Skip to content
Opens in a new window
Listen to this chapter • 7:19

[1] करार-पत्रमा सहीछाप लगाउनेहरूको नाम यस प्रकार थियो: हकल्याहका छोरा राज्यपाल नहेम्याह। सिदकियाह,

[2] सरायाह, अजर्याह, यर्मिया,

[3] पशहूर, अमर्याह, मल्कियाह,

[4] हत्तूश, शबन्याह, मल्‍लूक,

[5] हारीम, मरेमोत, ओबदियाह,

[6] दानिएल, गिन्‍नतोन, बारूक,

[7] मशुल्‍लाम, अबीयाह, मिय्यामीन,

[8] माज्याह, बिल्गै र शमायाह। यी सबै पुजारी थिए।

[9] लेवीहरूमा: अजन्याहका छोरा येशूआ, हेनादादका परिवारका बिन्‍नूई, कदमिएल,

[10] तिनीहरूका सहकर्मीहरू: शबन्याह, होदिय्याह, कलीता, पलायाह, हानान,

[11] मीका, रहोब, हशब्याह,

[12] जक्‍कूर, शेरेबियाह, शबन्याह,

[13] होदिय्याह, बानी र बनीनू।

[14] मानिसका अगुवाहरू यिनै थिए: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी,

[15] बुन्‍नी, अज्गाद, बेबै,

[16] अदोनियाह, बिग्वै, आदीन,

[17] आतेर, हिजकिया, अज्जूर,

[18] होदिय्याह, हाशूम, बेजै,

[19] हारीप, अनातोत, नेबै,

[20] मग्पीआश, मशुल्‍लाम, हेजीर,

[21] मशेजबेल, सादोक, यद्‍दूआ,

[22] पलत्याह, हानान, अनायाह,

[23] होशे, हनन्याह, हश्शूब,

[24] हल्‍लोहेश, पिल्हा, शोबेक,

[25] रेहूम, हशब्ना, मासेयाह,

[26] अहीयाह, हानान, आनान,

[27] मल्‍लूक, हारीम र बानाह।

[28] “बाँकी रहेका मानिसहरू—पुजारीहरू, लेवीहरू, द्वारपालहरू, सङ्गीतकारहरू, मन्दिरका कर्मचारीहरू परमेश्‍वरको व्यवस्थाका निम्ति तिनीहरूका पत्नीहरू र बुझ्न सक्ने सबै छोराछोरीहरूसँग छिमेकी र अरू जातिहरूबाट आफूलाई अलग राखे।

[29] अब परमेश्‍वरका सेवक मोशाद्वारा दिइएको परमेश्‍वरको व्यवस्था पालन गर्न र याहवेह हाम्रा परमेश्‍वरका सबै आज्ञाहरू, नियमहरू र आदेशहरू होसियारीसाथ पालन गर्नलाई आफ्ना अगुवा इस्राएली दाजुभाइहरूसित मिले। अनि तिनीहरूले आफूलाई श्राप-दण्डको भागीदार र व्यवस्था पालन गर्नलाई शपथ खाए।

[30] “हामी आफ्ना छोरीहरूलाई हाम्रा चारैतिर भएका विदेशी मानिसहरूसँग विवाह गर्न दिनेछैनौँ, र तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका निम्ति लिनेछैनौँ भनी हामी प्रतिज्ञा गर्छौँ।

[31] “जब छिमेकी मानिसहरूले व्यापारका मालसामानहरू अथवा अन्‍न शब्बाथमा बेच्न ल्याउँछन्, तब हामी तिनीहरूबाट शब्बाथ अथवा अरू कुनै पवित्र दिनमा किनमेल गर्नेछैनौँ। प्रत्येक सातौँ वर्षमा हामी जमिन खनजोत गर्नेछैनौँ र सबै ऋणहरू माफी गरिदिनेछौँ।

[32] “प्रत्येक वर्ष हाम्रा परमेश्‍वरको भवनको कामको लागि एक तिहाइ शेकेल चाँदी दिनुपर्ने आज्ञालाई मान्‍नुपर्ने उत्तरदायित्व पालन गर्नेछौँ:

[33] टेबुलमा राखिने रोटीको निम्ति; नियमित अन्‍नबलि र होमबलिको निम्ति; शब्बाथ दिनहरूमा भेटीको निम्ति, औँसीका चाडहरूमा र तोकिएका चाडहरूका निम्ति; पवित्र भेटीहरूको निम्ति; इस्राएलको निम्ति प्रायश्‍चित गर्न पापबलिको निम्ति; अनि हाम्रा परमेश्‍वरको भवनका सबै सेवाहरूका निम्ति उत्तरदायित्व पालन गर्नेछौँ।

[34] “हामी पुजारीहरू, लेवीहरू र मानिसहरूले व्यवस्थामा लेखिएअनुसार, तोकिएका समयहरूमा प्रतिवर्ष हाम्रो प्रत्येक परिवारले याहवेह हाम्रा परमेश्‍वरको वेदीमा जलाउने काठ कहिले ल्याउनुपर्ने भनी जान्‍नलाई चिट्ठा हालेका छौँ।

[35] “हामी प्रतिवर्ष याहवेहको भवनमा आफ्ना पहिलो फलबाट अन्‍न र फलेका प्रत्येक रूखबाट पहिलो फल ल्याउने जिम्मेवारी पनि लिन्छौँ।

[36] “व्यवस्थामा लेखिएअनुसार, हाम्रा छोराहरूबाट, हाम्रा गाईबस्तुहरूबाट, हाम्रा बथानबाट र हाम्रा बगालबाट पहिले जन्मिएका जेठाहरूलाई पनि हामी परमेश्‍वरको भवनमा सेवा गरिरहेका पुजारीहरूकहाँ ल्याउनेछौँ।”

[37] यसबाहेक हामी हाम्रा परमेश्‍वरको भवनको भण्डारमा पुजारीहरूकहाँ आफ्नो जमिनको पहिलो अन्‍न तयार गरी मुछेको पिठो, हाम्रा अन्‍नबलि, हाम्रा सबै रूखका पहिलो फलहरू र हाम्रा नयाँ दाखमद्य र नयाँ जैतुन तेलको पहिलो भाग ल्याउनेछौँ। अनि हामीले काम गर्ने सबै सहरहरूमा लेवीहरूले नै दशांश बटुल्ने हुनाले हामी आफ्नो जमिनको दशांश लेवीहरूकहाँ ल्याउनेछौँ।

[38] लेवीहरूले दशांश लिँदा तिनीहरूसित हारूनवंशी एक जना पुजारी हुनुपर्छ, र लेवीहरूले दशांशको दशौँ भाग हाम्रा परमेश्‍वरको भवनको भण्डारमा ल्याउनुपर्नेछ।

[39] इस्राएलका मानिसहरू, लेवीहरूले समेत तिनीहरूका अन्‍न, नयाँ दाखमद्य र जैतुन तेलको भाग भण्डारहरूमा ल्याउनुपर्छ, जहाँ पवित्रस्थानका सामानहरू राखिन्छन् र जहाँ सेवा गर्ने पुजारीहरू, द्वारपालहरू र सङ्गीतकारहरू बस्छन्। “हामी हाम्रा परमेश्‍वरको भवनलाई अवहेलना गर्नेछैनौँ।”

नहेम्याह — Chapters