[1] यसकारण हामी विश्वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्टद्वारा हामीले परमेश्वरसँग शान्ति पाएका छौँ।
[2] अनि ख्रीष्टद्वारा हामीले प्राप्त गरेको विश्वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्वरको महिमाको आशामा हामी रमाउँछौँ।
[3] यति मात्र होइन, तर हाम्रो दुःख-कष्टमा पनि हामी रमाउँछौँ, किनकि हामी जान्दछौ, दुःख-कष्टले सहनशीलता,
[4] सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ।
[5] अनि आशाले हामीलाई निराश तुल्याउँदैन; किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ।
[6] हामीहरू असहाय हुँदाखेरि नै ठिक समयमा ख्रीष्ट अधर्मीहरूका निम्ति मर्नुभयो।
[7] धर्मी मानिसका निम्ति मर्न तयार हुने कोही पाइएला, असल मानिसका निम्ति सायद कसैले मर्ने आँट पनि गर्ला,
[8] तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
[9] ख्रीष्टको रगतद्वारा हामी धर्मी ठहराइएका हुनाले, परमेश्वरको क्रोधबाट उहाँद्वारा निश्चय नै बचाइनेछौँ!
[10] किनकि हामी परमेश्वरका शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ भने अब परमेश्वरसँग हाम्रो मिलाप भइसकेपछि उहाँको जीवनमार्फत् अझ बढी बचाइनेछौँ।
[11] यति मात्र होइन, तर परमेश्वरमा हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी आनन्दित हुन्छौँ, जसद्वारा हाम्रो मिलाप भएको छ।
[12] यसकारण जसरी एक जना मानिस आदमद्वारा संसारमा पाप प्रवेश गर्यो, र पापद्वारा मृत्यु आयो। यसरी नै सबै मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्।
[13] किनकि व्यवस्था दिइनुअगि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन।
[14] तर आदमदेखि मोशासम्म नै मृत्युले शासन गर्यो। तिनीहरूमाथि पनि आइलाग्यो जसले आदमले जस्तो आज्ञा तोडेर पाप गरेका थिएनन्। आदम, जो पछि आउनुहुनेका एक प्रतिरूप हुन्।
[15] तर परमेश्वरको वरदान अपराध जस्तो होइन; किनकि यदि एउटै मानिस आदमको अपराधको कारणले धेरै जना मरे भने त्योभन्दा कति धेरै परमेश्वरको अनुग्रह तथा एक जना मानिसको, अर्थात् येशू ख्रीष्टको अनुग्रहको वरदान धेरैका लागि प्रशस्त भयो!
[16] परमेश्वरको वरदानलाई एक जना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर अनुग्रहको वरदानले अनेकौँ अपराधहरूबाट निर्दोषीकरण गरायो।
[17] किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्यो भने एउटै मानिस येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ!
[18] यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो।
[19] जसरी एक जना मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसरी नै एक जनाको आज्ञाकारिताले धेरै जना धर्मी ठहराइनेछन्।
[20] व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् धेरै बढ्यो,
[21] ताकि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनन्त जीवन ल्याउनलाई अनुग्रहले धार्मिकतामाथि राज्य गरोस्।