[1] त्यसो हो भने म सोध्छु: के परमेश्वरले आफ्ना जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! म आफैँ पनि एक इस्राएली हुँ—अब्राहामको वंश, बेन्यामीन कुल।
[2] परमेश्वरले आफ्ना मानिसलाई त्याग्नुभएको छैन, जसलाई उहाँले सुरुबाट नै जान्नुहुन्थ्यो। एलियाको बारेमा धर्मशास्त्रमा के लेखिएको छ भन्ने कुरा तिमीहरू जान्दैनौ? कसरी एलियाले इस्राएलको विरुद्धमा परमेश्वरसँग बिन्ती गरेका थिए:
[3] “प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; म मात्र एकलो बाँचेको छु, र मलाई पनि तिनीहरूले मार्न खोज्दैछन्।”
[4] अनि उनलाई परमेश्वरको जवाफ के थियो? “मैले आफ्ना निम्ति बाल-देवतालाई दण्डवत् नगर्ने सात हजार मानिसहरूलाई जोगाएर राखेको छु।”
[5] यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका केही जनहरू बाँकी छन्।
[6] यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन। यदि काममा आधारित हुन्थ्यो भने त, यो अनुग्रह, अनुग्रह नै हुनेथिएन।
[7] तब के त? इस्राएलीहरूले उत्सुकतासाथ खोजेको धार्मिकता प्राप्त गर्न सकेनन्। उनीहरूमध्ये चुनिएकाहरूले भने प्राप्त गर्न सके, तर अरू सबै कठोर पारिए।
[8] यसरी लेखिएको छ: “परमेश्वरले तिनीहरूलाई मन्द आत्मा दिनुभयो, आँखाहरू, जसले देख्न सकेनन् अनि कानहरू, जसले सुन्न सकेनन्, आजसम्मै तिनीहरू यस्तै छन्।”
[9] अनि दावीदले भन्दछन्: “तिनीहरूका भोजन पासो र फन्दा बनोस्। अनि तिनीहरूका लागि ठक्कर र बदलाको कारण बनोस्।
[10] तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्। तिनीहरूका ढाड सदा कुप्रिरहून्!”
[11] म फेरि प्रश्न गर्छु: के उनीहरूले उठ्न नसक्ने गरी ठक्कर खाएका हुन् त? कदापि होइन! तर इस्राएलमा पनि मुक्तिका लागि डाह पलाओस् भनेर तिनीहरूका अपराधका कारण गैरयहूदीहरूमा मुक्ति आएको छ।
[12] तर यदि तिनीहरूका अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूका पतन गैरयहूदीहरूको निम्ति सम्पत्ति ठहरिन्छ भने तिनीहरूका पुनर्स्थापनाले झन् कति धेरै वैभव ल्याउला!
[13] म तिमी गैरयहूदीहरूसँग बोल्दैछु। म गैरयहूदीहरूका निम्ति प्रेरित हुँ। म यस सेवामा गर्व गर्छु;
[14] यस आशामा कि, जसरी भए तापनि म मेरा आफ्ना मानिसहरूमा डाह उत्पन्न गराउन सकूँ, र तीमध्ये केहीलाई बचाउन सकूँ।
[15] किनकि यदि तिनीहरूको अस्वीकृतिचाहिँ संसारको निम्ति परमेश्वरसँग मिलापको कारण बन्छ भने के तिनीहरूको स्वीकृति मृत्युबाट पुनर्जीवित हुनुबाहेक अरू के हुन सक्ला र?
