Skip to content
Opens in a new window
Listen to this chapter • 5:15

[1] त्‍यसो भए म भन्‍छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त ? किनकि म पनि अब्राहामका सन्‍तान, बेन्‍यामीन कुलका एक इस्राएली हुँ ।

[2] परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍त्रले के भन्‍छ अर्थात् तिनले इस्राएलको बारेमा परमेश्‍वरसँग कसरी बिन्‍ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ?

[3] “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म मात्र छोडिएको छु, र तिनीहरूले मेरो पनि ज्‍यान लिन खोजी गरिरहेका छन् ।”

[4] तर परमेश्‍वरको जवाफले तिनलाई के भन्‍छ ? “बाल देवतासामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मेरो निम्ति साँचेर राखेको छु ।”

[5] त्‍यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।

[6] तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह अनुग्रह नै हुने थिएन । (नोटः केही पुरानो प्रतिलिपिमा यस्तो छ, तर यदि यो कर्महरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्र कर्म हुँदै हुँदैन ।)

[7] त्‍यसो भए के त ? इस्राएलले जे खोजिरहेको थियो, यसले पाएन, तर चुनिएकाहरूले त्‍यो पाए र बाँकी रहेकाहरूलाई चाहिं कठोर बनाइयो ।

[8] जस्‍तो लेखिएको छ, “परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।”

[9] अनि दाऊद भन्‍छन्, “तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस् ।

[10] तिनीहरूका आँखा अँध्‍यारो होस्, ताकि तिनीहरूले नदेखून् । तिनीहरूका ढाड सधैं कुप्रो होस् ।”

[11] त्‍यसो भए म भन्‍छु, “के तिनीहरू पतन हुनका लागि ठक्‍कर खाएका हुन् ?” त्‍यस्तो कहिले नहोस् । बरु, तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैरयहूदीहरूकहाँ मुक्‍ति आएको छ ।

[12] अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो र यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति लाभ हो भने, तिनीहरूको पूर्णता झनै कति ठुलो हुन्‍छ होला ?

[13] अनि अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु । जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्‍छु, म मेरो सेवा-कार्यमा गर्व गर्छु ।

[14] शायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु । शायद हामीले तिनीहरूमध्‍ये केहीलाई बचाउनेछौं ।

[15] किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र ?

[16] यदि अगौटे फलहरूलाई बचाएर राखिन्‍छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्‍यसै गरिन्‍छ । यदि जरालाई बचाएर राखिन्‍छ भने हाँगाहरूलाई पनि त्‍यसै गरिन्‍छ ।

[17] तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्‌गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतूनको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने

[18] हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ ।

[19] तब तिमीले भन्‍नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।”

[20] त्‍यो सत्‍य हो । तिनीहरूको अविश्‍वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासले खडा छौ । आफैलाई अति उच्‍च नठान, तर भय मान ।

[21] किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।

[22] तब परमेश्‍वरको दयाका कामहरू र कठोरतालाई हेर । एकातिर, पतन भएका यहूदीहरूमाथि परमेश्‍वरको कठोरता आइपर्‍यो । तर अर्कोतिर, यदि तिमीहरू उहाँको भलाइमा लागिरह्यौ भने तिमीहरूमाथि परमेश्‍वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ ।

[23] अनि त्‍यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् ।

[24] यदि तिमीहरू स्वभावैले जङ्‌गली जैतूनबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन् ?

[25] किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिं गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।

[26] त्‍यसैले, सबै इस्राएली बचाइनेछन् जस्‍तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ ।

[27] अनि तिमीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”

[28] एकातिर, सुसमाचारको सम्बन्धमा तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन् । अर्कोतिर, परमेश्‍वरको चुनाउअनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन् ।

[29] किनकि परमेश्‍वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्‍छन् ।

[30] किनकि तिमीहरू पहिला परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्‍त गरेका छौ ।

[31] त्‍यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्‍त गर्न सकून् ।

[32] किनकि परमेश्‍वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्‍द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्‍नुभएको होस् ।

[33] ओहो ! परमेश्‍वरका बुद्धि र ज्ञान दुवै कति गहन ! उहाँका न्‍यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्‍न नै नसकिने छन् !

[34] “किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ र ? अथवा उहाँको सल्लाहकार को भएको छ र ?

[35] अथवा कसले परमेश्‍वरलाई पहिले कुनै कुरा दिएको छ, ताकि त्‍यसलाई यो फर्काइयोस् ?”

[36] किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।

रोमीहरूलाई पावलको पत्र — Chapters