[1] अब शरीरअनुसार हाम्रा पुर्खा अब्राहामको बारेमा के भनौँ त, उनले यस सम्बन्धमा के बुझे त?
[2] यदि अब्राहाम आफ्ना कामले धर्मी ठहराइएका भए उनले यसको घमण्ड गर्न सक्थे, तर परमेश्वरको अगि त होइन।
[3] धर्मशास्त्रले के भन्दछ? “अब्राहामले परमेश्वरलाई विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।”
[4] काम गर्नेले पाउने ज्याला उसलाई उपहारको रूपमा दिइँदैन, तर हकको रूपमा दिइन्छ।
[5] तथापि जसले काम गर्दैन, तर अधर्मीलाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि विश्वास गर्छन् भने तिनीहरूको विश्वास धार्मिकता गनिन्छ।
[6] कामविना नै परमेश्वरले धर्मी ठहराउनुहुने मानिसका बारेमा दावीदले पनि धन्यको भन्दछन्:
[7] “तिनीहरू धन्य हुन्, जसका अपराधहरू क्षमा भएका छन्, जसका पापहरू ढाकिएका छन्।
[8] त्यो मानिस धन्यको हो, जसको पापको लेखा प्रभुले कहिल्यै राख्नुहुन्न।”
[9] के यो आशिष् केवल खतनावालहरूका निम्ति मात्र हो कि खतना नभएकाहरूका निम्ति पनि हो? हामीले भन्दै आएका छौँ, अब्राहामले परमेश्वरमा विश्वास गरेका कारण यो उनका निम्ति धार्मिकता गनिएको थियो।
[10] अब्राहामको विश्वास कुन आधारमा धार्मिकता ठहरियो? उनले खतना गरेपछि कि खतना हुनुभन्दा अगि? उनको खतनापछि धर्मी ठहरिएको होइन, तर पहिले नै हो!
[11] उनको खतना नहुँदै विश्वासद्वारा पाइने धार्मिकताको छाप खतनाको चिन्हको रूपमा पाएका थिए। त्यसैले उनी खतनाविना नै विश्वासद्वारा धर्मी ठहरिएका सबैका आत्मिकी पिता हुन्।
[12] अनि उनी ती खतना भएकाहरूका पनि पिता हुन्, जसको खतना मात्र भएको होइन, तर जो त्यही विश्वासका पाइलामा हिँड्दछन्, जुन विश्वास खतना हुनुभन्दा अगि नै हाम्रा पिता अब्राहाममा थियो।
[13] अब्राहाम र उनका सन्तानहरूले संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा पाएका थिएनन्, तर विश्वासबाट आउने धार्मिकताद्वारा प्राप्त गरेका थिए।
[14] यदि व्यवस्थामा भर पर्नेहरू मात्र उत्तराधिकार हुन्छन् भने त विश्वास अनावश्यक र प्रतिज्ञा व्यर्थ हुन्छ।
[15] किनकि व्यवस्था भङ्ग गर्नाले परमेश्वरको क्रोध ल्याउँछ। अनि जहाँ व्यवस्था छैन, त्यहाँ अपराध पनि हुँदैन।
[16] यसकारण प्रतिज्ञा विश्वासबाट आउँदछ; ताकि अनुग्रहद्वारा अब्राहामका सबै सन्तानका निम्ति प्रतिज्ञा निश्चित होस्। व्यवस्था मान्नेहरूलाई मात्र होइन, तर अब्राहामजस्तै विश्वास गर्नेहरूलाई पनि हो। किनकि उनी हामी सबैका पिता हुन्।
[17] यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्वरका सामु हाम्रा पिता हुन्। तिनले उनै परमेश्वरमाथि विश्वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका वस्तुहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ।
[18] आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्वास गरे; अनि उनलाई भनिएको जस्तै, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए।
[19] प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्।
[20] परमेश्वरको प्रतिज्ञामा अविश्वास गरी विचलित भएनन्, तर परमेश्वरलाई महिमा दिँदै तिनी आफ्ना विश्वासमा झन् बलिया भए।
[21] परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्ण रूपले निश्चित थिए।
[22] अब्राहामको यस्तै विश्वासले गर्दा, “यो उनका निम्ति धार्मिकता गनियो।”
[23] “यो उनका निम्ति धार्मिकता गनियो” भन्ने वचन उनका निम्ति मात्र लेखिएको होइन,
[24] तर हाम्रा निम्ति पनि हो, जसले उहाँमाथि विश्वास गर्छौँ, जसलाई हाम्रा प्रभु येशूलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्वरले धर्मी ठहराउनुहुन्छ।
[25] उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई मृत्युबाट जीवित पारिनुभयो।