[16] यदि मुछेको पिठोको केही भाग प्रथम भेटीको रूपमा चढाउँदा पवित्र हुन्छ भने पिठोको जम्मै भाग पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्।
[17] यदि केही हाँगाहरू काटिएका छन् र तिमी, जो जङ्गली जैतुन हौ, ती रूखमा कलमी गरिएका छौ; अनि जैतुनको रूखको जराबाट प्राप्त पोषिलो रसमा अहिले भागीदार बनेका छौ भने,
[18] आफैँलाई ती हाँगाहरू भन्दा श्रेष्ठ नठान। यदि यसो गर्छौ भने यो बुझ, कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थामेको हुन्छ।
[19] त्यसपछि तिमीले भन्नेछौ, “हाँगाहरू काटिएका कारणले नै म कलमी हुन पाएँ।”
[20] ठिकै हो, तर ती हाँगाहरू उनीहरूको अविश्वासको कारणले काटिएका हुन्। अनि तिमी विश्वासद्वारा अडिएका छौ। घमण्ड नगर, तर भय मान।
[21] किनकि यदि परमेश्वरले स्वभाविक हाँगाहरूलाई त छोड्नुभएन भने उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन।
[22] यसकारण परमेश्वरको दया र कठोरतामा ध्यान देऊ: पतन भएकाहरूलाई कठोरता, तर यदि तिमीहरू उहाँको दयामा स्थिर बस्यौ भने तिमीहरूलाई दया; नत्रता तिमीहरू पनि काटिनेछौ।
[23] अनि यदि उनीहरू पनि आफ्नो अविश्वासमा निरन्तर रहिरहेनन् भने उनीहरू कलमी हुनेछन्; किनकि परमेश्वरले उनीहरूलाई फेरि कलमी गर्न सक्नुहुन्छ।
[24] यदि तिमी जैतुनको रूखबाट काटियौ, जुन स्वभाविक रूपमा जङ्गली हो अनि प्रकृतिविरुद्ध हुँदा-हुँदै पनि रोपिएको जैतुनको रूखमा कलमीद्वारा गाँसियौ भने झन् यी स्वभाविक जैतुनका हाँगाहरू आफ्नै जैतुनका रूखमा कति सहजै गाँसिएलान्!
[25] दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू यो रहस्यमय सत्य कुरामा अनजान रहो भन्ने म चाहन्नँ, ताकि आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् नहोओ: इस्राएलका केही मानिसहरूको हृदय कठोर छ, तर यो गैरयहूदीहरूको पूरा संख्या ख्रीष्टमा नआउन्जेलसम्म मात्र हुनेछ।
[26] यसरी सबै इस्राएलको उद्धार हुनेछ, जसरी लेखिएको छ: “उद्धारकर्ता सियोनबाट आउनुहुनेछ; उहाँले याकोबबाट अभक्ति दूर गर्नुहुनेछ,
[27] अनि उनीहरूसँग यो मेरो करार हुनेछ, जब म उनीहरूका पाप मेटाइदिनेछु।”
[28] सुसमाचारको दृष्टिमा तिनीहरू तिम्रा लागि परमेश्वरका दुश्मन हुन्; तर परमेश्वरको चुनावको दृष्टिबाट तिनीहरू आफ्ना पुर्खाको कारण अति प्रिय छन्।
[29] किनकि परमेश्वरको वरदान र बोलावट अटल छ।
[30] जसरी तिमीहरू एकपल्ट परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताको कारणले गर्दा तिमीहरूले कृपा पाएका छौ,
[31] यसरी नै उनीहरू पनि अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूले पाएका परमेश्वरको कृपाको कारण उनीहरूले पनि कृपा पाउन सकून्।
[32] किनकि परमेश्वरले हरेकलाई अनाज्ञाकारितामा बन्दी बनाउनुभएको छ, ताकि उहाँद्वारा तिनीहरू सबैलाई कृपा मिलोस्।
[33] आहा! परमेश्वरको बुद्धि र ज्ञानको कति अपार धनसम्पत्ति! उहाँका न्यायहरू कति अथाह, र उहाँका पथहरू कति अगम छन्!
[34] “प्रभुको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र?”
[35] “परमेश्वरलाई कसले केही दिएको छ, र परमेश्वरले तिनीहरूलाई फिर्ता गर्नुपरोस्?”
[36] किनकि सबै कुरा उहाँमार्फत्, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई सदासर्वदा महिमा भइरहोस्! आमेन।