Skip to content
Opens in a new window
Listen to this chapter • 4:52

[1] परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकोबबाट, संसारैभरि छरिएका बाह्रै कुललाई: अभिवादन!

[2] मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूले धेरै किसिमका आपत-विपतहरूको सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ,

[3] किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ।

[4] तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ।

[5] यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्कीकन दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।

[6] तर जब कसैले माग्छ, त्यसले विश्‍वास गर्नुपर्छ, अनि शङ्का गर्नुहुन्‍न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो।

[7] अनि त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्।

[8] दोहोरो मन भएको मानिस आफूले गर्ने सबै कामहरूमा अस्थिर हुन्छ।

[9] दीन अवस्थाको विश्‍वासीहरूले परमेश्‍वरले दिनुभएको आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्,

[10] तर धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरोस्; किनकि तिनीहरू त घाँसको फूलझैं ओइलाएर जानेछन्।

[11] किनकि चर्को रापसित सूर्य उदाउँछ र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, अनि त्यसको सौन्दर्य नष्‍ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ।

[12] त्यो मानिस धन्यको हो, जो आपत-विपतहरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्‍का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुनचाहिँ परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूको लागि प्रतिज्ञा गर्नुभएको छ।

[13] परीक्षामा पर्दा कसैले पनि “परमेश्‍वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्‍ट कुराहरूबाट परमेश्‍वर परीक्षित हुन सक्नुहुन्‍न, न ता उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ।

[14] तर हरेक व्यक्‍ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ।

[15] त्यसपछि त्यो खराब इच्छा गर्भवती भएर पापलाई जन्माउँछ; र पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ।

[16] त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरूहो, धोखामा नपर!

[17] हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदल्नुहुन्‍न।

[18] सृष्‍टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौं भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्‍नुभयो।

[19] मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरूहो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्‍नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होओस्;

[20] किनकि मानिसको रिसले परमेश्‍वरले चाहनुभएको धार्मिकताको काम गर्दैन।

[21] यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्‍टतालाई त्याग अनि तिमीहरूमा रोपिएको वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ।

[22] वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर।

[23] जसले वचन सुन्छ, तर यसले के भन्छ, सो गर्दैन, त्यो एउटा यस्तो मानिस हो, जसले आफ्नो अनुहार ऐनामा हेर्छ;

[24] अनि आफूलाई हेरिसकेपछि ऊ गइहाल्छ; तब ऊ कस्तो देखिन्छ, सो झट्टै बिर्सिहाल्छ।

[25] तर जसले स्वतन्त्रता दिने सिद्ध व्यवस्थालाई ध्यानसित हेर्छ, र आफूले सुनेको कुरालाई नबिर्सी गरिरहन्छ; तब त्यसले गरेको काममा त्यसले आशिष पाउँछ।

[26] यदि कसैले आफैलाई धर्मी सम्झन्छ र पनि आफ्नो जिब्रोमा लगाम लाउँदैन भने ता, उसले आफूलाई धोका दिन्छ र त्यसको धर्मचाहिँ व्यर्थको हुन्छ।

[27] हाम्रा पिता परमेश्‍वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो, अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्‍टमा हेरचाह गर्नु अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु।

याकोब — Chapters