Skip to content
Opens in a new window
Listen to this chapter • 4:24

[1] म येशू ख्रीष्‍टमा साँचो भन्‍दछु । म ढाँट्‌दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्‍छ,

[2] कि मेरो लागि मेरो हृदयमा असाध्‍य कष्‍ट र अटुट पीडा छ ।

[3] म इच्‍छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैचाहिं श्रापित होऊँ र ख्रीष्‍टबाट अलग गरिऊँ ।

[4] तिनीहरू इस्राएलीहरू हुन् । धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्‍वरको आराधना र प्रतिज्ञाहरू उनीहरूकै हुन् ।

[5] ख्रीष्‍टको शरीरअनुसार ख्रीष्‍ट आउनुभएका पुर्खाहरू तिनीहरूकै हुन् । उहाँ नै सबैका परमेश्‍वर हुनुहुन्‍छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन ।

[6] तर यो परमेश्‍वरका प्रतिज्ञाहरू चुकेको जस्‍तो होइन, किनकि इस्राएलका सबै साँचो रूपमा इस्राएलका होइनन् ।

[7] न त अब्राहामका सबै सन्‍तानहरू साँचो रूपमा उनका सन्‍तानहरू नै हुन् । तर, “इसहाकबाट नै तेरा सन्‍तानहरू गनिनेछन् ।”

[8] अर्थात् शरीरबाट जन्‍मेका सन्‍तानहरू परमेश्‍वरका सन्‍तानहरू होइनन् । तर प्रतिज्ञाका सन्‍तानहरू नै सन्‍तानहरूका रूपमा गनिन्‍छन् ।

[9] किनकि प्रतिज्ञाको वचन यही हो, “म यही समयमा आउनेछु र सारालाई एउटा छोरो दिइनेछ ।”

[10] यति मात्र होइन, तर रिबेका पनि एक जना व्यक्‍ति अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि–

[11] किनकि सन्‍तानहरू अझ जन्‍मेका थिएनन् र उनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्‍वरको उद्देश्य कर्महरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस् भनेर

[12] तिनलाई यसो भनियो, “जेठोले कान्‍छोको सेवा गर्नेछ ।”

[13] जस्‍तो लेखिएको थियो, “मैले याकूबलाई प्रेम गरें , तर एसावलाई घृणा गरें ।”

[14] त्‍यसो हो भने, हामी के भनौं त ? के परमेश्‍वरसित अधार्मिकता छ त ? कहिल्यै यस्तो नहोस् ।

[15] किनकि उहाँ मोशालाई भन्‍नुहुन्‍छ, “जसमाथि म दया देखाउन चाहन्‍छु, त्‍यसमाथि म दया देखाउँछु, र जसमाथि म करुणा देखाउन चाहन्‍छु, त्‍यसमाथि म करुणा देखाउँछु ।”

[16] त्‍यसैले, यो इच्‍छा गर्नेको कारणले होइन, न त दौडनेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्‍वरको कारणले नै हो ।

[17] किनकि धर्मशास्‍त्रले फारोलाई भन्‍छ, “यही उद्देश्यको निम्ति मैले तँलाई खडा गरें , ताकि मैले तँमा मेरो शक्‍ति प्रदर्शन गर्न सकूँ, र सारा पृथ्वीमा मेरो नाउँ घोषणा गरियोस् ।”

[18] त्‍यसैले, परमेश्‍वरले जसलाई इच्‍छा गर्नुहुन्‍छ त्‍यसलाई दया गर्नुहुन्‍छ र जसलाई इच्‍छा गर्नुहुन्‍छ त्‍यसलाई कठोर पनि बनाउनुहुन्‍छ ।

[19] तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले अझै किन दोष लगाउनुहुन्‍छ? किनकि उहाँको इच्छालाई कसले विरोध गर्न सक्छ ?”

[20] त्‍यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ ? के ढालेर बनाएको वस्तुले आफूलाई बनाउनेलाई यसो भन्‍छ, “तिमीले मलाई किन यस्तो बनाएको ? ”

[21] के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति प्रयोग गरिने भाँडो र दैनिक प्रयोगको निम्ति प्रयोग गरिने भाँडो बनाउने अधिकार हुँदैन र ?

[22] परमेश्‍वरले नै उहाँको क्रोध प्रकट गर्न र विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहिरहने इच्‍छा गरिरहनुभएको छ भने के त ?

[23] यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको कृपा-पात्रहरूलाई आफ्नो महिमा प्रकट गर्न यसो गर्नुभयो

[24] - यदि उहाँले यो हाम्रो निम्ति अर्थात् यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट बोलाउनुभएकाहरूका निम्ति यो गर्नुभएको हो भने के भयो त ?

[25] जसरी उहाँ होशेको पुस्तकमा भन्‍नुहुन्‍छ, “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु, र जसलाई मैले प्रेम गरेको थिइनँ, त्यसलाई म प्रिय भन्‍नेछु ।

[26] र त्‍यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई भनियो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’, त्‍यहाँ तिनीहरू ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछन् ।”

[27] यशैया इस्राएलको विषयमा भन्‍छन्, “यदि इस्राएलका सन्‍तानहरूको सङ्ख्या समुद्रको बालुवाजत्तिकै थिए भने बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ ।

[28] किनभने प्रभुले आफ्नो वचन पृथ्वीमा चाँडै र पूर्ण रूपमा पुरा गर्नुहुनेछ,

[29] अनि यशैयाले अगाडि नै भने, “यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्‍तानहरू छोड्नुभएको थिएन भने, हामी सदोम र गमोराजस्ता हुने थियौं ।”

[30] त्‍यसो भए, हामी के भनौं त ? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्‍वासद्वारा आउने धार्मिकता प्राप्‍त गरे ।

[31] तर इस्राएलीहरू, जो व्यवस्थाको धार्मिकताको पछि लागे, तिनीहरू यसमा आइपुगेनन् ।

[32] किन पाएनन् त ? किनकि तिनीहरूले विश्‍वासद्वारा खोजेनन्, तर कर्मद्वारा खोजे । तिनीहरू ठेस लाग्‍ने ढुङ्‌गामा ठेस खाए,

[33] जस्‍तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्‍ने ढुङ्‌गा र चोट लाग्‍ने चट्टान राख्‍दै छु । जसले यसमा विश्‍वास गर्छ त्‍यो लज्‍जित हुनेछैन ।”

रोमीहरूलाई पावलको पत्र — Chapters