Skip to content
Opens in a new window
Listen to this chapter • 4:40

[1] अब हामी जो बलिया छौं, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैलाई मात्र खुसी पार्नु हुँदैन ।

[2] जे असल छ त्‍यसको निम्ति त्‍यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस् ।

[3] किनकि ख्रीष्‍टले पनि उहाँ आफैलाई खुसी पार्नुभएन । बरु, यो लेखिएको जस्‍तै थियो, “तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्‍यो ।”

[4] किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्‍त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस् ।

[5] अब धैर्य र उत्साहका परमेश्‍वरले ख्रीष्‍ट येशूअनुसार तिमीहरू एक-अर्कासँग एकै मनको हुन दिऊन् ।

[6] उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टको पिताको प्रशंसा गर्न सक ।

[7] त्‍यसकारण, प्ररमेश्‍वरको प्रशंसाको निम्ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभए झैं तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर ।

[8] म भन्‍छु, कि परमेश्‍वरको सत्‍यताको तर्फबाट ख्रीष्‍टलाई खतनाको एक सेवक बनाइएको छ । उहाँले यसो गर्नुभयो, ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्‍का गर्न,

[9] अनि गैरयहूदीहरूका निम्ति परमेश्‍वरको दयाको निम्ति उहाँको महिमा गर्न सक्‍नुभएको होस् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।”

[10] यसले फेरि भन्‍छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्‍द मनाओ ।”

[11] अनि फेरि पनि “हे सबै गैरयहूदी हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”

[12] यशैया फेरि भन्‍छन्, “त्‍यहाँ यिशैको जरा हुनेछ र एक जना जसले गैरयहूदीहरूमाथि शासन गर्नुहुनेछ । गैरयहूदीहरूले उहाँमा भरोसा गर्नेछन् ।

[13] अब भरोसाका परमेश्‍वरले विश्‍वास गर्नको निम्ति तिमीहरूलाई आनन्‍द र शान्‍तिले भरून्, ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन् ।

[14] मेरा भाइहरू हो, म आफै पनि तिमीहरूको बारेमा विश्‍वस्त छु । म विश्‍वस्त छु, कि तिमीहरू आफै पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्‍वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।

[15] तर मलाई परमेश्‍वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु ।

[16] यो वरदानचाहिं पूजाहारीको रूपमा परमेश्‍वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्‍ट येशूको सेवक बन्‍नुपर्छ भन्‍ने थियो । मैले यो गर्नुपर्छ, ताकि पवित्र आत्माद्वारा परमेश्‍वरलाई अर्पण गरिएको गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् ।

[17] त्‍यसैले, मेरो आनन्‍द ख्रीष्‍ट येशू र परमेश्‍वरका कुराहरूमा छ ।

[18] किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पुरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा,

[19] चिन्हहरू र चमत्कारहरूको शक्‍तिद्वारा अनि पवित्र आत्माको शक्‍तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो ।

[20] यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्‍छा भएको छ, तर ख्रीष्‍टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरौं ।

[21] जस्‍तो लेखिएको छ, “जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्‍नेछन्, अनि जसले उहाँको समाचार सुनेका छैनन्, तिनीहरूले बुझ्‍नेछन् ।”

[22] यसकारण, तिमीहरूकहाँ आउन मलाई धेरै पल्ट रोकिएको छ ।

[23] तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु ।

[24] त्‍यसैले, जब म स्पेन जान्‍छु, त्‍यहाँ जाँदै गर्दा म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्‍द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा पठाइने आशा गर्छु ।

[25] तर अहिले म विश्‍वासीहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु ।

[26] किनकि यरूशलेमका विश्‍वासीहरूमध्‍ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको शुभेच्‍छा थियो ।

[27] हो, यो तिनीहरूको शुभेच्‍छा थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।

[28] यसकारण, जब म यो काम पुरा गर्छु र तिनीहरूलाई यो फल आधिकारिक रूपमा दिन्‍छु, म तिमीहरूको बाटो हुँदै स्पेन जानेछु ।

[29] म जान्‍दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्‍टको आशिष्‌को पूर्णतामा‌ आउनेछु ।

[30] भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्‍ती गर्छु, कि मेरो निम्ति परमेश्‍वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग सङ्‌घर्ष गर ।

[31] यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा विश्‍वासीहरूलाई ग्रहणयोग्य हुन सकोस् ।

[32] प्रार्थना गर, कि म परमेश्‍वरको इच्‍छाद्वारा तिमीहरूकहाँ आनन्‍दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।

[33] शान्‍तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून् । आमेन !

रोमीहरूलाई पावलको पत्र — Chapters