Skip to content
Opens in a new window
Listen to this chapter • 2:16

[1] हरेक व्यक्‍ति उच्‍च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन् ।

[2] यसकारण, जसले उक्‍त अधिकारीहरूको प्रतिरोध गर्छ, त्‍यसले परमेश्‍वरको विरोध गर्दछ; जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैमाथि न्‍याय गर्छन् ।

[3] असल कामहरूका निम्ति होइन, तर दुष्‍ट कामहरूका निम्ति शासकहरूको डर मानिन्‍छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्‍छा गर्छौ ? जे असल छ त्‍यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ ।

[4] किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्‍वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्‍यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्‍वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति हुन् ।

[5] यसकारण, क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ ।

[6] तसर्थ, तिमी कर पनि तिर्छौ । अधिकारीहरू यिनै कुराहरूको निरन्‍तर रूपमा हेरचाह गर्ने परमेश्‍वरका सेवकहरू हुन् ।

[7] तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्‍नुपर्नेको डर मान; जसको इज्‍जत गर्नुपर्ने हो, उसको इज्‍जत गर ।

[8] एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्‍यसले व्यवस्था पालना गरेको हुन्‍छ ।

[9] किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्‍या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्‍छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर ।”

[10] प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन । त्‍यसकारण, प्रेममा नै व्यवस्था पुरा हुन्‍छ ।

[11] यसकारण, तिमीहरूले समय जान्‍दछौ, निन्‍द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ । किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्‍ति अझ नजिक छ ।

[12] रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्‍यसकारण, अन्धकारका कामहरू त्‍यागौँ, र ज्‍योतिका हातहतियार धारण गरौं ।

[13] उद्दण्ड उत्सवहरू वा मतवालीपनमा होइन, दिनमा जस्‍तै उचित तवरले हिडौँ । अनि यौन अनैतिकता वा अनियन्‍त्रित कामवासनामा नहिँडौँ, न त झगडा र ईर्ष्यामा नै हिँडौँ ।

[14] तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ ।

रोमीहरूलाई पावलको पत्र — Chapters