Skip to content
Opens in a new window
Listen to this chapter • 5:33

[1] जब सन्बलत, तोबियाह, अरबी गेशेम र हाम्रा अरू शत्रुहरूकहाँ मैले पर्खालको पुनर्निर्माण गरिसकेको र त्यसमा एउटै दरार पनि नभएको खबर पुग्यो—यद्यपि त्यस बेलासम्म मैले मूलढोकाहरूमा ढोकाहरू लगाएको थिइनँ।

[2] सन्बलत र गेशेमले मलाई यो खबर पठाए: “आऊ, हामी ओनोको बेँसीमा एउटा गाउँमा एकसाथ भेला होऔँ।” तर तिनीहरूले मलाई हानि गर्ने षड्यन्त्र गर्दैथिए।

[3] यसैकारण मैले तिनीहरूकहाँ यो समाचार पठाएँ: “म एउटा महान् काम सञ्चालन गरिरहेको छु, र म त्यहाँ आउन सक्दिनँ। मैले काम छोडेर तपाईंहरूकहाँ त्यहाँ आएर यो काम किन रोकिने?”

[4] तिनीहरूले मकहाँ चार पटकसम्म त्यही समाचार पठाए, र हरेक पटक मैले तिनीहरूलाई त्यही जवाफ दिएँ।

[5] त्यसपछि पाँचौँ पटकमा सन्बलतले आफ्ना एक विशेष दूत मकहाँ त्यही समाचारको साथमा पठाए। अनि त्यसको हातमा एउटा बन्द नगरिएको पत्र थियो,

[6] जुन पत्रमा यसरी लेखिएको थियो: “जातिहरूको बीचमा यस्तो खबर फैलिएको छ, र गेशेमले यो सत्य हो भनी भन्दैछन्; तपाईं र यहूदीहरूले राजद्रोहको षड्यन्त्र रच्दै हुनुहुन्छ। यसैकारण तपाईंहरूले पर्खाल पुनर्निर्माण गरिरहनुभएको छ। यसबाहेक यस खबरअनुसार तपाईंचाहिँ राजा हुन लाग्नुभएको छ रे।

[7] अनि तपाईंको विषयमा: ‘यहूदामा एउटा राजा छन्!’ भनी यरूशलेममा घोषणा गर्नलाई अगमवक्ताहरू नियुक्त गर्नुभएको छ रे। यसबाहेक अब यो खबर राजालाई पठाइनेछ; यसकारण आउनुहोस्, हामी मिलेर कुराकानी गरौँ।”

[8] मैले उसलाई यो जवाफ पठाइदिएँ: “तपाईंले भनेझैँ केही पनि भएको छैन; तपाईंले यो कुरा आफ्नै मनमा मात्र उब्जाउनुभएको छ।”

[9] तिनीहरू सबैले हामीलाई भयभीत पार्ने कोसिस गर्दैथिए, “तिनीहरूका काम गर्ने हातहरू अति दुर्बल होऊन्, र त्यो काम कहिल्यै नससकिओस्” भन्‍ने सोच गरेका थिए। तर मैले प्रार्थना गरेँ, “हाम्रा हातहरू बलिया पारिदिनुहोस्।”

[10] एक दिन म महेतबेलका नाति, दलायाहका छोरा शमायाहकहाँ गएँ, जो आफ्नो घरभित्रै बस्थे। तिनले भने, “हामी परमेश्‍वरको भवनमा भेटौँ, मन्दिरभित्र भेटेर मन्दिरको ढोका बन्द गरौँ; किनकि तपाईंलाई मार्न मानिसहरू राति आउँदैछन्।”

[11] तर मैले भनेँ, “के मजस्तो मानिस भाग्छ र? अथवा के मजस्तो मानिस आफ्नो प्राण जोगाउन मन्दिरभित्र जान्छ र? अहँ, म भित्र जानेछैनँ!”

[12] तिनलाई परमेश्‍वरले पठाउनुभएको होइन, तर तोबियाह र सन्बलतले तिनलाई भाडामा लिएका कारण तिनले मेरो विरुद्धमा अगमवाणी गरेको हो भन्‍ने कुरा मैले थाहा गरेँ।

[13] तिनलाई घूसको रकम दिएर मलाई डर देखाउन खटाइएको थियो, ताकि मैले त्यसो गरेर पाप गरूँ; अनि मेरो नाम खराब गराएर तिनीहरूले मेरो बदनाम गर्न सकून्।

[14] हे मेरा परमेश्‍वर, तोबियाह र सन्बलतले जे गरेका छन्, सो सम्झना राख्नुहोस्; मलाई डर देखाउने चेष्‍टा गरिरहने अगमवादिनी नोअदिया साथै अरू सबै अगमवक्ताहरूलाई पनि सम्झना राख्नुहोस्।

[15] यसरी एलुल महिनाको पच्‍चीसौँ दिनमा, जम्मा बाउन्‍न दिनमा पर्खालको निर्माण सिद्धियो।

[16] जब सारा शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराए र हतोत्साहित भए। किनकि यो काम हाम्रा परमेश्‍वरको सहायताले गरिएको थियो भन्‍ने कुरा तिनीहरूले थाहा गरे।

[17] अनि ती दिनहरूमा यहूदाका अगुवाहरूले तोबियाकहाँ धेरै पत्रहरू पठाइरहेका थिए। अनि तोबियाहबाट तिनीहरूकहाँ जवाफ पनि आउँदैथिए।

[18] तोबिया अराहका छोरा शकन्याहका जुवाइँ भएका कारण र तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्‍लामकी छोरीलाई विवाह गरेका कारण यहूदाका धेरै जना तिनीसँग सम्बन्धको करारमा बाँधिएका थिए।

[19] यसबाहेक तिनीहरूले मलाई तिनका असल कामहरूबारे सुनाउँथे। अनि मैले भनेका सबै कुरा उनलाई बताइरहन्थेँ। अनि तोबियाहले मलाई डर देखाउनलाई पत्रहरू पठाउँथे।

नहेम्याह — Chapters