमाण हो। यसरी नै म लेख्छु।

[18] हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहिरहोस्।

2 थेसलोनिकी — Chapters