Skip to content
Opens in a new window
Listen to this chapter • 3:14

[1] यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरको कृपाद्वारा म बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरलाई मनपर्दो जिउँदो बलिदानको रूपमा अर्पण गर; यही तिम्रो साँचो र व्यवस्थित आराधना हो।

[2] यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्‍वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ।

[3] किनकि परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई ठूलो नठान, तर परमेश्‍वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्‍वासअनुसार नै आफूलाई शान्त भएर जाँच।

[4] किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन,

[5] त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्‍टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ।

[6] हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्‍न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने त्यसले आफ्नो विश्‍वासअनुसार अगमवाणी गरोस्।

[7] यदि सेवा गर्ने वरदान छ भने त्यसले सेवा गरिरहोस्; यदि शिक्षा दिने हो भने त्यसले शिक्षा दिइरहोस्;

[8] यदि उत्साह दिने हो भने त्यसले उत्साह दिइरहोस्; यदि दान दिने वरदान हो भने उदारतासाथ देओस्; यदि अगुवाइ गर्ने वरदान हो भने परिश्रमसाथ अगुवाइ गरोस्; यदि कृपा देखाउने हो भने प्रसन्‍नतासाथ कृपा देखाओस्।

[9] प्रेम निष्कपट हुनुपर्छ। दुष्‍टतालाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो।

[10] एक-अर्कालाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर।

[11] कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो।

[12] आशामा आनन्दित होओ; सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा विश्‍वासयोग्य होओ।

[13] खाँचोमा परेका परमेश्‍वरका जनहरूसँग बाँडचुँड गर, र पाहुनासत्कार कायम राख।

[14] तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; तिनीहरूलाई आशिष् देओ, श्राप होइन।

[15] आनन्द गर्नेहरूसँग आनन्दित होओ, र रुनेहरूसँग रोओ।

[16] एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैँलाई बुद्धिमानी नसम्झ।

[17] कसैसँग दुष्‍टताको बदला दुष्‍टता नगर। सबैका दृष्‍टिमा जे असल छ, त्यही गर्न ध्यान देओ।

[18] सम्भव भएसम्म तिमीहरू सबैसँग शान्तिमा बस।

[19] मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्‍वरको क्रोधका लागि छोडिदेओ। किनकि यसरी लेखिएको छ: “बदला लिने काम मेरो हो, म बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्छ।

[20] तर यसको सट्टामा: “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खाना देओ; यदि ऊ तिर्खाएको छ भने पिउनलाई केही देओ। यसो गर्‍यौ भने तिमीले त्यसको थाप्लोमा आगोको भुङग्रो राखे बराबर हुनेछ।”

[21] खराबीद्वारा पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

रोमी — Chapters