Skip to content
Opens in a new window
Listen to this chapter • 4:14

[1] यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्‍याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफै पनि त्‍यसैमा दोषी ठहराइन्‍छौ । किनकि तिमी न्‍याय गर्नेले पनि त्‍यही कुराहरू गर्छौ ।

[2] तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्‍याय हुँदा सत्‍यताअनुसार हुन्‍छ भनी हामी जान्‍दछौं ।

[3] तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैले पनि त्‍यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्‍याय गर्छौ । के तिमी परमेश्‍वरको इन्साफबाट उम्कनेछौ र ?

[4] अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्‍छ ठन्‍छौ ? के उहाँको भलाइ तिमीहरूलाई पश्चातापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्‍दैनौ ?

[5] तर तिमीहरूको कठोर र अपश्चातापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्‍याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।

[6] परमेश्‍वरले हरेकलाई त्‍यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः

[7] अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्‍त जीवन दिनुहुनेछ ।

[8] तर आफ्नै मात्र भलाइ खोज्‍ने, सत्‍यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्‌कर रिस आइपर्नेछ ।

[9] परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्‌कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रीकहरूमाथि ।

[10] तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रीकहरूमाथि ।

[11] किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न ।

[12] किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्‍याय गरिनेछन् ।

[13] किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् ।

[14] किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफै नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन ।

[15] यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्‍छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैलाई दोष दिन्‍छ कि प्रतिरक्षा गर्छ ।

[16] अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्‍छ । त्‍यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।

[17] मानौं, व्यवस्थामाथि भर परेर तिमी आफैलाई यहूदी भन्‍छौ, परमेश्‍वरमा गर्वका साथ रमाउँछौ,

[18] उहाँको इच्‍छा जान्‍दछौ र व्यवस्थाका शिक्षा पाएर त्‍यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ ।

[19] मानौं, कि तिमी आफै अन्धाहरूका अगुवा हौ, र अन्धकारमा हुनेहरूका निम्ति ज्‍योति हौ,

[20] मूर्खलाई सुधार गर्ने, अपरिपक्वहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्‍यताको स्वरूप व्यवस्थामा छ ।

[21] अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिं सिकाउँदैनौ ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ ?

[22] तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ ?

[23] तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्‌घन गरेर परमेश्‍वरको अपमान गर्छौ ?

[24] किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका बिचमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।”

[25] यदि तिमीहरूले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीहरूलाई लाभ दिन्‍छ, तर यदि तिमीहरू व्‍यवस्‍था भङ्‌ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्‍छ ।

[26] यदि बेखतना भएको व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र ?

[27] यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छन् भने के त्‍यसले तिमीहरूलाई दोषी ठहराउँदैनन् र ? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्‌घन गर्ने भएकाले यसो भएको हो ।

[28] किनकि त्‍यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो ।

[29] तर त्‍यही यहूदी हो जो भित्री रूपमा यहूदी हो र अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो । यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्‍वरबाट आउँछ ।

रोमीहरूलाई पावलको पत्र — Chapters