[1] सबै मानिसहरू एउटै मनको झैँ भएर पानी मूलढोकाको सामुको चोकमा भेला भए। तिनीहरूले व्यवस्थाका शिक्षक एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउन लगाए, जुन व्यवस्था याहवेहले इस्राएलीहरूका निम्ति आज्ञा गर्नुभएको थियो।
[2] यसैले पुजारी एज्राले सातौँ महिनाको पहिलो दिनमा पुरुषहरू र स्त्रीहरू र बुझ्न सक्ने सबै केटाकेटीहरू भेला भएका ठाउँमा सारा समुदायको सामु त्यो व्यवस्थाको पुस्तक ल्याए।
[3] तिनले पानी मूलढोकाको सामु पुरुषहरू र स्त्रीहरू, र बुझ्न सक्ने केटाकेटीहरूको उपस्थितिमा बिहान घाम उदाएको समयदेखि दिउँसोसम्म चर्को आवाजमा व्यवस्थाको पुस्तक पढेर सुनाए। सबै मानिसहरूले व्यवस्थाको पुस्तकमा ध्यान दिए।
[4] शिक्षक एज्रा काठले बनिएको अग्लो मञ्चमाथि उभिए। तिनको छेउमा दाहिनेपट्टि मत्तीत्याह, शेमा, अनायाह, उरियाह, हिल्किय्याह र मासेयाह; अनि देब्रेतिर पदायाह, मिशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम थिए।
[5] एज्राले व्यवस्थाको पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सक्थे; किनकि तिनी मानिसहरूभन्दा अग्लो मञ्चमा उभिएका थिए। तिनले त्यो व्यवस्थाको पुस्तकलाई खोल्दा सबै मानिसहरू उभिए।
[6] एज्राले याहवेह महान् परमेश्वरलाई प्रशंसा गरे; अनि सबै मानिसहरूले आफ्ना हातहरू उचालेर यसो भन्दै प्रतिक्रिया दिए, “आमेन! आमेन!” त्यसपछि तिनीहरू भुइँसम्म घोप्टो परेर याहवेहलाई दण्डवत् गरे।
[7] येशूआ, बानी, शेरेबियाह, यामीन, अक्कूब, शब्बतै, होदिय्याह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान र पलायाहः यी लेवीहरूले त्यहाँ मानिसहरू उभिरहेकै बेला मानिसहरूलाई व्यवस्थाको अर्थ बुझाइदिए।
[8] तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे; अनि पढेको कुरा स्पष्ट हुने गरी अर्थ लगाइदिए, ताकि जे पढिएको थियो, सो मानिसहरूले बुझ्न सकून्।
[9] तब राज्यपाल नहेम्याह, पुजारी र व्यवस्थाका शिक्षक एज्रा र लेवीहरू, जसले तिनीहरू सबैलाई निर्देशन दिँदै यसो भने, “यो दिन याहवेह तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर र नरोऊ।” किनकि व्यवस्थाका वचन सुनेर सबै मानिसहरू रोइरहेका थिए।
[10] नहेम्याहले भने, “गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।”
[11] लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्त गराए, “शान्त हुनुहोस्, किनकि यो एउटा पवित्र दिन हो, शोक नगर्नुहोस्।”
[12] तब सबै मानिसहरू खान, पिउन र आफूसँग भएको भोजनको केही भाग नभएकाहरूलाई पठाइदिन, र अति हर्षको साथ उत्सव मनाउन गइहाले। किनकि तिनीहरूलाई बुझाइएका कुरा अब तिनीहरूले बुझेका थिए।
[13] महिनाको दोस्रो दिन सबै परिवारका अगुवाहरू, पुजारीहरू र लेवीहरूको साथमा व्यवस्थाका वचनहरू ध्यानसित बुझ्न शिक्षक एज्राकहाँ गए।
[14] याहवेहले मोशाद्वारा आज्ञा दिनुभएको व्यवस्थामा तिनीहरूले यस्तो लेखिएको भेट्टाए, सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्नुपर्छ।
[15] तिनीहरूले आफ्ना सहरहरूमा र यरूशलेममा यो वचन घोषणा गरेर फैलाउनुपर्छ भन्ने कुरा पनि लेखिएको भेट्टाए: “पहाडी इलाकाहरूमा गएर जैतुन, जङ्गली जैतुनका रूखहरू, मेहदी, खजूर र छाया दिने रूखहरूबाट छाप्रो बनाउन हाँगाहरू ल्याओ”।
[16] यसकारण मानिसहरू निस्केर बाहिर गए, र ती हाँगाहरू लिएर आए। अनि तिनीहरूले आ-आफ्नो निम्ति घरको छानामाथि, तिनीहरूका आँगनहरूमा र परमेश्वरको भवनका चोकहरूमा पानी मूलढोकाको छेउको चोकमा र एफ्राइमको मूलढोकाको छेउमा अस्थायी छाप्राहरू बनाए।
[17] कैदबाट फर्किआउने सारा समुदायले अस्थायी छाप्राहरू बनाए, र त्यसमा बसे। नूनका छोरा यहोशूको समयदेखि उसो इस्राएलीहरूले यसरी यो उत्सव मनाएका थिएनन्। त्यसैले तिनीहरू धेरै खुशी थिए।
[18] प्रत्येक दिन चाडको पहिलो दिनदेखि अन्तिम दिनसम्म एज्राले परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे। तिनीहरूले सात दिनसम्म चाड मनाए, र आठौँ दिनमा विधिअनुसार पवित्र सभा राखे।