Skip to content
Opens in a new window
Listen to this chapter • 3:03

[1] बहसहरूको बारेमा न्‍याय नगरीकनै विश्‍वासमा कमजोर हुनेलाई ग्रहण गर ।

[2] एक जनासँग कुनै पनि थोक खाने विश्‍वास हुन्‍छ, अर्को जो कमजोर छ, त्‍यसले सागसब्जी मात्र खान्‍छ ।

[3] सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस् । अनि सबै थोक नखानेले सबै थोक खानेको न्‍याय नगरोस् । किनकि उसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ ।

[4] अरूको नोकरको न्‍याय गर्ने तिमी को हौ ? यो त्‍यसको मालिकको सामु नै खडा हुन्‍छ वा पतन हुन्‍छ । तर त्‍यसलाई खडा गराइनेछ, किनकि प्रभु त्‍यसलाई खडा गराउन सक्षम हुनुहुन्‍छ ।

[5] एक जनाले कुनै दिनलाई अर्को भन्‍दा मूल्यको मान्‍छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्‍छ । हेरक आ-आफ्नै मनमा विश्‍वस्त होस् ।

[6] जसले कुनै दिन पालन गर्छ, त्‍यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्‍छ, त्‍यसले प्रभुकै निम्ति खान्‍छ, किनकि त्‍यसले परमप्रभुलाई धन्‍यवाद दिन्‍छ । जसले खाँदैन, त्‍यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्‍छ ।

[7] किनकि हामी कोही पनि आफ्नै लागि जिउँदैनौं र कोही पनि आफ्नै निम्ति मर्दैनौं ।

[8] किनकि यदि हामी जिउँछौं भने, प्रभुकै निम्ति जिउँछौं र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्‍यसैले, हामी चाहे जिऔँ वा मरौं, हामी प्रभुकै हौं ।

[9] यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।

[10] तर तिमीहरू किन आफ्नो भाइको न्‍याय गर्छौ ? अनि तिमी किन आफ्नो भाइलाई तुच्‍छ ठान्‍छौ ? किनकि हामी सबै परमेश्‍वरको न्‍याय आसनको सामु खडा हुनेछौं ।

[11] किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्‍नुहुन्‍छ, “ जस्‍तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ ।”

[12] यसैले, हामी हरेकले परमेश्‍वर स्वयम्‌लाई लेखा दिनुपर्नेछ ।

[13] यसकारण, एक-अर्काको न्‍याय नगरौं, तर बरु, यो अठोट गरौं, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौं ।

[14] म यो जान्‍दछु र म प्रभु येशूमा विश्‍वास गर्दछु, कि कुनै पनि थोक आफै अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्‍छ, त्‍यसको निम्ति मात्र यो अशुद्ध हुनेछ ।

[15] यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्‍यसलाई तिम्रो खानाले नष्‍ट नपार ।

[16] यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् ।

[17] किनकि परमेश्‍वरको राज्‍य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्‍ति र आनन्‍दबारे हो ।

[18] किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्‍छ ।

[19] यसैले, शान्‍तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ ।

[20] खानाको कारणले परमेश्‍वरको कामलाई नष्‍ट नगर । वास्तवमा सबै थोक शुद्ध छन्, तर जसले खान्‍छ र त्‍यसलाई ठेस खान लगाउँछ, त्‍यसको निम्ति यो दुष्‍टता हो ।

[21] मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्‍याउने कुनै पनि कुरा नगर्नु असल हो ।

[22] तिमीसँग यी विशेष विश्‍वासहरू छन्, तिनीहरूलाई आफू र परमेश्‍वरको बीचमा नै राख । आफै मञ्‍जुर भएको कुरामा आफैलाई दोषी नतुल्याउने मानिस धन्‍यको हो ।

[23] जसले शङ्‌का गरेर खान्‍छ, यो विश्‍वासबाट नभएको हुनाले त्‍यो दोषी ठहरिन्‍छ । अनि जे विश्‍वासबाट आएको होइन, त्‍यो पाप हो ।

रोमीहरूलाई पावलको पत्र — Chapters