Skip to content
Opens in a new window
Listen to this chapter • 7:04

[1] यसकारण अब ख्रीष्‍ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन।

[2] किनकि जीवन दिनुहुने परमेश्‍वरको आत्माको व्यवस्थाले ख्रीष्‍ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ।

[3] किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्‍वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो,

[4] ताकि शारीरिक स्वभावअनुसार होइन, तर परमेश्‍वरको आत्माअनुसार जिउने हामीमा, व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्।

[5] शारीरिक स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्‍वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्।

[6] किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्‍वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो।

[7] शारीरिक स्वभावद्वारा शासन गरिएको मन परमेश्‍वरको विरुद्धमा हुन्छ; त्यो परमेश्‍वरको व्यवस्थाको अधीनमा हुँदैन, न त हुन नै सक्छ।

[8] शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्दैनन्।

[9] यदि वास्तवमा परमेश्‍वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शारीरिक स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा नियन्त्रित हुन्छौ। यदि कसैसँग ख्रीष्‍टको आत्मा छैन भने तिनीहरू ख्रीष्‍टका हुनै सक्दैनन्।

[10] तर यदि तिमीहरूसँग ख्रीष्‍ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको भए तापनि धार्मिकताले गर्दा आत्माले तिमीहरूलाई जीवन दिनुहुन्छ।

[11] अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्‍वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रीष्‍टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ।

[12] यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका शारीरिक स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ।

[13] किनकि यदि तिमीहरू शारीरिक स्वभावअनुसार जिउँछौ भने तिमीहरू मर्नेछौ; तर यदि आत्माद्वारा तिमीहरूले शरीरका दुष्‍ट कामलाई मृत तुल्यायौ भने तिमीहरू बाँच्नेछौ।

[14] किनकि तिनीहरू, जो परमेश्‍वरका आत्माले डोर्‍याइएका छन्, तिनीहरू परमेश्‍वरका सन्तान हुन्।

[15] किनभने तिमीहरूलाई फेरि डरमा डोर्‍याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्‍वरलाई “अब्बा, पिता” भनी पुकार्दछौँ।

[16] परमेश्‍वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्‍वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ।

[17] यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ। परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग सह उत्तराधिकारी पनि हौँ। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौँ भने उहाँको महिमामा पनि सहभागी हुनेछौँ।

[18] म विचार गर्दछु, यस वर्तमानका हाम्रा कष्‍टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन।

[19] किनकि सृष्‍टिले बडो उत्सुकतासाथ परमेश्‍वरका सन्तानहरू प्रकट हुन् भनी प्रतीक्षा गरिरहेको छ।

[20] किनकि सृष्‍टिलाई श्राप पर्‍यो, यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनमा राख्नुभयो, यस आशामा,

[21] कि सृष्‍टि स्वयम् पनि विनाशको दासत्वबाट मुक्त भएर परमेश्‍वरका सन्तानका महिमित स्वतन्त्रता प्राप्‍त गर्न सकोस्।

[22] हामी जान्दछौँ, सारा सृष्‍टि अहिलेसम्म प्रसव पीडामाझैँ छटपटिरहेको छ।

[23] त्यति मात्र होइन, तर हामी पनि, जोसँग पवित्र आत्माको पहिलो फल छ, धर्मपुत्रका रूपमा ग्रहण गराइन हाम्रो शरीरको उद्धारको निम्ति प्रतीक्षा गर्दै उत्कट इच्छाका साथ भित्रीरूपमा छटपटिरहेका छौँ।

[24] यही आशामा हामीले मुक्ति पाएका छौँ। तर देखिने आशा, त्यो आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र?

[25] तर यदि हामीले जे प्राप्‍त गरेका छैनौँ, त्यस कुराको हामी आशा गर्छौँ भने त, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौँ।

[26] यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ।

[27] परमेश्‍वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ; उहाँले आत्माका विचार जान्‍नुहुन्छ; किनभने पवित्र आत्माले परमेश्‍वरका सन्तहरूका निम्ति परमेश्‍वरको इच्छाअनुसार बिन्ती गरिदिनुहुन्छ।

[28] हामी जान्दछौँ, परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ।

[29] किनकि परमेश्‍वरले जसलाई पहिल्यैबाट जान्‍नुभएको थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन पूर्वनियुक्त गर्नुभयो, ताकि धेरै दाजुभाइ-दिदीबहिनीहरूमध्ये उहाँचाहिँ जेठो ठहरिऊन्।

[30] जसलाई उहाँले पूर्वनियुक्त गर्नुभयो, उनीहरूलाई बोलाउनु पनि भयो; जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई धर्मी पनि ठहराउनुभयो। जसलाई उहाँले धर्मी ठहराउनुभयो, उनीहरूलाई महिमित पनि पार्नुभयो।

[31] अब हामी यी कुराहरूको बारेमा के भनौँ त? यदि परमेश्‍वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र?

[32] जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो। के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्‍न र?

[33] परमेश्‍वरले जसलाई चुन्‍नुभएको छ, उनीहरूलाई कसले दोष लगाउन सक्छ? परमेश्‍वरले मात्रै उनीहरूलाई धर्मी ठहराउनुहुन्छ।

[34] त्यसो हो भने दोष लगाउने को हो त? कोही छैन; ख्रीष्‍ट येशू, जो मर्नुभयो; त्यसभन्दा बढी उहाँ मरेकाबाट पुनर्जीवित हुनुभयो। उहाँ, जो परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। अनि हाम्रा निम्ति अन्तर्बिन्ती गरिरहनुभएको छ।

[35] हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्‍टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले?

[36] यस्तो लेखिएको छ: “तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।”

[37] होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूले भन्दा पनि अझ बढी विजय पाएका छौँ।

[38] किनकि म निश्‍चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्‍ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले,

[39] न कुनै उचाइले, न गहिराइले, न त सृष्‍टिमा कुनै चीजले ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।

रोमी — Chapters