[1] तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्ट आइरहेको छ।
[2] तिमीहरूको धन सडेको छ, र तिमीहरूका वस्त्रहरू कीराले खाएका छन्।
[3] तिमीहरूका सुन र चाँदीमा कस लागेको छ। ती कसहरूले तिमीहरूको विरुद्धमा साक्षी दिनेछन्, र तिमीहरूका मासु आगोले झैं खानेछन्। तिमीहरू यी आखिरी दिनहरूमा पनि धन साँच्दैछौ।
[4] हेर, तिमीहरूका खेतमा कटनी गर्ने खेतालाहरूको ज्याला, जुन तिमीहरूले दिएनौ; ती तिमीहरूको विरुद्धमा कराइरहेका छन्। ती कटनी गर्ने खेतालाहरूका विलाप सर्वशक्तिमान प्रभुको कानमा पुगेको छ।
[5] तिमीहरू यस संसारमा सुखविलास र मोजमज्जामा मस्त भएर बसेका छौ। तिमीहरूले बलि दिने दिनका लागि आफैलाई पुष्टाइराखेका छौ।
[6] तिमीहरूको विरोध नगर्ने निर्दोष मानिसहरूलाई तिमीहरूले दोषी ठहराएर हत्या गरेका छौ।
[7] त्यसो भए दाजुभाइ-दिदीबहिनीहरूहो, प्रभुको पुनःआगमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, अनि ऊ अघिल्लो र पछिल्लो वर्षाको लागि कसरी धैर्य गरी बस्दछ।
[8] तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ।
[9] हे दाजुभाइ-दिदीबहिनीहरूहो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्र ता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ!
[10] हे दाजुभाइ-दिदीबहिनीहरूहो, कष्टहरूका माझमा धैर्यको उदाहरणको लागि, प्रभुको नाउँमा बोल्ने ती अगमवक्ताहरूलाई सम्झ।
[11] तिमीहरूलाई थाहै छ, कि कष्ट सहनेहरूलाई हामी धन्यका ठान्छौं। तिमीहरूले अय्यूबको सहनशीलताको विषयमा सुनेका छौ, अनि प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ। प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ।
[12] हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाउँमा, अथवा पृथ्वीको नाउँमा अथवा कुनै कुराको नाउँमा शपथ नखाओ। तिमीहरूको “हो” चाहिँ हो अनि “होइन” चाहिँ होइन रहोस्, नत्र ता तिमीहरू दोषी ठहरिनेछौ।
[13] के तिमीहरूमध्ये कोही सङ्कष्टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्।
[14] के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका प्रधानहरूलाई त्यसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरिदिन बोलाउनुपर्छ।
[15] अनि विश्वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले त्यसलाई उठाउनुहुनेछ। यदि त्यसले पाप गरेकै छ भने, त्यसले क्षमा पाउनेछ।
[16] यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनालाई एक-अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
[17] एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर व्यग्रसहित प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन।
[18] तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, अनि पृथ्वीले आफ्ना अन्नहरू उब्जायो।
[19] हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने,
[20] यो याद होस्: जसले एकजना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, त्यसले त्यसलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ।