Skip to content
Opens in a new window
Listen to this chapter • 3:57

[1] अब हामी के भनौँ त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त?

[2] यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौँ; फेरि कसरी पापमा जिइरहने त?

[3] के तिमीहरूलाई थाहा छैन कि हामी जति जनाले ख्रीष्‍ट येशूमा बप्‍तिस्मा लियौँ, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्‍तिस्मा लिएका थियौँ?

[4] तसर्थ बप्‍तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौँ। जसरी ख्रीष्‍ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔँ।

[5] यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौँ भने निश्‍चित रूपमा उहाँसँगै उहाँको पुनरुत्थानको समानतामा पनि उहाँसँगै एक हुनेछौँ।

[6] किनकि हामी जान्दछौँ, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्‍नु नपरोस्।

[7] किनकि जो मरेको छ, ऊ पापबाट मुक्त भएको छ।

[8] अहिले यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने हामी विश्‍वास गर्छौँ कि, उहाँसँगै जिउने पनि छौँ।

[9] किनकि हामी जान्दछौँ, ख्रीष्‍ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्‍न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन।

[10] जुन मृत्युमा उहाँ मर्नुभयो; त्यो मृत्यु सबैका पापका लागि एकै पटकका लागि मर्नुभयो; तर जुन जीवन उहाँ अब जिउनुहुन्छ, त्यो जीवन परमेश्‍वरका निम्ति जिउनुहुन्छ।

[11] यसरी नै तिमीहरूले पनि आफूलाई पापका निम्ति मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरका निम्ति जीवित भएका ठान्‍नुपर्छ।

[12] यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ।

[13] आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्‍टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर। तर मृत्युबाट जीवन पाएकाहरूझैँ, आफूलाई परमेश्‍वरका निम्ति अर्पण गर, र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर।

[14] अब उसो पाप तिम्रो मालिक हुनेछैन; किनकि तिमी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौ।

[15] अब के त? हामी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौँ भनेर पाप गरौँ त? आवश्य पनि होइन!

[16] के तिमीहरूलाई थाहा छैन, जब तिमीहरू कसैको आज्ञाकारी सेवकहरूका रूपमा आफूलाई समर्पण गरेपछि, तिमीहरू जसको आज्ञा मान्दछौ, उसको सेवकहरू हुन्छौ? कि त तिमीहरू पापको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई मृत्युमा पुर्‍याउँछ, कि त आज्ञाकारिताको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई धार्मिकता प्रदान गर्छ।

[17] तर परमेश्‍वरलाई धन्यवाद होस्, यद्यपि तिमीहरू पापको सेवकहरू थियौ, अब जुन शिक्षामा तिमीहरू समर्पित छौ, त्यो हृदयले पालन गर्ने भएका छौ।

[18] तिमीहरू पापको दासत्वबाट स्वतन्त्र भएका छौ र धार्मिकताका सेवकहरू तुल्याइएका छौ।

[19] म तिमीहरूलाई तिमीहरूका मानवीय कमजोरीका कारण मानवीय दृष्‍टिकोणबाट यो भन्दैछु। जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र सधैँ बढिरहने दुष्‍टताको निम्ति सेवक हुनलाई समर्पण गरेका थियौ, त्यसरी नै अहिले आफ्ना अङ्गहरूलाई पवित्रताको लागि धार्मिकताका सेवक हुनलाई समर्पण गरिदेओ।

[20] जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट स्वतन्त्र थियौ।

[21] जुन कुराको निम्ति अहिले तिमीहरू लज्जित छौ, ती कुराहरूबाट तिमीहरूलाई के फाइदा भएको थियो र? ती कुराहरूको परिणाम त मृत्यु हो।

[22] तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्‍वरका सेवकहरू भएका छौ। परमेश्‍वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्‍याउँछ र यसको परिणाम अनन्त जीवन हो।

[23] किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।

रोमी — Chapters